चोरेको सुन बैंकमा धितो राखेर ऋण !

पोखरा ।
लमजुङको बेसीसहर नगरपालिका वडा नम्बर ७ क्याम्पस रोडमा रहेको जमुना रिमालको घरबाट गत वैशाख २५ गते सुनका गरगहना चोरी भयो । घरबाट ठूलो परिणाममा सुन चोरी भए पनि परिवारले प्रहरीलाई तत्काल खबर गरेनन् । चोरी भएका गरगहना फिर्ता आउने आसमा उनीहरुले प्रहरीलाई खबर गरेका थिएनन् । ‘साँचो पनि केही भएको छैन, घरकै या नजिकैका लगेका होलान्, फिर्ता गर्छन् भनेर उहाँहरु (परिवार) त्यतिबेला प्रहरीमा उजुरी दिन आउनुभएन,’ जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले भने ।
पुनः गत साउन ३० गते सोही वडाको न्यू इरा बोर्डिङ स्कुल नजिकै रहेको बालकुमारी घिमिरेको घरबाट पनि गरगहना चोरी भयो । बालकुमारीको परिवारले तत्कालै प्रहरीमा निवेदन दियो । त्यसपछि गत वैशाख २५ मा भएको र साउन ३० गते भएको चोरी एउटै प्रकृतिको भएको थाहा भयो । सबैतिर हल्ला फैलियो । त्यसपछि जमुनाले साथी सुजा घिमिरेसँग कुरा गरिन् । सुजाले काम गर्ने गैरसरकारी संस्थाको कार्यालय जमुनाको घरमा थियो । त्यस कारण जमुना र सुजा सैसाथी थिए । सुजाले पनि आफ्नो साढे २ तोला सुन हराएको भनेपछि उनीहरु दुवैजना भदौ १ गते प्रहरीमा चोरीको निवेदन दिए ।
प्रहरीले एउटै प्रकृतिको घटना भएको भन्दै दुवै घटनालाई एकै ठाउँमा राखेर अनुसन्धान गर्यो । अनुसन्धानका क्रममा दुई घटनामा सुजाको कनेक्सन रहेको प्रहरीले पत्ता लगायो । जमुना र बालकुमारीको घरबाट करिब २३ तोला सुन बराबरको गहना चोरी भएको थियो । सुजा बालकुमारीकी छोरीको साथी पनि हुन् । सुजा बालकुमारीको घरमा जाउजाउ गर्थिन् । त्यसपछि प्रहरीले सुजामाथि अनुसन्धानको घेरा बढायो ।
‘सुजामाथि टेक्निकल्ली अनुसन्धान गर्यौं । कल डिटेल निकाल्नेदेखि लिएर एकाउन्ट डिटेल र सुन कारोबारहरु सबै हामीले अनुसन्धान गर्यौं,’ प्रहरी निरीक्षक सुवेदीले भने, ‘सुनसँग सम्बन्धित विभिन्न कारोबार गरेको र लमजुङको अरु पसलहरुमा पनि सुनको अधिकतम कारोबार गरेको देखिएपछि सुजालाई पक्राउ गरिएको हो ।’
उनले चोरी गरेको सुन नेपाल बैंक लिमिटेडमा राखेर १ लाख ८० हजार ‘गोल्डलोन’ लिएकी थिइन् । ‘गोल्ड लोन भनेर ऋण लिएको थाहा भयो । करिब ३ तोला सुन धितो राखेर एक लाख ८० हजार जति लोन लिएको पाइयो । त्यो सुन हेर्दा चोरी गरेको सुन भेटियो,’ प्रहरी निरीक्षक सुवेदीले भने ।
बिलबिना नै बैंकले उक्त सुन धितो राखेर ऋण दिएको पाइएको प्रहरी निरीक्षक सुवेदीले बताए । ‘सुन परिवर्तन हुने पनि होइन, जस्ताको त्यस्तै हुन्छ । सुन राख्दा तिन पुस्ते विवरण राखिने रैछ, ऋण लिँदा चाहिँ बिल नहेर्नु हुने रहेछ । धितो राख्ने कुनै पनि सुन बिल नखोज्ने गरेको उहाँहरु (बैंकर) ले भन्नुभएको छ,’ उनले भने ।
पक्राउपछि सुजाको घरमा खानतलासी गर्दासमेत चोरी भएको सुनका गरगहना फेला परेको प्रहरी निरीक्षक सुवेदीले सुनाए । उनले भने, ‘पक्राउ गरिसकेपछि पनि हामीले सुजाको घरमा खानतलासी गर्यौं । खानतलासी गर्दा साउन ३० गते चोरी भएको बालकुमारी म्याडमको सुन पनि फेला पर्यो ।’ अहिले सुजालाई लमजुङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया