सम्पादकीयः कार्यक्षेत्रको व्यापकता र रेडक्रसको कार्यभार

‘जहाँ विपद् त्यहाँ रेडक्रस’ भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटीले मानवीय सेवाको क्षेत्रमा जुटेको छ । खास गरी विश्वव्यापी रुपमा युद्धको समयमा भएका घाइतेको उद्धार गर्नको स्थापना भएको रेडक्रसले विपद् तथा मानवीय क्षेत्रमा देशको परिस्थिति अनुसार काम गर्छ । नेपालको सन्दर्भमा रेडक्रसले एम्बुलेन्स, रक्त सञ्चार, विपद् व्यवस्थापन, प्राकृतिक प्रकोप, प्राथमिक उपचार, आधारभूत स्वास्थ्य हेरचाह लागयत आकस्मिक सेवामा काम गरेको छ ।
जेनेभा महासंन्धीमा नेपालले हस्तास्क्षर गरेपछि विधिवत रुपमा १९ भदौ २०२० साल रेडक्रस स्थापना भएको हो । त्यहि दिनको सम्झनामा ‘मनैदेखि सेवा’ भन्ने नाराका साथ ६१ औं नेपाल रेडक्रस दिवस मनाइको छ । १९ भदौ २०२२मा तत्कालिन गण्डकी प्रदेशहँुदै खुलेको कास्की रेडक्रसमा हजारौं आजीवन सदस्य, सयौं विशिष्ट र यशस्कर सदस्य, करिब २ सय जुनियर युवा सर्कल र ४८ उपशाखा मार्फत विपद् व्यवस्थापनका काम भएका छन् । विपद् व्यवस्थापन कोष मार्फत विपद्को अवस्थामा कास्कीले १ सय परिवार र शाखा अन्तर्गतका उपशाखाले १० परिवारसम्मलाई राहत प्रदान गर्ने सामर्थ राख्छन् ।
रेडक्रसले रगतको संकलन, भण्डारण वितरणको काम गर्छ । रक्तदान गर्न सबैलाई जागरुक बनाउन उत्प्रेरणात्मक काम भएका छन् । कास्कीमा अहिले ६ सयभन्दा बढी संघ, संस्थाले स्वतस्फूर्त रुपले नियमित रक्तदान गर्ने गर्दछन् । वर्षमा ३३ हजार युनिटसम्म रगत आपुर्ति गर्ने कास्की रेडक्रसको पहलमा नेपालमा पहिलो पल्ट २०७८ फागुन १ गतेदेखि गण्डकी प्रदेश सरकारको सहयोगमा सबै रक्तसेवालाई निःशुल्क गरिएको छ । यी सबै गतिविधिका कारण कास्की शाखाद्वारा सञ्चालित रक्त सञ्चार सेवाले देशभरमै समुन्नत रक्त सञ्चार सेवाको रुपमा पहिचान बनाएको छ ।
नेपाल सरकार, सुरक्षा निकाय तथा सरोकारवाला निकायसँगको समन्वयमा प्राकृतिक प्रकोपमा पहिलो घेरामा रहेर खोज उद्धारको काम गर्ने रेडक्रसले आन्तरिक रुपमा सिर्जित समस्यामा मानवीय प्रवद्र्धनमा काम गर्नु पर्ने देखिन्छ ।
बाढी पहिरो, भारी वर्षात लगायतका मनसुनजन्य विपद्को समयमा मात्र नभएर जलवायु परिवर्तनले परेको असरलाई न्यूनीकरणका लागि योजना बनाउनु आवश्यक छ । विपद्को सामना गर्न समय सापेक्ष रुपमा दक्ष जनशक्ति व्यवस्थापनको लागि ध्यान दिनु पर्छ ।
रेडक्रस अभियानमा सात सिद्धान्तलाई मार्गदर्शक शिद्धान्तको रुपमा आत्मसात गरिएको हुन्छ । त्यसैले रेडक्रसले तटस्थता निश्पक्षतालाई आधार मानेर विशुद्ध मानवीय सेवामा समर्पित हुनु पर्छ । समय परिस्थिति अनुसार रेडक्रसको काम गर्ने तौर तरिका र कार्यक्षेत्रमा ज्यादै ठुलो विविधता र व्यापकता आएको छ । सोही अनुसार कास्की रेडक्रसको विपद् व्यवस्थापन र मानवीय सेवाको काम गर्ने क्षेत्र बढेको छ । त्यसैले रेडक्रसले समय सापेक्ष रुपमा सबै कार्यक्रम योजनालाई अझै व्यापक र विस्तार गर्नु पर्ने देखिन्छ ।
तपाईको प्रतिक्रिया