१४० कलाकारका चित्र प्रदर्शनीमा

समाधान संवाददाता २०८० भदौ २२ गते १३:०९

पोखरा ।

नगेन आर्ट एकेडेमी नेपालले पोखरामा १ महिने तेस्रो राष्ट्रिय चित्रकला प्रदर्शनी आयोजना गरेको छ । देशभरका १ सय ४० चित्रकारका विभिन्न प्रकारका चित्र प्रदर्शनीमा छन् । उक्त प्रदर्शनी बुधबार गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले सुरुआत गरे ।


मन्त्री थापाले विश्वशान्तिका पक्षमा कोरिएका यस्ता चित्रले ठूलो महत्व राख्ने जनाए । जसरी अरनिकोले चीनमा आफ्नो चित्रकलामार्फत नाम कमाए, त्यसरी नै नेपालका चित्रकारले पनि विश्वमा आफ्ना नाम कमाउन सक्ने बताउँदै उनले निरन्तरताको प्रयासबाट नै चित्रकारितामा निखरता आउने विश्वास व्यक्त गरे ।


देशमा सीपमूलक शिक्षा नभएकै कारण नेपाली युवा रोजगारीका लागि विदेश जानुपरेको उनको तर्क छ । मन्त्री थापाले दीगो पर्यटनका लागि आफूले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी जहाजले उडान भर्ने प्रयत्न भइरहेको उल्लेख गरे । आफ्नो मन्त्रालय अन्तर्गत निर्माण भएका वन ऐन पनि छिट्टै आउन लागेको उनले सुनाए ।


नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य बाबुराम गिरीले चित्रकै प्रभावले विभिन्न देशमा ठूला ठूला राजनीतिक परिवर्तन आएको बताउँदै एउटै चित्रबाट धेरै कुराको सन्देश दिन सकिने भएकाले संसारभरि चित्रकारिताको महत्व झनै बढ्दै गएको जनाए ।

Advertisement

तपाईको प्रतिक्रिया