सम्पादकीयः अन्तर्राष्ट्रिय उडान मुख्य एजेन्डा बनोस्

समाधान संवाददाता २०८० भदौ १८ गते १२:००

उद्योगी व्यवसायीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्नको लागि चीन भ्रमणको प्रमुख एजेन्डा बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराए । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि चीनबाट चार्टड उडानबाहेक यो आन्तरिक उडानमा सीमित छ । यस्तो अवस्थामा चीनबाट अन्तर्राष्ट्रिय उडानका लागि प्रधानमन्त्री दाहालले आफ्नो भ्रमण दौरान पहल गर्न सुझाएका छन् । त्यति मात्र नभएर प्रधानमन्त्री प्रचण्डसँग पोखरा एयरपोर्टको लागि चीनले दिएको ऋणलाई अनुदानमा बदल्नको लागि पहल गर्न अनुरोध गर्दै ज्ञापनपत्र समेत बुझाएका छन् ।

Advertisement


पोखराको अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकारले सन् २०२३ जनवरी १ (पुस १७)देखि विमानस्थल व्यवसायिक हिसाबले सञ्चालन गरेको हो । आन्तरिक उडानमामात्र सिमित विमानस्थल अन्तर्राष्ट्रिय उडानको लागि ६ महिना कुर्नु पर्‍यो । विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टर उडान चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट भयो । त्यहाँबाट आएको सिचुवान एयरलाइन्सको चार्टर विमान विमानस्थलमा अवतरण गर्‍यो । भुटानको ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने तयारीमा छ । देशबाहिर उडान आरम्भ नभएपछि पोखराका पयर्टन व्यवसायीले अन्तर्राष्ट्रिय उडान थाल्न नेपाल सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।


चीनकै ऋण सहयोगमा विमानस्थल बनेको हुँदा पनि उसले नेपाल सरकारका कुरा सुन्छ । चीनले पनि सुन्छ, भनेर पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि सरकारमा दबाब सिर्जना गर्दै आएका छन् । गण्डकी प्रदेशका एजेन्डाहरुमा पोखरेली पहिलो प्राथमिकता पोखराबाट नियमति अन्तर्राष्ट्रिय उडानको व्यवस्था गर्नु पर्ने छ । ज्ञापनपत्रमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चेन्दु–पोखरा र पोखरा–कुनमिङ हुँदै हङकङ गन्तव्य बनाएर उडान भर्ने वातावरण मिलाउन, पोखरा एयरपोर्टको २५ सय मिटरको धावनमार्ग ३ हजार मिटर बनाउने निर्णयसहित निर्माणमा चीन सरकारको सहयोग खोज्न सुझाइएको छ । त्यसबाहेक नेपाललाई ‘गन्तव्य राष्ट्र’मा सूचीकृत गर्न, मुस्ताङको कोरोला नाका संचालनको पहल थाल्न एवं गोर्खामा पर्ने रुइला नाका खोल्न, पोखरा चक्रपथको लागि सहयोग जुटाउने पोखरामा चिनियाँ महावाणिज्य दूतावास स्थापनको आग्रह गर्नुपर्ने विषय पनि ज्ञापनपत्रमा समेटिएको छ ।


विमानस्थलबाट अन्तर्राष्ट्रिय व्यवसायिक उडानका लागि नेपाल सरकारबाट हवाई कम्पनीहरूले अनुमति पाउनु पर्छ । पोखराबाट भारत र चीनको शहरसँग हवाई सम्पर्क कायम गर्नको लागि सरकारले कुटनीतिक पहल गरी रुट अनुमति लिनु पर्छ । अझैपनि सरकारबाट त्यस्तो काम हुन सकेको छैन । विमान सञ्चालनको लामो समय अवधिसम्म अन्तर्राष्ट्रिय उडान नहुँदा राज्यका निकायमा दबाबमा छन् । यस्तो अवस्थामा पोखराबाट नियमित उडानको लागि राज्यका निकायले प्रधानमन्त्री दाहालको चीन भ्रमणलाई अवसरको रुपमा लिनु पर्छ । नेपालको तेस्रो नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान भएमा पोखरा तथा आसपासको पर्यटन प्रवद्र्धनका अलवा अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्ने छ ।

Advertisement

तपाईको प्रतिक्रिया