सम्पादकीयः तार भूमिगतमा विलम्ब किन ?

समाधान संवाददाता २०८० भदौ १५ गते १२:०१

गण्डकी प्रदेशको राजधानी पोखराको मुख्य शहरी क्षेत्रमा विद्युतलाई भूमिगत (विजुलीको लाइनलाई अण्डरग्राउण्ड) गर्ने कार्य धिमा गतिमा अगाडी बढेको छ । ठेक्का अवधि सकिन लाग्दा पनि सो कार्यले गति लिन सकेको छैन । गत वैशाखदेखि तार बिछ्याउन सुरु गरिए पनि आयोजनाको प्रगति भने निराशाजन छ । २ वर्षमा सक्ने गरी भारतीय कम्पनी टाटा प्रोजेक्ट्ससँग विसं २०७८ माघमा ठेक्का सम्झौता भई गत वैशाख तेस्रो सातादेखि काम सुरु भएकामा हालसम्मको भौतिक प्रगति ५ प्रतिशतभन्दा काम छ ।

Advertisement


पोखरा १० कुँडहरको विद्युत प्राधिकरणको सब–स्टेसन क्षेत्रको तार भूमिगत गर्न थालिएकोमा अहिले पोखरा ६ लेकसाइड क्षेत्रमा तार बिछ्याउने काम भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत पोखरा १० कुँडहरदेखि जिरो किमिसम्मको मुख्य राजमार्ग, सिर्जनाचोक, राष्ट्रबैँकचोक, लेकसाइड, सभागृहचोक, न्यूरोड, चिप्लेढुंगा लगायतका क्षेत्रमा तार भूमिगत गरिँदै छ । विद्युत् लाइनसँगै टेलिफोन, केबल र इन्टरनेटका तारका लागि अप्टिकल फाइबर पनि बिच्छ्याउने योजना छ । बढी चट्टानी जमिनका अलवा इन्जिनीयरिङ डिजाइन, उपकरण खरिद लगायतमा समय लागेकाले आयोजनाको काम सुरुदेखि नै धकेलिँदै आएको छ ।

सडकको दायाँ बायाँ रहेका पोलहरुमा जथाभावी रुपमा विद्युत, केवुल, इन्टरनेट, टेलिफोन लगायतका तारहरु झुण्डिएको कारण शहरी क्षेत्र कुरुप बन्दै गएको छ । यस्तो अवस्थामा विद्युत् लाइन जमिनमुनि बिछ््याउदा अव्यवस्थित तार, पोलबाट पोखराले मुक्ति पाउनेछ । तार भूमिगत गर्दा सहरी सौन्दर्य बढ्नुका साथै विद्युतीय दुर्घटनासमेत न्यूनीकरण हुने अपेक्षा गरिएको छ । तार बिछ््याउँदा ठूलो बजेट लाग्ने भए पनि ग्राहकको बढ्दो माग र बिजुलीको चाप थेग्न भूमिगत प्रणाली उपयुक्त भएकोल भूमिगत तार बढी क्षमतायुक्त र भरपर्दो हुन्छ । विद्युत्सँगै केबल र दूरसञ्चार सेवा प्रदायक संस्थाका तार पनि एकैसाथ भूमिगत गर्दा शहरको सुन्दरता थप्ने छ ।


पोलहरुमा झुण्डिएका तारहरुलाई एकत्रित गरी व्यवस्थापन गर्ने प्रयास सार्थक हुन नसकेको अवस्थामा अहिले भएको ओभरहेड प्रणालीका सबै तार हटेपछि सहरी सौन्दर्यकरणले मुर्त रुप लिने छ । नेपाल विद्युत प्राधिकरणले सहरी सौन्दर्य बढाउन ‘उज्यालो र सहर सफाइ अभियान’ चलाएको छ । काठमाडौं उपत्यका पछि भरतपुर र पोखराको भूमिगत प्रणालीलाई अन्य सहरमा विस्तार गर्दै जाने योजनामा प्राधिकरण छ ।

तारैतारले जेलिएको पोखराको सौन्दर्य फर्काउन पनि आयोजना सहयोगी बन्ने ठानिएको छ । यस्तो अवस्थामा सहरी विद्युत वितरण प्रणाली सुदृढीकरण र सहरी सौन्दर्यकरण कार्यक्रमलाई सरकारी तथा सबै सरोकार निकायको सहयोग आवश्यक पर्छ र सहयोग पनि छ । सबै क्षेत्रको भरपूर सहयोग भएको अवस्थामा प्राविधिक तथा भौगोलिक रुपमा भएको समस्यालाई हल गर्दै नेपाल विद्युत प्रधिकरण र निर्माण कम्पनीले निर्माणका बाँकी कार्यलाई तदारुकता साथ अगाडी बढाउनु पर्छ ।

Advertisement

तपाईको प्रतिक्रिया