जनावरलाई छोराछोरी जस्तै माया

समाधान संवाददाता २०८० भदौ १७ गते ९:१२

पोखरा ।
यसपालिको साउन मसान्तमा तीन दिन झरी पर्‍यो । ३२ गते बिहान बाह्र बजेतिर ‘लियो बाबु’ स्याहार्दै थिइन् कल्पना । बाहिर पानीले आँखा उघारेकै थिएन । भित्र केजमा लियो घरी दौडिँदै कुनामा पुग्थ्यो, घरी एकै सासमा छेउमा आईपुग्थ्यो । ज्ञानी बच्चाले आमाको औंला चुसेझैं उनका औंला चुस्थ्यो । कल्पनाका श्रीमान् प्रकाश नेपाली लियोको खाना लिएर आइपुगे । लियो मासु च्यातेर कुनातिर दौडियो ।

Advertisement


‘लियो बाबु’ ८ महिने चितुवा हो । नवलपरासीबाट साउन १६ गते पचभैयाँ प्राणी उद्यान केन्द्रमा ल्याइएको लियोलाई कल्पना बच्चालाई जस्तै माया गर्छिन् । प्रकाशलाई समेत केही नगरे पनि लियो बढी कल्पनासँगै रमाउँछ । ‘घाम लागेको दिन दिउँसो यसलाई बाहिर डुलाउने गरेकी छु । अहिले झरीले डुल्न नपाएर रिसाएको छ,’ कल्पना भन्छिन्, ‘मलाई सानैबाट जनावर मन पथ्र्याे, अहिले जनावर नै स्याहार्ने काम पाएकी छु । निकै खुसी छु ।’


प्रकाश र कल्पनाले ०७२ माघ १२ गतेबाट यहाँ काम गर्न थालेका हुन् । बिहान ९ बजेबाट सुरु हुने उनीहरुको काम साँझसम्म चल्छ । लियोले दिनमा २ पटक गरी आधा किलो मासु खान्छ । केन्द्रमा अर्काे वयस्क चितुवा पनि छ । त्यससँग पनि कल्पनाको सामिप्यता छ । ‘एक्लै हुँदा कान्छी भनेर बोलाउँदा आउँछ । अरु मान्छे हुँदा छेवै पर्दैन,’ उनी भन्छिन् ।

Advertisement

पचभैयाँ प्राणी उद्यानका पशुपंक्षीलाई कल्पना र प्रकाश सन्तान जस्तै माया गर्छन् । केही जनावरमात्र राखिएको केन्द्रले चिडियाखानाको स्वरुप पाउन भने बाँकी नै छ ।


लियोलाई बिहान १२ बजे र साँझ छ बजे खाना दिइन्छ भने अर्काे वयस्क चितुवाले दिउँसो एक पटकमात्र खाना पाउँछ । यी जनावरको हेरचाहका लागि अहिले ३ जना कर्मचारी छन्, बेला बेलामा आउने गरी १ पशु चिकित्सकसँग समेत सम्झौता भएको छ । प्रवेशद्वारमा टिकट काट्ने अर्का एक कर्मचारी छन् ।

Advertisement


कल्पना र प्रकाशलाई धेरै जसो जनावरको डर लाग्दैन । सिङ भएको मृग र चित्तलदेखि भने उनीहरु डराउँछन् । २ साताअघि चित्तलले हानेर घाइते बनाएपछि कल्पना केही दिन थला परिन् । त्यसयता उनी हम्मेसी चित्तलको छेवै पर्दिनन् ।
केन्द्रमा कसैले कतै घाइते, बिरामी जनावार भेट्टा ल्याइदिन्छन् । कल्पना र प्रकाश ती जनावरको सेवामा जुट्छन् ।

वृहत चिडियाखानाको अवधारणा भए पनि त्यसले मूर्त रुप पाएको छैन । अहिले यहाँ २ बाघ, १० मृग, १ नील गाई, १ चित्तल, १ स्याल, २ वन बिराला, ४ निर बिराला, १ बाँदर, केही वन र घर खरायो, कछुवा, चरी बाघ लगायतका जनावर छन् । सँगसँगै हुचिल ४, उल्लु ४, अजिंगर १, मयूर २ र विभिन्न प्रजातिका गिद्धसमेत छन् ।


३ सामुदायिक वनको १ सय ३५ हेक्टरमा फैलिएको यो प्राणी उद्यान केन्द्र अहिले प्रदेश सरकारको डिभिजन वन कार्यालय कास्की मातहत छ । वन कार्यालय र ३ सामुदायिक वन उपभोक्ता समितिले मिलेर यहाँ काम गरेका छन् । गण्डकीका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापा यसलाई प्रदेश गौरवको योजनामा राखेर काम भइरहेको बताउँछन् । यो आर्थिक वर्षमा यसका लागि ६६ लाख बजेट विनियोजन भएको छ ।


‘यसपालि समग्र बजेट घटेकाले सोचेजस्तो गर्न सकेनौँ । हामीले सदनमा दर्ता गरेको वन ऐनमा प्राणी उद्यान विकास तथा व्यवस्थापनको विषय समेटेका छौं,’ उनले भने । डिभिजन वनले गत वर्ष केन्द्रको गुरुयोजना बनाएको थियो । गुरुयोजनामा ४६ करोड खर्चेर पुतलीदेखि विभिन्न पशु पंक्षीका बेग्लै ब्लक बनाउने उल्लेख छ ।


केन्द्र व्यवस्थापन समिति अध्यक्ष दिननाथ ढकाल पोखरा आउने धेरैजसो पर्यटन पुग्ने गन्तव्य बनाउने गरी लागेको जनाउँछन् । ‘स्थानीय र वनले स्वामित्व लिएपछि व्यवस्थित र योजनावद्ध रुपमा काम भएका छन् । सम्भावनायुक्त ठाउँ छ, सरकारले चाहे स्रोत अभावले रोकिँदैन,’ उनी भन्छन् ।


केन्द्र व्यवस्थापन समिति सचिव शारदा पौडेल अहिले महिनामा प्रवेश शुल्कबाट सात/आठ हजार आम्दानी हुने सुनाउँछिन् । प्रवेशका लागि विद्यार्थीलाई १५ र अन्यलाई २५ रुपैयाँ लिने गरिएको छ । केन्द्रसम्म पुग्ने बाटो स्तरोन्नति गर्नुपर्ने देखिएको छ भने चिडियाखानाबारे समेत प्रचारप्रचार कमै भएको छ ।

तपाईको प्रतिक्रिया