कृष्ण भजनमा पाल्पा उत्कृष्ट

समाधान संवाददाता २०८० भदौ २२ गते १३:२४

पोखरा ।
पोखराको वाटुलेचौरमा आयोजना भएको खुल्ला कृष्ण भजन प्रतियोगितामा पाल्पाको धर्मोदय दशवतार वालन संस्कृत समूह प्रथम भएको छ ।


कृष्णजन्माष्टमीको अवसरमा शुक्ला साहित्य प्रतिष्ठान पोखराले आयोजना गरेको प्रतियोगितामा देवीस्थान भजन समुह हेम्जा उत्कृष्ट दोस्रो, ईशानेश्वर भजन समूह उत्कृष्ट तेस्रो र ओमकारेश्वर भजन समूह फूलबारीले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

विगत २४ वर्षदेखि निरन्तर रुपमा गर्दै आएको प्रतियोगितामा उत्कृष्ट हुन सफल टोलीलाई नगद १ लाख, द्वितियलाई ७५ हजार, तृतीयलाई ५० हजार, सान्त्वना टोलीलाई २५ हजार र सहभागी २४ टिमलाई प्रोत्साहन स्वरुप नगद ५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको प्रतिष्ठानका सहसचिव एवं प्रचार प्रसार उपसमितिका संयोजक संजय थापाले जानकारी दिए । मध्यरातिसम्म चलेको प्रतियोगितामा सहभागी टिमले विभिन्न झाँकी र कृष्णलीलासमेत प्रस्तुत गरेका थिए ।

Advertisement


त्यसअघि कार्यक्रम उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले कला संस्कृतिबाटै मानव सभ्यताको विकास भएको बताइन् । प्रतिष्ठानका अध्यक्ष हरि बरुवालको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक दुर्गादेवी बस्नेतले कला, संस्कृति तथा साहित्य उत्थानमा प्रतिष्ठान सदैव अग्रसर हुने बताइन् ।

प्रतियोगितामा सहभागी टोलीको मूल्यांकन संयोजक सिर्जना थापा, संस्कृतिविद् डा. कुसुमाकर न्यौपाने र सहप्राध्यापक अम्बिका प्रा भट्टराईले गरेका थिए । कार्यक्रमको सञ्चालन दोहोरी गायक प्रजापति पराजुलीले गरेका थिए । कार्यक्रममा ई महेन्द्र बानियाँ सहित विभिन्न सहयोगदातालाई सम्मान गरिएको छ ।

Advertisement


गत ३ वर्ष कोभिड महामारीका कारण जन्माष्टमी र भजन रोकिएकोमा यस वर्षदेखि पुन सञ्चालन गरिएको प्रतिष्ठानका अध्यक्ष बरुवालले जानकारी दिए । प्रतियोगितामा कास्की, स्याङ्जा, बागलुङ, पाल्पा लगायत जिल्लाबाट पनि भजन टोली सहभागी भएका थिए ।

कार्यक्रम हेर्न महेन्द्र गुफा तथा चमेरे गुफा हेर्न पुगेका विदेशी पर्यटकसमेत पुगेका थिए । २०४५ सालमा जनकवि केशरी धर्मराज थापाको नेतृत्वमा स्थापना भएको प्रतिष्ठानले पोखरामा साहित्य, कला र संस्कृतिका क्षेत्रमा काम गर्दैै आइरहेको छ ।

तपाईको प्रतिक्रिया