स्याउखेतीमा भविष्य खोज्दै किसान

ढोरपाटन ।
दशकअघिसम्म बागलुङको ढोरपाटन उपत्यका र निसेलढोरमा मात्रै व्यावसायिक रुपमा स्याउ खेती गरिन्थ्यो । परम्परागत रुपमा रैथाने स्याउ उत्पादन गर्दै आएका किसानले अहिले आधुनिक प्रविधिबाट नयाँ नयाँ प्रजातिका स्याउ लगाउन थालेका छन् ।
अहिले ढोरपाटन क्षेत्रमा मात्रै होइन, तल्लो क्षेत्रमा पनि स्याउ खेतीप्रति कृषकको आकर्षण बढेको छ । निसेल ढोरको कुँडे, काँग, ढोरपाटनको मस, नवी, भूजी लगायतका ठाउँमा स्याउ उत्पादन गरिँदै आएकामा अहिले निसीखोला, ताराखोला र बडिगाडको माथिल्लो क्षेत्रमा स्याउ खेती गर्न थालिएको छ । पछिल्लो ५ वर्षयता जिल्लाको तल्लो भेगमा स्याउ लगाउने कृषकको संख्या पनि बढ्दै गएको छ ।
करिब २२ सय मिटरको उचाईदेखि स्याउ उत्पादन हुने हुँदा कृषकको आकर्षण बढेको पाइन्छ । जिल्लामा सबैभन्दा राम्रो स्याउ उत्पादन हुने क्षेत्रका रुपमा निसेलढोर र ढोरपाटन उपत्यका क्षेत्रलाई लिन्छ । यी क्षेत्रमा २ दशकभन्दा अगाडिदेखि व्यावसायिक स्याउ उत्पादन हुँदै आएको पाइन्छ । पछिल्लो समय ताराखोला गाउँपालिका र निसीखोला गाउँपालिकाको उच्च क्षेत्रमा स्याउ खेती विस्तार गरिएको छ ।
ताराखोला गाउँपालिका ५ ठूलो हिलेमा १ सय ८० वटा स्याउको बिरुवा लगाइएको छ । बिरुवा लगाएको २ वर्षमै फल्ने हुँदा कृषक यस खेतीतर्फ आकर्षित भएका हुन् । गाउँपालिकाको ५ नम्बर वडामा उन्नत प्रजातिको गोल्डेन, गाला, रोटा र फुजी प्रजातिको स्याउ लगाइएको गाउँपालिकाका सायक पशु चिकित्सक प्रमुख चिन्तामणि शर्माले जानकारी दिए ।
यस वर्ष पनि गाउँपालिकाले ८ सय स्याउका बिरुवा खरिद गरी किसानलाई वितरण गरेको बताए । अघिल्लो वर्ष ताराखोला गाउँपालिकाले कृषि विकास निर्देशनालय गण्डकी प्रदेशबाट उन्नत जातका स्याउका बिरुवा लिएर कृषकलाई दिएको भन्दै ती बिरुवा सप्रिदै गएको उनको भनाइ छ ।
उन्नत जातका स्याउका बिरुवालाई सरसफाई गर्न, बगैंचामा विषादी व्यावस्थापन र कलमी गर्न सजिलो हुने भएकाले किसानले खेती गर्न चासो देखाएको शर्मा सुनाउँछन् । अघिल्ला वर्षमा १४ रोपनी क्षेत्रमा स्याउ खेती भएको भन्दै यस वर्षदेखि १ रोपनीमै ४ देखि ५हजार बिरुवा लगाउन मिल्ने खालको स्याउका बिरुवा विस्तार गर्ने योजना रहेको उनले बताए ।
निसीखोला गाउँपालिका ५ मा पनि गाउँपालिकाले स्याउ खेती विस्तार गरेको छ । सीप, भल्कोट लगायका क्षेत्रमा स्थानीयले वर्षौं अगाडि स्याउ लगाए पनि उत्पादन गर्न सकेका थिएनन् । प्राविधिक ज्ञान बिना लगाइएका स्याउका बोटले फल नदिएपछि चिन्तित बनेका यहाँका कृषक गाउँपालिकाले माटो परीक्षण गरी नयाँ जातको स्याउका बिरुवा दिएपछि उत्साहित भएका छन् । भौगोलिक वनावट, हावापानी र स्थानीयवासीको माग अनुसार निसीखोलाको माथिल्लो क्षेत्रमा स्याउ खेती विस्तार गर्न थालेको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले बताए ।
