‘सहकारी डुबाउनेलाई एमालेमा स्थान छैन’

पोखरा ।
एमाले गण्डकी प्रदेश कमिटीले सोमबार गण्डकी प्रदेश स्तरीय अगुवा सहकारीकर्मीको भेला गरेको छ । गण्डकी प्रदेश सहकारी तथा गरिबी निवारण विभागको संयोजनमा भएको भेला पार्टीका केन्द्रीय कमिटीका सचिव गोकर्ण बिष्टले उद्घाटन गरे ।
सचिव बिष्टले सरकारी डुबाउने तथा खराब कर्जाको भागिदार व्यक्ति एमालेमा रहन नसक्ने बताए । सहकारीको ऋण नतिर्ने एमालेका नेता कार्यकर्ता सबैलाई पार्टीबाट कारवाही गर्न निर्देशन दिँदै उनले गल्ती एमालेका नेता, कार्यकर्तालाई कारवाही गर्ने स्थानीय पार्टी कमिटीलाई निर्देशन दिए ।
केही केही सहकारी सञ्चालक नै सुदखोर जस्ता व्यक्तिले सहकारी आन्दोलनलाई कमजोर बनाएको उनको दाबी छ । कमी, कमजोरी तथा समस्या भएको ठाउँमा समाधान पनि भएको उल्लेख गर्दै उनले समस्या देखिएको ठाउँमा समाधानका लागि पहकद्मी गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
सरकारले न सहकारीको मर्म बुझेर काम नगरेको छ, न ठीक ढंगले सहकारीको अनुगमन गरेको छ
खगराज अधिकारी
‘तीन खम्बे अर्थनीति अन्तर्गत नेपालको अर्थतन्त्रमा सहकारीको योगदान छ । मिश्रित अर्थ व्यवस्था र तीन खम्बे अर्थनीति एमालेको कार्यक्रम हो,’ उनले भने, ‘सहकारीमार्फत् रोजगारी सिर्जना तथा उद्यमशीलताको विकास गरेर समाजवादको यात्रा तय गर्न सकिन्छ ।’ उनले सहकारीले सबै सदस्यलाई उत्पादनमा जोड्नुपर्ने विचार राखे ।
पार्टीका केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागका प्रमुख खगराज अधिकारीले सहकारीको विकृतिक वहाकको रुपमा रहेका सञ्चालक पार्टीमा रहन नसक्ने बताए । सेयर सदस्यलाई ठगी गर्ने सञ्चालकलाई कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने उल्लेख गर्दै उनले सहकारीबाट ठगिएका पीडितहरुले रकम फिर्ता पाउनुपर्ने जनाए ।
‘सुशासन प्रवद्र्धन नगर्ने तथा सहकारीको मुल मर्म भावना अनुसार नचल्नेको पक्षमा हामी छैनौं । खराब गर्नेलाई कानुनी कारवाही गर्ने हो,’ उनले भने, ‘सहकारीबाट ठगिएका सेयर सदस्य तथा बचतकर्ताले रकम फिर्ता पाउनु पर्छ । ठगी गर्ने सञ्चालकलाई कारवाही गर्नु पर्छ ।’
पार्टीका स्थायी समितिका सदस्यसमेत रहेका अधिकारीले केही सहकारीका गतिविधि खराब तथा विकृत बन्न सक्ने भएता पनि सिंगो सहकारी आन्दोलन गलत नभएको तर्क गरे । बैंक तथा वित्तिय संस्थाको ठगी समाचार नबन्ने उल्लेख गर्दै उनले सरकारीको सानो विषय पनि सञ्चार माध्यममा ठूलो भएर आउने बताए ।
नेता अधिकारीले सहकारी आन्दोलनमाथि चौतर्फी रुपमा प्रहार भएको उल्लेख गरे । छरिएर रहेको पुँजीलाई एकत्रित गरेर राम्रो काम गर्ने सरकारीको योगदानको कदर हुनुपर्ने जनाउँदै उनले नेपालमा ७५ लाख आधारभूत तहका जनता सहकारीमा आवद्ध भएको जानकारी दिए । उनले सेयर सदस्यको बचत गर्ने बानीको विकासका अलवा उद्यमशीलताको प्रवद्र्धनमा सहकारीको अभियानमा पार्टीको साथ समर्थन रहेको उल्लेख गरे ।
वर्तमान गठबन्धन सरकारले सहकारीको मर्म बुझेर काम नगरेको आरोप लगाउँदै उनले सरकारले ठीक ढंगले सहकारीको अनुगमन नगरेको बताए । उनले सहकारी ऐन २०७४ को पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने तथा विषयगत रुपमा रहेका सहकारीको प्रवद्र्धन गर्नु पर्नेमा जोड दिए । उनले सहकारीलाई नेपालको अर्थतन्त्रको महत्वपूर्ण हिस्साको रुपमा विकास गर्न सबै परिवारलाई सहकारी संस्थामा आवद्ध गर्नुपर्नेमा जोड दिए ।
सामाजिक न्यायसहितको आर्थिक विकास र समृद्धि एमालेको विकाससम्बन्धी नीतिको सार रहेको उल्लेख गर्दै नेता अधिकारीले कांग्रेस र माओवादी सहकारी विरोधी भएको आरोप लगाए ।
कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य मना केसी, प्रदेश कमिटी उपाध्यक्ष मोहन रेग्मी, सचिव धनञ्जय दवाडी, गण्डकी प्रदेश सहकारी तथा गरिवी निवारण विभाग प्रमुख महेन्द्रलाल श्रेष्ठ, सहकारी अभियान्ता मीनराज कँडेल, ओमदेवी मल्ल ठकुरी, परीतोस पौडेल लगायतले सहकारीमा अहिले देखिएका समस्या र समाधानका उपायबारे बोलेका थिए ।
तपाईको प्रतिक्रिया