भजन चुड्कामा देवीस्थान प्रथम

लेखनाथ ।
रााधाकृष्ण सांस्कृतिक समूहद्वारा श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजित आठौं श्रीकृष्ण जन्माष्टमी महोत्सव एवं खुला भजन चुड्का तथा झाँकी प्रदर्शनीमा देवीस्थान भजन समूह हेमजा प्रथम भएको छ ।
पोखरा–३२ लामेआहलस्थित राधाकृष्ण मन्दिर परिसरमा मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका प्रत्येक वर्ष प्रतियोगिता गर्दै आएको प्रतियोगितामा मातृकेश्वर भजन समुह हेमजा द्वितीय भयो । यसैगरी धर्मोदय भजन समूह पाल्पा तृतीय भयो भने पञ्चासे भजन समूह ठूलाचौर पोखराले सान्त्वना पुरस्कार प्राप्त गरेको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमशः ४५ हजार, द्वितीयले ३५ हजार, तृतीयले २५ हजार र सान्त्वनाले १५ हजार रुपैयाँ नगदसहित पुरस्कार पाए । प्रतियोगितामा २६ समूह सहभागी रहेको राधाकृष्ण सांस्कृतिक समूहका अध्यक्ष सञ्जयराज ढकालले जानकारी दिए ।
कार्यक्रममा नेवार, गुरुङ, मगर र गन्धर्व समुदायका कलाकारले अप्रतियोगीका रुपमा आ आफ्ना जातजातिका संस्कृति झल्ने प्रस्तुति देखाएको समूहका सचिव पुष्पराज शर्मा पौडेलले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्यबहादुर खड्का बिखर्चीले प्रदेशमा विद्यमान कला संस्कृतिको जगेर्नाका लागि प्रतिष्ठानले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । खड्काले धर्म कर्म संस्कृति हराई रहेको वेला राधाकृष्ण सास्कृति समुहले मौलिकतायुक्त प्राचीन संस्कृतिको जगेर्ना गरेको औल्याउँदै लोकसंस्कृति, धर्म, परम्परा जोगाउनु सबैको दायित्व भएको बताए ।
कार्यक्रममा रुपा गाउँपालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङले धर्म संस्कृति हाम्रा सम्पत्ति भएको बताउँदै जगेर्ना गर्नुपर्नेमा जोड दिएकी थिइन् । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बाबुराम गिरी, वडा नम्बर ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारी, वडा नम्बर ३२ का वडा सदस्य तीर्थबहादुर सुयाल, राधाकृष्ण मन्दिरका अध्यक्ष गणेश खत्री लगायतले धर्म र संस्कृतिका वारेमा बोलेका थिए । निर्णायकमा भुलाप्रसाद भण्डारी नेतृत्वको टिम थियो । कार्यक्रम सञ्चालन संस्थाका सहसचिव भरत थापा र सदस्य विनोद भण्डारीले गरेका थिए ।
तपाईको प्रतिक्रिया