सम्पादकीयः बसपार्कमा बस्ती कहिलेसम्म ?

समाधान संवाददाता २०८० भदौ २१ गते १२:००

पोखरा आउने धेरैजसो पाहुन सडक मार्गबाटै आउँछन् । महानगर प्रवेश गर्दा बसबाट हिमाल, स्वच्छ सडक, मिलाएर बनाइएका घर हेर्दा आएका पर्यटक बसपार्कमा ओलर्ने बेला नाक खुम्च्याउँछन् । पोखरेलीले स्वागत गर्ने पोखरा बसपार्कमै छन् लस्करै टिनका टहरा, हिलो बाटो, साँघुरो बस राख्ने ठाउँ । बसपार्कबाट बाहिर निस्किनै मुस्किल पर्छ ।

करिब ५ दशकअघि पोखरा बसपार्कका लागि जग्गाको प्रबन्ध भए पनि यहाँ बसपार्क बन्न सकेको छैन । करिब १ महिनाअघि सडकमै पार्क गरिने बसहरु बसपार्कमा लैजान थालिएको हो । बसपार्कभित्र लगिएपछि पृथ्वीचोक क्षेत्र सफा र खुला त देखिएको छ तर बसपार्क अझै चुस्त बन्न सकेको छैन । बसपार्कको दूरावस्थाले पर्यटकीय सहर पोखरालाई नै गिज्जाएको छ । बसपार्कका लागि २०३२ मा अधिग्रहण गरिएको जग्गा अतिक्रमणमा परेर खुम्चिँदै गएको छ ।


यहाँका अव्यवस्थित घरटहरा, फोहरको दुर्गन्ध, बिजुलीका पोल, लत्रिएका तार, हिलाम्मे सडक पानी जमेका खाल्डाखुल्डीले बसपार्कलाई कुरुप बनाएका छन् । पोखरेलीले उहिल्यै देखेको गज्जबको बसपार्कको सपना अझै अधुरै छ । जीर्ण र काम चलाउ बसपार्कबाट पोखराले कहिले मुक्ति पाउँछ, यसको जवाफ कसैसँग छैन । अझै पनि वडा, महानगरदेखि प्रदेश र संघका उम्मेदवारहरुले यसलाई चुनावी एजेन्डा बनाउन छाडेका छैनन् ।

यो बसपार्कमा अहिले दैनिक सालाखाला ३ सय सवारी आउजाउ गर्छन् । अहिले पोखरासँग ६३ जिल्लाको यातायात सञ्जाल जोडिएको छ । पोखरालाई पर्यटनको राजधानी सहर घोषणा गर्ने तयारी हुँदै छ । पोखरामा अहिले देशकै एकमात्र पर्यटन बसपार्क छ, सँगसँगै बागलुङ जाने बस लाग्ने अर्काे बसपार्क पनि छ । त्यतिमात्र होइन, क्षेत्रीय बसपार्क बनाउने लामेआहालमा जग्गासमेत छुट्याइएको छ । तर सबैभन्दा बढी बस आउजाउ गर्ने पोखरा बसपार्कलाई व्यवस्थित बनाउन राजनीतिक नेतृत्वको इच्छाशक्ति भएको देखिँदैन ।


बसपार्क व्यवस्थित नहुँदा गाडीले अहिले पनि राजमार्गकै छेउछाउबाटै यात्रु चढाउने र ओराल्ने गर्छन् । बसले बाहिरै पिक एन्ड ड्रप गर्ने भउपछि टिकट काउन्टर पनि बाहिरी सडक छेउछाउमै हुने नै भए । पृथ्वीचोकदेखि चाइना पुलसम्म पार्किङ निषेध गरिएपछि पछिल्लो समय बसपार्कबाटै गाडी छुट्न थालेका छन् । तर हिलाम्मे बाटो र भित्र उभिने ठाउँ पनि नभएकाले यात्रु बसपार्क छिर्नै चाहदैनन् । पोखरामा सहरीकरण तीव्र छ, सँगसँगै गाडीको चाप पनि बढेको छ ।

Advertisement

अहिले महानगरले बसपार्क जाने जाने सडक ढलान गर्दै छ, यात्रु प्रतीक्षालय बनिरहेको छ । बसपार्क क्षेत्रमा अव्यवस्थित रुपमा सञ्चालित ग्यारेजहरु हटाइएको छ । २ सय ५ रोपनी जग्गा बसपार्कका लागि अधिग्रहण गरिएकोमा अहिले करिब ६० रोपनीमात्र जग्गा बाँकी छ । बसपार्कको अतिक्रमण हटाएर यसलाई सुविधा सम्पन्न बनाउनुको विकल्प छैन । नागरिकले दबाब दिने र ३ तहकै सरकार नलाग्ने हो भने अर्काे ५ दशक पनि बसपार्क बन्ने छैन । जनताले दुःख पाइरहने छन् ।

तपाईको प्रतिक्रिया