मजदूरमैत्री यातायात नीति माग

पोखरा ।
नेपाल यातायात स्वतन्त्र मजदूर संगठनले शनिबार ‘फेरिएको यातायात श्रम क्षेत्र, सुधारका लागि हाम्रो कार्यभार’ विषयक राष्ट्रिय कार्यशाला गरेको छ । केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्य, प्रदेश कमिटीका पदाधिकारी सहभागी तथा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) प्रदेशका अध्यक्षहरु, संगठनका पूर्व अध्यक्षहरु समेत पर्यवेक्षकको रुपमा भाग लिएको कार्यशालामा ६६ अगुवा नेताको सहभागिता रहेको संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले जानकारी दिए ।
कार्यशालामा जिफन्टका उपाध्यक्ष विदुर कार्की र उपमहासचिव नरनाथ लुँइटेलले सहजीकरण गरेका छन् । मजदुर संगठनमा ३ कार्यकाल अध्यक्ष (२०५१ सालदेखि २०६३सम्म) भएका काभ्रे जिल्ला समन्वय समितिका पूर्व प्रमुख उद्धव केसीले कार्यशालामा आफ्ना अनुभव सुनाएका थिए ।
जिफन्टका राष्ट्रिय कमिटी अध्यक्ष विनोद श्रेष्ठले यातायात स्वतन्त्र मजदूर संगठनको नीति र नेतृत्वमा समग्र यातायात क्षेत्र चलेको दाबी गरे । त्यसैले आम यातायात मजदूरको हेराइ र दृष्टिकोणको आधारमा यातायात नीति बनाउनु पर्ने उनले उल्लेख गरे ।
श्रमिकका अधिकार कटौती हुँदै गएको र राज्यको चरित्र पुँजीवादी बनेको भन्दै राज्यलाई श्रमिक पक्षीय बनाउनुपर्नेमा जोड
‘देशको यातायात क्षेत्रलाई व्यवस्थित गर्ने सवाल र यातायात नीति कस्तो बनाउने भन्ने बारेमा संगठनको आँखाबाट हेरेर बनाउनु पर्छ,’ उनले भने, ‘संगठन यातायात क्षेत्रको १ नम्बर युनियन हो । युनियनको नेतृत्वमा सबै यातायात क्षेत्र चलेको छ ।’
अध्यक्ष श्रेष्ठले जिफन्ट आवद्ध घटक युनियनमध्ये सबैभन्दा बलियो र पुरानो संगठन भएकाले अन्य २० घटक युनियनलाई नेतृत्व प्रदान गर्ने गरी काम गर्नुपर्ने बताए । उनले संगठनले श्रमिकहरुको सुरक्षाको प्रत्याभूति लगानीको संरक्षण र यात्रुहरुको गुणस्तरीय सेवालाई व्यवस्थित गर्दै सार्वजनिक यातायात क्षेत्रको सुधारमा लाग्न सुझाव दिए ।
समग्र श्रम क्षेत्रमा श्रमिकका अधिकार कटौती हुँदै गएको र राज्यको चरित्र पुँजीवादी पक्षीय बन्दै गएकाले श्रमिकको शक्तिलाई बलशाली बनाउँदै राज्यको चरित्रलाई श्रमिक पक्षीय बनाउनुपर्नेमा उनले जोड दिए । उनले ११ लाख यातायात मजदुर भएको अवस्थामा संगठन ५१ प्रतिशत मजदुरसम्म पुग्नुपर्ने सुझाव दिए । फेरिएको श्रम बजार अन्तर्गत यातायात श्रम क्षेत्रको कामको प्रकृतिसमेत फेरिएको उनले उल्लेख गरे । उनले श्रमिक व्यवसायी बन्दै गएको परिप्रेक्ष्यमा युनियनले उठाउने मुद्दाको वर्गीरण गर्नुपर्ने बताए ।
संगठनका अध्यक्ष भीमज्वाला राईले संगठनले १ असोज २०८० देखि मंसिर ३० गतेसम्म कार्य थलो अभियान सुरुवात गर्ने जानकारी दिए । उनले नयाँ योजनाका साथ कार्यथलोमा जाने उल्लेख गर्दै उनले फेरिएको यातायात श्रम क्षेत्रमा संगठनलाई ढाल्ने बताए । यातायात क्षेत्रका सबै तथा आम समाजले गरेको अपेक्षालाई पूरा गर्न नयाँ ढंगले आन्दोलनको नेतृत्व गर्ने चर्चा गरे । उनले चन्द्रसम्शेरको पालामा १९७३ बाट सुरुवात भएको यातायात क्षेत्रले अफै उद्योगको आकार ग्रहण गर्न नसकेको उल्लेख गरे ।
नेपाल यातायात व्यवसायी महासंघका वर्गीय संयोजक प्रकाशमणि तिवारीले यातायात व्यवसायी तथा संघ, संगठन नमिलेको खण्डमा यातायात क्षेत्र तहसनहस हुने दाबी गरे । यातायात व्यवसायीले धान्न नसेकेर श्रमिकको हात गएको उल्लेख गर्दै उनले हरेक राजनीतिक पार्टीको पहिलो प्रहार यातायात क्षेत्र भएको आरोप लगाए । पृथ्वी राजमार्ग बस कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र केसीले मजदुरका संघ संगठनले यातायात व्यवसायीका मुद्दा उठाएको बताए । उनले राज्यको लगानी चासो र चिन्ता नभएको कारण सार्वजनिक यातायात क्षेत्र उपेक्षित भएको चर्चा गरे ।
नेपल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय महासचिव केशव थापा ‘निरु’ले कार्यशालामा संगठनको ११ औं राष्ट्रिय महाधिवेशनले पारित गरेको १० बुँदे कार्यक्रमको नेतृत्वले पुनस्मरण गर्ने जानकारी दिए । कार्यशालमा जिफन्ट गण्डकी, वागमती, मदेश र कर्णाली प्रदेशका अध्यक्षहरु क्रमशः रुद्रबहादुर खत्री, रामहरि नेपाल, कमलेश झा र तेज जिसीले संगठनको आगामी कार्यदिशाबारे सुझाव राखेका थिए ।









तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया