पोखरा आईपुग्यो आतोओडा

समाधान संवाददाता २०८० भदौ १७ गते ११:३८

पोखरा ।
उपन्यासकार जानुका खतिवडाको उपन्यास आतोओडाको शनिबार पोखरामा चर्चा गरिएको छ । डा. ईश्वरमणि अधिकारीले सीमान्तकृत सन्थाल समुदायका भुइँमान्छेको कथा बोकेको उपन्यास सरल भाषामा सहज एवं मीठो भाषाशैलीसहित बुनिएको बताए ।

Advertisement


उनले सीमान्तकृत वर्गको आन्दोलनको पृष्ठभूमि उल्लेख गर्दै ‘जग्गा कसको जोत्नेको, घर कसको पोत्नेको’ भन्ने आन्दोलनबारे जानकारी नलिई यो उपन्यास पढ्दा त्यसले बुझाइ अपूर्ण हुने सुनाए । सन्थाल जातिको सामाजिक, आर्थिक, सांस्कृतिक, मनोवैज्ञानिक पक्षको समग्र जीवनसंघर्षको गाथा नै आतोओडा भएको उनको ठम्याइ छ ।


सन्थाल समुदायबाहेक उपन्यासका अन्य पात्रलाई सन्थाललाई दुःख दिने गरीमात्रै प्रस्तुत गरिएको बताउँदै उनले मुख्य पात्र फूलमुनि सुरुमा हठी देखिए पनि परिस्थितिसँग सम्झौता गरेको देखाइएकोमा असन्तुष्टि जनाए । आत्मिक, अलौकिक, बाध्यात्मक, घरजम लगायतका प्रेमका विविध रूपको चित्रण उपन्यासमा छ । अधिकांश पात्र निरीह बनाइएकोमा उनले असन्तुष्टि जनाए ।

Advertisement


अर्की परिचर्चाकार हसिना बस्नेतले झोडा फाँडेर बसेका सन्थालका पुर्खाले औलो र जंगली जनावरको आक्रमण सहेर सभ्यता निर्माण गरेको तर राज्यले तिनको अस्तित्वसमेत स्वीकार गर्न नसकेको यथार्थ उपन्यासले बोकेको सुनाइन् । सामाजिक यथार्थवादी धाराको उपन्यासमा फूलमुनि र बुधिनका माध्यमबाट सन्थाल समुदायको जीवनशैली प्रस्तुत गरेको उनको भनाइ छ । राज्यका कर्मचारीले सन्थाल समुदायलाई हेपेको देखाएर तमाम सीमान्तकृत वर्गलाई राज्यले हेर्ने दृष्टिकोण गलत रहेको कुरा उल्लेख गरिएको उनले सुनाइन् ।


समालोचक डा. अशोक थापाले नागरिकता किनबेच हुने देशमा माटोसँग सदियौँदेखि सम्बन्ध भएको सन्थाल जातिलाई नागरिकताबाट बञ्चित बनाइने देशको कथा उपन्यासमार्फत उठाएर उपन्यासकारले ऐतिहासिक महत्त्वको उपन्यास नेपाली साहित्यलाई दिएको जनाए । राजनीतिक आन्दोलनमा सन्थाल जाति चाहिने तर सन्थाललाई नागरिकता चाहिँदैन भन्ने सोच राज्यसँग रहनु बिडम्बना भएको उनको भनाइ छ ।

Advertisement


अग्रज साहित्यकार सरुभक्तले नेपाली समाज आन्दोलन गर्न जान्ने तर थिचिएकालाई उठाउन नजान्ने देखिएको उल्लेख गरे । सत्ता र व्यवस्था बदल्न खप्पिस तर अवस्था बदल्नतिर ध्यान नदिने राजनीति बाटोबिनाको पुलजस्तो भएको उनको भनाइ छ । । अहिले सबै अहंकारको मिसाइल बोकेर एक अर्कालाई प्रहार गरिरहेको र त्यसको सिकार सीमान्तकृत एवं पिछडिएको समुदाय बनेको उनले उल्लेख गरे ।


२००७ देखि अहिलेसम्म एकैखाले असन्तुष्टि र विद्रोह लेख्नु परेकोमा लेखकहरू समस्यामा परेकाले समाजको लुकेको पक्ष उजागर गर्नेतर्फ कलम चलाउन उनको सुझाव् छ । यथार्थ छोडेर स्वैरकल्पना मात्रै लेख्न नसकिने उल्लेख गर्दै उनले जीवनको यथार्थ लेखनको केन्द्र रहनुपर्नेमा जोड दिए । विश्वव्यापी रूपमा स्थानीयतालाई महत्त्व दिई नलेखिएका विषयमा लेख्न थालिएको र आतोओडा पनि त्यसको एक सशक्त उदाहरण बनेको उनको ठम्याइ छ ।


उपन्यासकार जानुका खतिवडाले आफूले शोधपत्रका लागि अध्ययन गर्न जाँदा सन्थालको जीवनबाट प्रभावित भएर उनीहरूको जीवनलाई औपन्यासिक स्वरूप प्रदान गरेको बताइन् । आफूले देखेको र आफ्नो निकटको समुदायले भोगेको जीवनको कथा उपन्यासमा उतारेको उनको भनाइ छ ।


पुछारसिटे अभियानले आयोजना गरेको कार्यक्रममा संस्थाका संयोजक सञ्जीव पौडेल, अभियन्ता श्रीराम अधिकारी ‘गोर्जे’ र सुरज उपाध्यायले बोलेका थिए ।

तपाईको प्रतिक्रिया