बाघजात्राको अन्तर्य

राजन श्रेष्ठ २०८० भदौ १९ गते १२:२२

प्रकृति आफैंमा सुन्दर छ । यसको सुन्दरतालाई बचाई राख्नु हामी मानवको कर्तव्य हो । प्रकृति र संस्कृति एक अर्काका परिपूरक हुन् । प्राकृतिक हिसाबले पोखरा सहर धेरै सुन्दर छ । मौलिक सुन्दरता र संस्कृति भावी सन्ततिका लागि बचाइराख्न सर्वप्रथम यसको इतिहास र विविध पक्षबारे जानकारी राख्नुपर्दछ ।

Advertisement


अघिल्लो लेखमा मैले पोखरा बजार स्थापनामा छब्बिस कुरिया नेवारहरुको भूमिका र गाईजात्रा नाचबारे वर्णन गरेको थिएँ । गाईजात्रा र बाघ जात्रा एकापसमा सम्बन्धित छन् । बाघजात्रा पोखरामा कसरी उत्पत्ति भयो भन्ने तथ्य लिखित रूपमा पाइँदैन । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत पृथ्वीनारायण क्याम्पस, पोखरा, इतिहास तथा संस्कृति विभाग स्नातकोत्तर तह द्वितीय वर्षको छैटौं पत्रको प्रयोजनका लागि प्रस्तुत शोधपत्रमा पोखरा, नालामुख निवासी संस्कृतिकर्मी स्वर्गीय तुलसी नापितसँग लिएको अन्तर्वार्ता अनुसार काठमाडौं उपत्यका घना जंगलले भरिएको थियो । त्यो जंगलमा बाघहरूको बिगबिगी थियो ।


नेवार समुदाय बस्ने बस्तीहरुमा बाघले दिनहुँ जस्तो चराइरहेका बोका, बाख्रा, कुखुरा, गाई, भैंसी आदि माथ्र्याे । टोल टोलका बालबालिकामाथि पनि आक्रमण गरेर मानवलाई आतंकित बनाउँथ्यो । नेवार समुदाय यसबाट चिन्तित हुन थाल्यो । त्यसपछि बाघलाई मार्नुपर्छ भनेर योग्य व्यक्ति शिकारी (ढिकेग्वारा) लाई जिम्मा दिइयो । शिकारी ढिकेग्वाराले मार्न नसकेपछि नेवार समुदाय झन् निकै नै चिन्तित बन्यो ।


नेवार समुदाय मिलेर राजा कहाँ बाघ मार्न सहयोग पाऊँ भनी बिन्ती चढाइयो । राजाले जनताको दुःख देखेर उक्त बिन्तीलाई स्वीकार गरी रानी, भारदार, मन्त्री, सैनिकहरूसँग सल्लाह गरेर हातहतियार, धनुकाँड, भाला, खुकरीसहित सक्दो सहयोग गरी बाघलाई घेरा हालेर मारियो । जनता उक्त दिन राजाको कार्य देखेर ज्यादै नै खुसी भए । सैनिकको सहयोगमा बाघलाई घेरा हालेर मारिएको थियो । बाघ दुर्गा भवानीको वाहन भएकाले ज्योतिषको सल्लाह अनुसार कृष्ण अष्टमीको साँझपख मारिएको थियो ।

काठमाडौंबाट बसाइसराईं र जागिरको सिलसिलामा पोखरा आएका नेवार समुदायले बाघ जात्रा निकाल्न थालेका हुन् ।

Advertisement


यस घटनापछि काठमाडौं उपत्यकामा बाघले दुःख दिएन । त्यसपछि नेवार समुदायले, यसको सम्झनामा बाघ जात्रा मनाउन थालेको हो । यसरी काठमाडौं उपत्यकाबाट बसाई सराई र जागिरको सिलसिलामा पोखरामा बसेका नेवार समुदायले बाघ जात्रा निकालेको पाइन्छ । पोखराका नेवारले मनाउने जात्रामा यो महत्वपूर्ण जात्रा पनि हो ।


वर्षका ३ सय ६५ दिनमा ३ सय ६६ वटा चाड मनाउँछन् भनेर नेवारलाई भन्ने गरिन्छ । त्यसैले त पुरानो कथन छ, ‘राणा बिग्रियो मोजले, नेवार बिग्रियो भोजले ।’ नेवारहरू संस्कृतिमा धनी छन् र आफ्नो संस्कृति जगेर्ना गर्न सीपालु हुन्छन । हरेक अवसरलाई चाडको रूपमा मनाउन अग्रसर हुन्छन् तर पोखराका छब्बिस कुरियामा बसोबास गर्ने नेवारहरु आफ्नो मौलिक कला, परम्परासँगै जात्रा, पर्व मनाएर व्यापार विस्तार गर्दथे । समग्रमा भन्नु पर्दा १८ औं शताब्दीको सुरुमा नेवारले पोखरामा प्रवेश गरेपछि नै पोखराको सांस्कृतिक, धार्मिक तथा आर्थिक विकासले गति लियो ।


