सम्पादकीयः बाल सुधारगृह सपारौं
कारागार स्वयंलाई पनि सुधारगृह भनिन्छ । तर बिगारगृहजस्ता छन् हाम्रा कारागार । अपराधकर्म गरी कारागार परेको व्यक्ति निस्केपछि फेरि झन् ठूलो अपराधमा संलग्न भएका थुप्रै उदाहरण छन् । हाम्रो राज्यको ध्यान कारागार सुधार्न, सपार्न कहिल्यै गएन । जब कि दसकभन्दा बढी समय कारागार जीवन व्यतित गरेका व्यक्तिहरु नै थुपै्रपटक प्रधानमन्त्री नै भए । मन्त्री त कति कति ।
नेपालका कारागार हिटलरका ग्यास च्याम्बर नभए पनि उकुसमुकुस पार्ने तहमा छन्, र त्यहाँ पुगेपछि व्यक्तिले अपराधको आत्मवोध गरी सुध्रने र सप्रने वातावरण पाउँदैन । कहिले जेलमा मुठभेड हुन्छ, कहिले मारकाटै । जेलैभित्र ज्यान जाने अपराधकर्म भइरहेका छन् । त्यस्तो वातावरणमा १८ वर्षमुनिका बालबालिका त झन् राख्नै भएन । १८ वर्षमुनिका बालबालिकाले अपराध गर्दैनन्, उनीहरुले अन्जानमा कानुनीविवाद सामना गर्छन् भनिन्छ । त्यसैले उनीहरुले गरेका गैरकानुनी कर्मलाई अपराध नभनेर बालबिझ्याइँ भन्ने गरिएको छ ।
बालबालिकालाई अभियोग लागे छुट्टै बालइजलासमा बयान र बकपत्र गराइन्छ अदालतमा पनि । त्यो गोप्य हुन्छ । बालबालिकाको नाम हरबखत गोप्य नै रहन्छ । त्यो गोपनीयता किनभने भविष्यमा सोही कारण बालबालिकाको जीवनमा कुनै नकारात्मक असर नगरोस् । सार्वजनिक जीवन बाँच्न कठिन नहोस् । अनि त बालबिझ्याइँमा कारागारको सट्टा बाल सुधारगृह परिकल्पना गरिएको छ । बाल अधिकार ऐनले पनि बालबालिकाका अधिकार र यस्ता मुद्दा मामिलालाई सम्बोधन गरेको छ ।
बाल सुधारगृहमा पनि कारागारमा जस्तै समस्या छन् । क्षमताभन्दा तेब्बर, चौबर मानिस कोचाकोच राख्ने कारागारको जुन समस्या छ, बाल सुधारगृहमा पनि त्यस्तै छ । अनि बालकहरु न पढ्न पाउँछन्, न खेल्न पाउँछन् । १८ वर्ष कटिसकेका परिपक्कहरुलाई पनि बाल सुधारगृहमा राख्ने गरिएको छ, त्यसको नियमन भएको छैन । जसले गर्दा कलिला बालकहरुको वातावरण खल्बिलिने गरेको छ । अर्काेतिर सुरक्षा प्रबन्ध कमजोर छ । भक्तपुरको बाल सुधारगृहमा भदौ ३ गते झडप र मृत्यु त्यसैको परिणाम हो । यता पोखरामा पनि बालकहरु भागिरहने समस्या छ ।
त्यो सुरक्षा फितलो भएकै कारण हो । सुरक्षाभित्री र बाहिरी उत्तिकै महत्वपूर्ण छ, सुधारगृहभित्र मृत्युको घटना हुनु, त्यो पनि झडप लगायत कारणबाट भने त्यसलाई संवेदनशील मानिनुपर्छ । अर्काे त्यहाँबाट भाग्ने वातावरण हुनु पनि सुरक्षा प्रबन्ध गतिलो नहुनु नै हो । कारागार त सुधार्नै पर्छ नै, कम्तीमा त्यस्तो सुधार बाल सुधारगृहबाट गरे हुने हो । सुधारगृह परेका बालकहरुलाई पढाइलेखाइले मजबुद बनाउने, शिक्षा र संस्कारयुक्त बनाउने हो भने सुधारगृह उपलब्धिमूलक बन्छ ।
तपाईको प्रतिक्रिया