वारागुङ मुक्तिक्षेत्रमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल

समाधान संवाददाता २०८० भदौ २२ गते १९:१०

जोमसोम— मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—२ झोङमा आयोजित पाँचौं यार्तुङ महोत्सवमा कर्मचारीको टिम सेभेन ए साईड फुटबलको उपाधि कर्मचारीको टोलीले जितेको छ । शुक्रबारदेखि सुरु भएको यार्तुङमहोत्सवमा सेभेन ए साईड मैत्री पूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको थियो ।
मैत्री पूर्ण सेभेन ए साईड फुटबल प्रतियोगितामा वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको टिम आमने—सामने प्रतिस्पर्धा गरेका थिए ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको आर्थिक सहयोगमा संञ्चालित यार्तुङ महोत्सव आयोजनाको जिम्मा वारागुङ—२ झोङले पाएको थियो । वारागुङ मुक्तिक्षेत्रमा गाउँपालिकाको आर्थिक सहयोगमा बर्सेनि विभिन्न गाउँहरुले आलोपालो महोत्सव संञ्चालन गर्ने गरेका छन् । वारागुङ—२ झोङ वडा कार्यालयको आयोजनामा भएको मैत्री पूर्ण सेभेन ए साईड फुटबल प्रतियोगितामा जनप्रतिनिधिको टिमलाई (३—०) गोल अन्तरले हराउँदै कर्मचारीको टिमले उपाधि रक्षा गरेको हो । झोङ खेल मैदानमा भएको खेलको निर्धारित (१५—१५) मिनेटमा दुबै टिमबीच गोलरहित बराबरी भएपछि खेल टाईब्रेकरमा पुगेको थियो ।

जनप्रतिनिधि र कर्मचारीबीचको सुमधुर सम्वन्धलाई खेलका माध्यमबाट थप प्रगाढ बनाउन यार्तुङ महोत्सवमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको वारागुङ मुक्तिक्षेत्र—२ का वडाध्यक्ष न्होरु गुरुङले जानकारी दिए । वडाध्यक्ष गुरुङले हिमाली समुदाय अन्तर्गत गुरुङ समुदायको महत्वपूर्ण पर्व यार्तुङका अवसरमा बर्सेनि विविध कार्यक्रम आयोजना हुँदैआईरहेको बताए ।
यार्तुङ महोत्सवलाई वारागुङ मुक्तिक्षेत्रले बर्सेनि १० लाख बजेट विनियोजन गर्दैआईरहेको गाउँपालिका अध्यक्ष रिङझिङ नाम्गेल गुरुङले जानकारी दिए ।

झोङ गाउँमा आयोजित पाँचौ यार्तुङ महोत्सव २०८० को शुक्रबार जिसस प्रमुख माया गुरुङले दीप प्रज्वलन गरी उद्घाटन गरिन । पालिका अध्यक्ष रिङझिङ नाम्गेल गुरुङले खेलको झन्डोक्तलन गरी खेल सुभारम्भ गरेको वारागुङ मुक्तिक्षेत्रका स्वास्थ्य संयोजक खगेन्द्र बोहोराले जानकारी दिए ।
शुक्रबारदेखि सुरु यार्तुङ महोत्सव सोमबारसम्म संञ्चालन हुने बताईएको छ । यार्तुङ महोत्सव घोडा दौड प्रतियोगिता,तारो हान्ने खेल,सेभेन ए साईड फुटबल र तोरी तान्ने खेलहरु संञ्चालन हुनेछ । महोत्सवका अवसरमा साँझ विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना हुने बताईएको छ ।
बर्सेनि बर्खायामको खेतीपातीको कामकाज सकेर हिउँदयामको फुर्सदिलो महिनामा हिमाली क्षेत्रका बासिन्दाले यार्तुङ महोत्सव मनाउँने गर्छन । यार्तुङ पर्वसंगै हिउँदयाम सुरु भयो भन्ने बुझिन्छ ।

Advertisement

तपाईको प्रतिक्रिया