पोखराका नेवार समुदायले मनाउने जात्रामा यो पनि विशेष जात्रा हो । यो जात्रामा विविध खालका झाँकी प्रदर्शन, तायमचा, घोडा जात्रा, लाखे नाच, मनोरञ्जनात्मक तरिकाले जात्रा प्रदर्शन गरिने गरिन्छ । यो जात्रा हेर्नका लागि पोखराका बासिन्दासहित र गाउँ गाउँबाट मानिसको ओइरो लाग्ने गर्दछ । यो जात्रा विशिष्ट र महत्वपूर्ण भएकाले नेपालको कमै ठाउँमा मात्र निकालिन्छ ।
बाघ जात्रामा मुख्य पात्र नै बाघ भएकाले मान्छे नै बाघको भेष धारण गरी बाघको मकुण्डो लगाएर चार खुट्टाले हिड्ने गरिन्छ ।

यो जात्रामा थुपै कलाकार संलग्न हुन्छन् । जस्तैः बाघहरू, राजा, रानी, सिपाही, मन्त्री, भारदार, ढिकेग्वारा र कलाकार । जंगलमा बाघ लुकेर बसेका हुन्छन् । ढिकेग्वाराहरू बाघलाई खोज्दै जान्छन्, ढिकेग्वारा असफल भएपछि जनताले राजाकहाँ बिन्ती चढाउँछन् । राजाको सल्लाह बमोजिम सिपाही, भारदार, ढिकेग्वारा, जनताहरूसहित मिलेर बाघलाई घेरा हालेर मारिन्छ ।


८६ वर्षीय संस्कृतिकर्मी टंकमान नापितका अनुसार बाघ जात्रा सिंगो पोखरा बजारका नेवार समुदायको सहभागिताबाट मनाइने जात्रा हो । यो जात्रा निकै नै खर्चिलो हुन्छ । खर्चकै कारणबाट नै वर्ष वर्षमा निकाल्न सकिँदैन । किनभने यो जात्रामा धेरै नै कलाकारकासाथै सामग्री पनि निकै नै चाहिएको हुन्छ । यस कारण कुनै महोत्सवमा पर्यटनका लागि आकर्षण झलक देखाउने गरिन्छ । साथै, नेपाल संवतको र्‍यालीमा पनि बाघ जात्राका झलक राखिएको हुन्छ । २०६७ सालको गाईजात्रा महोत्सवमा बाघजात्राको सानो झलक देखाएको थियो ।


पोखरामा बाघजात्रा नभएको धेरै भयो । २३ वर्षअघि २०५७ सालमा मोहरियाटोलमा यो जात्रा देखाइएको थियो । यस वर्षबाट बाघजात्रा निरन्तरता दिइने भएको छ । यही भदौ १८ देखि २० सम्म जात्रा देखाउन जवाहरलाल श्रेष्ठको संयोजकत्वमा बाघजात्रा आयोजक समिति बनेको छ । समिति सचिव सुनील उलकका अनुसार बुढापाकालाई सोध्दा २००६ सालदेखि पोखरामा बाघजात्राको रेकर्ड भेट्न सकिन्छ । त्यसपछि २०१४, २०२२,२३, २०३७, ३८, २०४६ र ४७ मा देखाइएको भेटिन्छ । अब यसलाई प्रत्येक ६ वर्षमा प्रदर्शन गर्ने तयारी छ ।


बाघजात्रा पोखरेली नेवारको एकताको सूत्र पनि हो भन्न सकिन्छ । देशमा राजनीतिक परिवर्तन वा विविध कारणले २३ वर्षसम्म रोकिएको जात्रामा यसपालि बिभिन्न नेवारी संघ संस्थामा आवद्ध व्यक्तिहरुको सक्रियता, साथ, सहयोग तथा समर्थन देखिएको छ । पोखरा महानगर र पोखरेलीको साथले यो जात्राले एकातिर राष्ट्रिय पहिचान पाएको छ भने अर्कातिर सबै समुदायले अपनत्व ग्रहण गर्ने अवस्था सिर्जना भएको छ ।

तपाईको प्रतिक्रिया