बाटुलेचौर तीज मेला निरन्तर हुने

समाधान संवाददाता २०८० भदौ २२ गते ११:०२

पोखरा ।
परापूर्वकालदेखि नै पोखराको बाटुलेचौरमा सञ्चालन हुँदै आएको ऐतिहासिक तीज मेलाले यस वर्ष पनि निरन्तरता पाउने भएको छ । नेपाली महिलाको महान पर्व हरितालिका तीजको अवसरमा आगामी असोज १ गते स्थानीय हिमालय क्लबको आयोजनामा मेला हुन लागेको क्लबले जनाएको छ ।

Advertisement


विगतका वर्षमा विभिन्न खेलकुदसहितका कार्यक्रम आयोजना गरेको क्लबले यस वर्ष विशुद्घ तीज गीत र नृत्यलाई प्राथमिकता दिई संस्कृति प्रधान कार्यक्रमलाई प्रोत्साहनसहित संस्कृतिको जर्गेना तथा मेलाको निरन्तरताका लागि गर्न लागिएको निवर्तमान अध्यक्ष मोहन थापाले बताए ।


मेलालाई विशिष्ट बनाउन क्लबका अध्यक्ष सुशील बस्नेतको अध्यक्षतामा निवर्तमान अध्यक्ष मोहन थापा, दुर्गालाल श्रेष्ठ, लक्ष्मी देवकोटा र लक्ष्मी पौडेल सदस्य रहेको सचिवालय समिति तथा आमन्त्रित समूहगत तीज गीत तथा नृत्य प्रस्तुतिका लागि ताराप्रसाद तिमिल्सिनाको संयोजकत्वमा क्लबका कोषाध्यक्ष पुष्पराज अधिकारी र सहसचिव तुलबहादुर बस्नेत सदस्य रहेको समिति गठन गरिएको छ ।


आमन्त्रित टोलीले परम्परागत रुपमा आआफ्नो समूहमा बसेर गीत तथा नृत्य प्रस्तुत गर्ने बताइएको छ । मेलाको तयारी सुरु गरिएको अध्यक्ष बस्नेतले जानकारी दिए । पोखराका विभिन्न संघ संस्थासँग समन्वय गरिएको र आर्थिक संकलन कार्यलाई तिव्र पारिएको उनले बताए । १ दिनमात्र सञ्चालन हुने मेलामा करिब ५ लाख रुपैयाँ खर्च लाग्ने क्लबले जनाएको छ । मेलामा तीजको परम्परागत भाका हम्काइलोको समेत प्रस्तुति रहने छ ।

Advertisement

तपाईको प्रतिक्रिया