यस वर्ष वडा नम्बर ५ र ६ मा ४ सय ५० स्याउका बिरुवा लगाएको अध्यक्ष घर्ती मगर जानकारी दएि । गाउँपालिकाले गत आर्थिक वर्षमा विनियोजन गरेको ७ लाख रुपैयाँबाट स्याउ खेती विस्तार गर्न थालेको हो । निसेलढोरबाहेक जाउलेपानी, मापुक, चोरबास र कोस्काँ क्षेत्रमा स्याउ लगाइएको छ ।
‘बागलुङ जिल्लामा स्याउ फल्ने ठाउँका रुपमा निसेलढोर र उत्तरगंगा ढोरपाटनलाई चिनिदै आएको छ, हामीले अहिले तल्लो क्षेत्रमा पनि स्याउ उत्पादन गर्ने गरि किसानलाई बिरुवा दिएका छौँ, यहाँका किसानले स्याउ लगाएको स्थान उच्च पहाडी क्षेत्र पर्छ,’ उनले भने ।
निसीखोला गाउँपालिकामा दर्ता भएका कृषि फर्म तथा समूहलाई स्याउका बिरुवा प्रदान गरिउको छ । वडा नं ५ र ६ का ४५ समूहलाई चार सय ५० स्याउका बिरुवा दिएको हो । पाल्पामा उत्पादन गरिँदै आएको स्याउको बिरुवा खरिद गरी यहाँका कृषकलाई वितरण गरेको हो । निसीखोलामा २ हजारदेखि ४ हजार उचाईसम्म स्याउका बिरुवा लगाइनेछ । निसेलढोर ४ हजार मिटरभन्दा बढीको उचाइमा छ भने, सिप, चोरबास, कोस्काँ लगायतका क्षेत्र भने २८ सय आसपासको उचाइमा पर्छन् ।
निसीखोला गाउँपालिका २ अर्नाकोटमा पनि अघिल्लो वर्षदेखि व्यावसायिक स्याउ खेती सुरु भएको छ । स्थानीय दुर्गाबहादुर ओलीले अघिल्लो वर्ष पोखराबाट इटिलियन गाला फुजी जातको २२ वटा स्याउका बिरुवा लिएर लगाएको बिरुवाले अहिले फल दिएको छ । परीक्षणका रुपमा लगाएको स्याउले एकै वर्षमा फल दिन थालेपछि उनी उत्साहित छन् ।
ओलीपछि अर्नाकोटका अन्य १२ कृषकले पनि बिरुवा लिएर लगाएका छन् । वर्षौँदेखि गाईभैँसी र खेती किसानी गर्दै आएका किसान अहिले स्याउ खेती गर्नेतर्फ ध्यान दिएका हुन् । २ हजारदेखि ३ हजार मिटरसम्मको उचाइमा गाला फुजी जातको स्याउ राम्रो उत्पादन जानकारी पाएपछि ओलीले परीक्षणका लागि स्याउ लगाएको सुनाए ।
कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी कुमार पुनमगरले जिल्लामा स्याउ खेती विस्तारका लागि ज्ञान केन्द्रबाट कृषकलाई प्रोत्साहन गरेको र उन्नत जातका स्याउका बिरुवासमेत वितरण गर्दै आएको उल्लेख गरे । स्याउ खेतीप्रति किसानले चासो देखाएपछि ज्ञान केन्द्रले यस वर्ष २५ सय बढी बिरुवा वितरण गरेको छ ।
हाल बागलुङमा ८० हेक्टर क्षेत्रफलमा स्याउ खेती हुन्छ । यसमध्ये ५५ हेक्टरमा लगाइएका स्याउका बोटले उत्पादन दिएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा स्याउ खेतीका लागि हावापानी उपयुक्त भएकाले हरेक वर्ष जिल्लामा खेती गर्ने किसानको सङ्ख्या पनि बढ्दो छ । यस वर्ष अघिल्लो वर्षको तुलनामा स्याउ उत्पादन बढ्ने किसानले आशा गरेका छन् ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया