लाेमान्थाङमा ३० गतेबाट गल्फ प्रतियोगिता हुँदै
पोखरा ।
विश्वकै सबैभन्दा उच्च ४ हजार ६ सय ४५ मिटरमा रहेको गल्फ कोर्समा यही भदौ मसान्तमा गल्फ प्रतियोगिता हुँदै छ । आयोजक मुस्ताङ गल्फ कोर्सले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो ।
पहिलो संस्करणबाट सिकेर यसपालिको प्रतियोगितालाई थप व्यवस्थित बनाइने राजनीतिज्ञ एवं समाजसेवी ईन्द्रधारा विष्टले बताए । यो गल्फ कोर्स विष्टकै अगुवाई र उनको समेत लगानीमा तयार भएको हो । उनले मुस्ताङमा खेल पर्यटनको सम्भावना खोज्न प्रतियोगितालाई निरन्तरता दिइएको जनाए ।
‘संसारकै सबैभन्दा उचाईको गल्फ कोर्सको विश्व रेकर्ड बनाउनका लागि संस्था दर्ता भइसकेको छ । चाडै हामी इतिहास रच्छौं,’ उनले भने । अहिलेसम्म सिक्किमको कुपुकमा रहेको याक गल्फ कोर्स (३९७० मिटर)ले विश्वकै सर्वाेच्च स्थानमा रहेको गल्फ कोर्सको कीर्तिमान ओगटेको छ ।
पोखरेली एमेच्योर गल्फर बलराम थापा भदौ अन्तिममा उपल्लो मुस्ताङ जाँदै छन् । पहिलो संस्करणमा उपविजेता भएका थापाको यसपालि विजेता नै बन्ने आकांक्षा छ । थापासँगै पहिलो संस्करणमा खेलेका गल्फर भक्तराज गुरुङ मुस्ताङ गल्फ कोर्सको खेललाई ‘अद्भूत’ भन्छन् । ‘अनुशासनमा बस्ने हो भने केही हुँदैन । गल्फ कोर्स नराम्रो छैन, अझै निकै राम्रो बनाउन सकिन्छ,’ गुरुङले भने ।
यो कोर्स ९ होलको हो । विजेता, उपविजेता, महिला विजेता, बेस्ट ग्रस, पिनको नजिक, सबैभन्दा लामो ड्राइभ र बर्डिजलाई पुरस्कारको व्यवस्था गरिएको छ । होल इन वान गर्नेले भने घोडा पाउने छन् । आयोजक विष्ट भन्छन्, ‘होल इन वान गर्नेले १ लाख पर्ने घोडा पाउने छन् ।’
यसपालि हुने काठमाडौँ, धरान, पोखरा, बुटवलबाट ४ महिलासहित ४० खेलाडी सहभागी हुने आयोजकले जनाएको छ । अर्काे वर्षबाट अन्तर्राष्ट्रिय खेलाडी निम्त्याउने आयोजकले जनाएको छ ।
हिमालयन गल्फ कोर्सका व्यवस्थापक एवं व्यावसायिक खेलाडी भुवन गुरुङ कोर्स तयारीका लागि लोमान्थाङ जाँदै छन् । उनले खेलाडीको स्वास्थ्य सेवाका लागि स्वास्थ्यकर्मीको टोल खेल स्थलमा राखिने सुनाए । सुरुको दिन ९ होलमा खेल खेलाइने र कुनै कठिनाई आइनपरे अर्काे दिन फेरि ९ होलको खेल खेलाउने उनले जनाए ।
अघिल्लो संस्करणमा टप अफ दि वल्र्ड गल्फ क्लासिक उपाधि श्याम तामाङ र महिला तर्फको उपाधि सुष्मा सिंहले जितेका थिए ।
तपाईको प्रतिक्रिया