अनुभूत हुने गरी कदम चाल्न माग

समाधान संवाददाता २०८० भदौ २० गते १४:१७

पोखरा ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले कोभिडकालीन समयमा चाहिनेभन्दा बढी पुँजी बजार पठाइएको जिकिर गरेका छन् । ‘पहिला चाहिनेभन्दा बढी प्रवाह (पुँजी ) भएकै हो, अहिले अर्थतन्त्रमा मन्दी आएको छ । यसको जिम्मेवारी लिनेले मात्र नभएर दिनेले पनि लिनुपर्छ,’ पोखरा उद्योग वाणिज्य संघले सोमबार आयोजना गरेको अन्तक्र्रियामा उनले भने, ‘रिभर्स र हार्ड ल्यान्डिङ गराएर हुँदैन ।’

Advertisement


उनले मौद्रिक नीतिमार्फत् खुकुलो व्यवस्थाको लागि नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको बताउँदै अहिले स्थिति केही सहज भएको जिकिर पनि गरे । अर्थतन्त्र सोचेजस्तो खराब नभएको र खराब भयो भन्ने हल्ला फैलँदा उपभोक्ताले समेत खर्च घटाउने प्रवृत्ति बढ्ने खतरा देखिएको पनि उनको जिकिर थियो । ‘गलत भाष्य बन्द गरौं,’ उनको आग्रह छ । जग्गाको कित्ताकाट खुलेको, भारतीय पर्यटकको लागि १ लाख नगदसम्म ल्याउन पाउने व्यवस्था गर्न लागिएको बताउँदै उनले व्यवसायीलाई निराश नहुन आग्रह गरे ।

सिथिल अर्थतन्त्रलाई गति दिन, व्यवसायीको आत्मबल बढाउन विशेष कार्यक्रम ल्याउन माग

Advertisement


संघका अध्यक्ष पवनकुमार प्रजापतिले अर्थतन्त्रका सूचकमा सुधार आएको जिकर गरिए पनि सामान्य नागरिकले त्यसको अनुभूति गर्न नपाएको गुनासो गरे । ‘पछिल्लो समय भएको मूल्यवृद्धिले नागरिकको भान्छा महंगो भएको छ । भान्छा महंगो हुँदा नागरिकमा निराशा उत्पन्न भएको छ । त्यसैले मूल्यवृद्धि नियन्त्रणमा सरकारको ध्यान जानैपर्छ,’ उनले भने ।


अध्यक्ष प्रजापतिले व्यवसायीले सञ्चालन खर्च पनि उठाउन गाह्रो भएको, चुनौती सामना गर्न थप लगानी चाहिएको भए पनि कर्जामा भएको ब्याज वृद्धिले निजी क्षेत्र थिचिएको गुनासो पनि गरे । उनले सिथिल अर्थतन्त्रलाई गति दिन, व्यवसायीको आत्मबल बढाउन र निजी क्षेत्रलाई प्रोत्साहित गर्नको लागि विशेष कार्यक्रम ल्याउन माग गरे ।

Advertisement


संघका निवर्तमान अध्यक्ष नारायण कोइरालाले भारतीय ५ सयका नोट चल्ने व्यवस्था गर्न माग गरे । पोखरा पर्यटन परिषदका पूर्वअध्यक्ष गणेशबहादुर भट्टराईले चिनियाँ पर्यटकले वी च्याटबाट कारोबार गर्दा खर्च गरेको रकम चीन नै जाने गरेको जानकारी गराए । पर्यटन व्यवसायी टीका पौडेलले पर्यटन उद्योगलाई पुनर्कर्जा प्रवाह गर्न माग गरे ।

अर्का व्यवसायी रुद्रलाल श्रेष्ठले औद्योगिक क्षेत्रको भाडा वृद्धिले उद्योगहरु मर्कामा परेको सुनाए । संघका कार्यसमिति सदस्य राम कँडेलले राजमार्ग स्तरोन्नति छिटो हुनुपर्ने माग गरे । कार्यक्रममा संघका उद्योग उपाध्यक्ष देवेन्द्र केसी, महासचिव बलराम आचार्य र प्रदेशसभा सदस्य विन्दुकुमार थापाले बैंकहरुको सिन्डिकेट तोडिनुपर्ने माग गरे ।

तपाईको प्रतिक्रिया