लिटिल स्टेप माविमा ह्यान्डबल प्रतियोगिता सुरु
पोखरा ।
विद्यालय स्तरबाट खेलकुदको विकास गर्न पोखरा ८ सिमलचौर स्थित लिटिल स्टेप माध्यमिक विद्यालयले १२ वर्षमुनिको ११ औं छात्रछात्रा ह्यान्डबल प्रतियोगिता २०८० आयोजना गरेको छ । पोखरा लिंकन इन्टरनेसनल कलेजको संयोजनमा भएको अन्तर विद्यालय स्तरीय प्रतियोगितामा छात्रतर्फ १६ र छात्रातर्फ १३ टिमले प्रतिस्पर्धा गरेको संस्थाका संस्थापक अध्यक्ष शेरबहादुर गुरुङले जानकारी दिए ।
प्रतियोगितामा कक्षा ५ सम्मका आधारभूत तहका विद्यार्थी सहभागी भए । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले प्रतियोगिता उद्घाटन गर्दै नेपाल र नेपालीलाई विश्वमा चिनाउन खेलकुदको योगदान रहेको बताइन् । खेलाडीको शारीरिक तथा मानसिक विकासको अलवा देशलाई संसारमा चिनाउन खेलकुदको योगदान रहेको उनले उल्लेख गरिन् । उनले खेल क्षेत्रलाई अगाडी बढाउन प्रदेश सरकारले सक्दो प्रयास गरेको जानकारी दिइन् ।
‘प्रतियोगिताले शिक्षामा मात्र नभएर खेलकुद लगायत अतिरिक्त क्रियाकलापमार्फत विद्यालयलाई चिनाउन सफल भएको छ,’ मन्त्री सिम्खडाले भनिन्, ‘विदेश जानुभन्दा स्वदेशमै लगानी गर्नु राम्रो हो । संस्थापक अध्यक्ष शेरबहादुर र प्रिन्सिपल पम्फा गुरुङबाट सबैले सिक्नु पर्छ ।’
नेपाल ह्यान्डबल संघका केन्द्रीय अध्यक्ष तेजबहादर गुरुङले विद्यालयले २०६७ सालमा १२ वर्षमुनिको समूहको प्रतियोगितामा खेलेका खेलाडी अहिले राष्ट्रिय प्रतियोगिता खेलेको तथा राष्ट्रिय खेलाडी बनेको जानकारी दिए । उनले यो उमेर समूहका लागि भएको प्रतियोगिताले समग्र खेलकुदको विकासमा सहयोग पुग्ने बताए ।
उनले ‘जीत र हार’ स्वभाविक भएकाले प्रतियोगिताको विषयलाई लिएर खेलाडी विद्यार्थीलाई हतोत्साहित नबनाउन सम्बद्ध विद्यालयमा खेल शिक्षकलाई अनुरोध गरे । विद्यालयका संस्थापक अध्यक्ष गुरुङले सबै क्षेत्रको सहयोगले प्रतियोगितालाई ११ औं संस्करणसम्म ल्याउन सफल भएको बताए ।
कार्यक्रममा संस्थापक प्राचार्य पम्फा गुरुङले २०६७ देखि सुरुवात भएको प्रतियोगिता अहिले पनि निरन्तर रहेको जानकारी दिइन् । कोभिड १९ प्रकोपका बीचमा हुन नसकेको प्रतियोगित फेरि नियमित भएको हो । कार्यक्रम संयोजक विनोद गिरीले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः ८ हजार, ७ हजार र ६ हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने बताए ।
कार्यक्रममा विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुति गरेका थिए । उद्घाटन कार्यक्रममा खेलाडीको तर्फबाट आयोजक विद्यालय लिटिल स्टेपकी कक्षा ५ की छात्रा एलिना गुरुङले सपथ लिएकी थिइन् । अफिसियलको तर्फबाट रेफ्री पदम नेपालीले शपथ लिए । विद्यालयका शिक्षक ताराप्रसाद सुवेदी, चित्रबहादुर अधिकारी, छात्र सिर्जना क्षेत्रीले प्रतियोगिताको बारेमा बोलेका थिए ।
उद्घाटन कार्यक्रममा छात्रातर्फ लिटिल स्टेप र पोखरा एकेडेमी बीचमा खेल भएको छ । छात्रतर्फ माउन्ट अन्नपूर्ण र नेसनल इन्भेन्टिभ बीच भयो । बिहीबार क्वाटर फाइनलसम्मका सबै खेल भएका छन् । नक आउटका आधारमा खेलाइएको प्रतियोगिताको समापन शुक्रबार विद्यालय परिसरमा हुने प्राचार्य गुरुङले जानकारी दिइन् ।
तपाईको प्रतिक्रिया