गोलीले नढलेका मान्छे पैसाले ढलेः विप्लव

समाधान संवाददाता २०८० भदौ १७ गते ९:४६

पोखरा ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालका राजनीतिक पार्टीहरु आर्थिक दृष्टिकोण बनाउन चुकेको टिप्पणी गरेका छन् । उनले स्वतन्त्रता र समानता चाहियो भन्ने भाष्यमा रस नहुनुमा आर्थिक मुद्दा नजोडिनु नै मुख्य कारण भएको उनको ठम्याइ छ ।

Advertisement


पोखरा उद्योग वाणिज्य संघले शुक्रबार आयोजना गरेको अन्तरक्रियामा उनले पार्टीका नेताहरु घुम्दै गएर भ्रष्टाचारा किन मुछिए र गोलीको ताँतीमा हिँडेको मान्छे तस्करीमा लाग्ने अवस्था किन भयो भन्ने प्रश्नको उत्तर खोजिनुपर्नेमा जोड दिए । उत्पादनसँग नजोडिनु र बिटाका बिटा पैसा दिन खोज्ने व्यवसायीका कारण यो स्थिति आएको उनको भनाइ छ ।


‘यहाँ व्यवसायीमा पनि खुवाउने र सिध्याउने भन्ने छ, मन्त्रीलाई भेटेर बिटाका बिटा दिने गरेकै हो, हिजो म माओवादीमा हुँदा पनि तपाईं (व्यापारी)हरुले दिएकै हो त,’ उनले भने, ‘तपाईंहरुको व्यक्तिलाई दिन चाहनुहुन्छ, हामीले त्यो बेला अलिकता संस्थागत (चन्दा) गरौं भन्ने चाहेको हो ।’ उनले व्यक्तिलाई दिएको चन्दा पारदर्शी नहुने र पार्टीसम्म नआइपुग्ने संकेत पनि गरे ।


कृषि र औद्योगिक अर्थतन्त्रलाई सँगै लैजाने पार्टीको नीति भएको बताउँदै उनले आउँदो ३ वर्षपछि नेकपाले खानकै लागि कसैसँग चन्दा नमाग्ने उद्घोषसमेत गरे । उनले अहिलेदेखि नै नेकपा कार्यकर्तालाई उत्पादनसँग जोडिएको पनि सुनाए । जग्गा भाडामा लिएर सामूहिक खेती गरिएको र आउँदा दिनमा यस्तो क्रियाकलापलाई बढावा दिने उनको भनाइ छ ।


‘तीन वर्षमा पार्टीलाई चन्दा माग्न बन्द गर्छौं, यो राजनीतिको दुरुपयोग हो । भातको लागि चन्दा हुँदैन । घर–व्यवहार चलाउन चन्दा उठाउने प्रवृत्ति रोक्न चाहन्छौं,’ उनले भने । अर्को प्रसंगमा उनले मन्त्री खानको लागि समाजवादी मोर्चामा उभिएको भन्ने भनाइको खण्डन गरे ।

Advertisement


उनले भने, ‘हामी जत्तिकालाई मन्त्री पद इजी थियो, मन्त्री हुन चाहेको भए जहिले पनि छ । हिजो केपी ओलीसँग तीन बुँदे सहमति गर्दा पनि थियो, बाबुराम (भट्टराई) प्रधानमन्त्री हुँदा झन थियो, त्यो (बाबुरामलाई प्रधानमन्त्री) हामीले नै बनाएको हो । धोवीघाट थियो नि । हामीसँग १०६ जना केन्द्रीय सदस्य हुनुहुन्थ्यो । त्यहाँ हाम्रो भागमा ५/६ मन्त्री पथ्र्यो ।’


नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले नेकपाको आर्थिक नीति कस्तो हो भन्ने प्रष्ट पार्न आग्रह गरे । नेकपाका गतिविधिसँग निजी क्षेत्र तथा नेपालका मध्यमवर्गीय परिवारको कौतुहलता, संशय र गुनासा रहेको सुनाए ।


‘२०५२/०६३ को परिवर्तनपछि १३–१४ वर्ष वामपन्थी पार्टीले सरकारको नेतृत्व गरेका छन् तर वामपन्थीहरुको शासन कालमा पनि जनताले तात्विक भिन्नता र परिवर्तन महसुस गर्न पाएनन्,’ मुल्मीले प्रश्न गरे, ‘के वामपन्थीहरु एउटा कुरा बोल्ने र काम अर्को गर्ने शक्ति हुन् र ? किन संक्रमणकाल टुंग्याउनेतर्फ उनीहरु उदासिन छन् ?’


पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले सशस्त्र विद्रोहको विरासत र परिवर्तनका एजेन्डा बोकेर हिंडेको तथा शान्तिपूर्ण राजनीतिमा आएको नेकपासँग जनताले आशा पनि राखेको र सँगै सशंकित पनि रहेको उल्लेख गरे । ‘विप्लवको पार्टी भनेपछि मान्छे डराउँछन् । तपाईंको पार्टीका मान्छेको फोन वा भेट्न खोज्दा पर भाग्नुपर्ने अवस्था छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया