क्वाँटीमा पनि विदेशकै भर: साउनमा मात्रै १ अर्ब ३५ कराेडकाे आयात
काठमाडौं ।
जनै पूर्णिमाका दिन नेपालीले निक्कै स्वाद मानेर पोषिलो खाना खाने चलन छ । ९ प्रकारका गेडागुडी समिश्रण गरी क्वाँटी पकाइन्छ । क्वाँटीमा समिश्रण गरिने गेडागुडी पनि विभिन्न मुलुकबाट आयात गरी नेपालीले चाडपर्वको परम्परा धान्दै आएका छन् ।
सबै प्रकारका गेडागुडी भारतसहित तेस्रो मुलुकबाट नेपालमा आयात हुने गरेको तथ्यांकले देखाउँछ । क्वाँटीमा मास, भटमास, मुंगी, ठूलो केराउ, मस्याङ, चना, सिमी, टाटे सिमी र बोडी समिश्रण हुन्छ । कुनै पनि गेडागुडीमा नेपाल आत्मनिर्भर नभएकाले खपतको अधिकांश हिस्सा आयात नै गर्नुपर्छ ।
जनै पूर्णिमाको दिन क्वाँटीको रुपमा खाने चलन भए पनि पछिल्लो समयमा नेपालीको भान्छामा यो समिश्रण गरिएको खाद्य पदार्थ नियमित रुपमै पाक्न थालेको छ । यसले गर्दा आयात दर पनि चुलिएको छ । चालु आर्थिक वर्षको पहिलो साउन महिनामा मात्रै १ अर्ब ३४ करोड ९९ लाख ५ हजार रुपैयाँ बराबरको १४ हजार ३ सय ३६ टन विभिन्न प्रकारका गेडागुडी नेपालमा आयात भएका छन् ।
आयातीत यो परिमाणमा स्वदेशी उत्पादनको अंश मुस्किलले १ प्रतिशत पनि पुग्दैन । साउनमा भएको यो आयात दरले जनै पूर्णिमामा गेडागुडी समिश्रण गरी क्वाँटीको खपत कति हुन्छ भन्ने तथ्यलाई यसले उजागर गर्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता शवनम शिवाकोटीले पनि जनै पूर्णिमाको दिन क्वाँटीको रुपमा खाइने विभिन्न गेडागुडीको उत्पादनमा नेपाल परनिर्भर रहेको जानकारी दिइन् ।
‘हामी कहाँ गेडागुडीको उत्पादन नहुने भन्ने होइन, तर जुन रुपमा खाने चलन सुरु भएको छ । त्यसको अनुपातमा हामी कहाँ उत्पादन हुन्न । निक्कै थोरै उत्पादन हुन्छ । त्यो उत्पादन प्रमुख बजारसम्म आउन नपाउँदै स्थानीय तहमै खपत भइ सक्छ,’ शिवाकोटीले भनिन्, ‘जनै पूर्णिमासहित वर्षभर खपत हुने यस्ता गेडागुडी प्रायः बाहिरबाटै आउने हो ।’
भन्सार विभागका अनुसार अघिल्लो २०७९÷८० मा १४ अर्ब ८ करोड ३८ लाख ६५ हजारका विभिन्न प्रकारको गेडागुडी नेपालमा आयात भएको थियो । यस्ता गेडागुडीमध्ये अधिकांश हिस्सा भने क्यानाडा, अस्ट्रेलिया र म्यानमारबाट आयात हुन्छ । विभागका सूचना अधिकारी पुण्यबिक्रम खड्काका अनुसार ३ मुलुकबाहेक भारत, रुस, युक्रेन, अमेरिका, खाडी मुलुक, अर्जेन्टिना, चीन र टर्कीलगायतका मुलुकबाट पनि थोरथोरै परिमाणमा यस्ता गेडागुडी आयात हुन्छ ।
मूल्यको हिसाबले हेर्ने हो भने पछिल्लो ५ वर्षको तथ्यांक अनुसार सबैभन्दा बढी आर्थिक बर्ष २०७७/७८ मा २१ अर्ब ६३ करोड ४९ लाख रुपैयाँबराबरको २ लाख ८६ हजार २ सय टन विभिन्न प्रकारको गेडागुडी आयात भएको देखिन्छ । परिमाणको हिसाबले सबैभन्दा बढी आर्थिक वर्ष २०७६/७७ मा १८ अर्ब १९ करोड ५० लाख ९९ हजार रुपैयाँबराबरको ३ लाख ३९ हजार ९ सय ११ टन आयात भएको थियो ।
खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले जनै पूर्णिमाको दिन अधिकांश नेपालीको घरमा गेडागुडी मिसाएर क्वाँटी पकाउने चलन भएकाले यसको व्यापार उच्च हुने गरेको जानकारी दिए । मुख्यगरी ९ प्रकारको गेडागुडी मिसाएर क्वाँटी खाने चलन भए पनि पछिल्लो समयमा उपभोक्ताले आफैं छनौट गरी थप प्रकारका गेडागुडी पनि मिसाएर खाने चलन बढ्दै गएको छ ।
के हो क्वाँटी ?
क्वाँटी शब्द नेपाल भाषाको ‘क्वाती’बाट आएको हो । नेपाल भाषामा ‘क्वा’ को अर्थ तातो र ‘ती’ को अर्थ झोल वा सुप भन्ने हुन्छ । क्वाँटी बनाउनुअघि गेडागुडीलाई टुसा उम्रिने गरी भिजाउनु पर्छ । टुसा उम्रिएको क्वाँटीमा पर्याप्त मात्रामा फाइबर पाइन्छ ।
अचाक्ली परिमाणमा क्वाँटी सेवन गर्न नहुने खाद्य विज्ञको सुझाव छ । सन्तुलित परिमाणमा मात्रै सेवन गर्दा यसले फाइदा गर्छ । असन्तुलित परिमाणमा आए यसले खति पनि गर्ने खाद्य वैज्ञानिक डा. दिलीप सुब्बाले जानकारी दिए । गेडागुडीमा प्रोटिन निक्कै बढी परिमाणमा पाइने हुनाले ठिक्क मात्रामा मात्रै खानुपर्छ ।
‘एक दिनमै धेरै पटक खानु हुँदैन,’ सुब्बाले भने, ‘आवश्यकताभन्दा बढी खाइयो भने शरीरमा प्रोटिनको मात्रा बढेर स्टोन र युरिक एसिड बढ्ने समस्या निम्तिन सक्छ । यस्तै यस्ता गेडागुडी पानीमा फुलाएर काँचो रुपमा पनि खानुहुन्न । यसमध्ये कतिपय गेडागुडीले नकारात्मक असर गर्ने भएकाले सकेसम्म काँचो नखाँदा अति उत्तम हुन्छ ।’
गेडागुडीमा पाइने फाइबरले पाचन प्रणाली, मुटुरोग, मधुमेह, क्यान्सर र तौल घटाउन मद्दत पुर्याउँछ । क्वाँटीमा पाइने फाइबरले कब्जियत, पायल्स आदि समस्याबाट जोगाउन सहयोग गर्छ । क्वाँटीमा भिटामिन बी, सी, ई, क्याल्सियम, फोस्फोरसलगायतका खनिज पदार्थहरु प्रचुर मात्रामा पाइन्छ ।
तपाईको प्रतिक्रिया