पोखरा विमानस्थलमा पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान

समाधान संवाददाता २०८० भदौ २४ गते ११:१७

पोखरा ।
भुटानको पारो विमानस्थलबाट ३ जना यात्रु लिएर उडेको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड भयो । बिहान ५ः५५ बजे उडेको ड्ुक एअरको जहाज ६ः४० मा पोखरामा ल्यान्ड भएको हो । सोही जहाज पोखरा विमानस्थलबाट जहाज ४२ अमेरिकी पर्यटक बोकेर सबा ८ मा भुटानको थिम्पु फर्किएको विमानस्थल प्रमुख देवेन्द्रलाल कर्णले जानकारी दिए ।


‘भुटानबाट आएर पोखरा विमानस्थलमा अवतरण भएको ड्रुक एयरको विमानमा ३ जना यात्रु थिए, यहाँबाट ४२ जना गए । यो पोखरा अवतरण भएको पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान हो,’ उनले भने । कर्णले भुटानबाट चार्टर उडान भए पनि पोखरा विमानस्थललाई तिर्नुपर्ने रकम तिरेकाले पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएको सुनाए । नेपाल नगारिक उड्डयन प्राधिकरणको नियम अनुसार अन्तर्राष्ट्रिय उडान गर्दा प्रतियात्रु ३ हजार रूपैयाँ र ग्राउन्ड ह्याण्डलिङको शुल्क ड्रुक एयरले तिरेको थियो ।


पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न पोखरामा पर्यटक आगमन बढाउनुपर्नेमा विमानस्थल प्रमुख कर्णले जोड दिए । पर्यटकीय गतिविधि बढाउनुपर्ने र नियमित पोखरा आउजाउ गर्ने यात्रु बढ्दा मात्र नियमित अन्तर्राष्ट्रिय उडान हुन सक्ने उनले सुनाए ।

Advertisement


भुटानबाट पोखरा आएका यात्रुहरुमा नेपाली, अमेरिकी र भियतनामी १–१ जना थिए । पोखराबाट भुटान जाने पर्यटनमा अमेरिकी, क्यानेडेली र भारतीय पर्यटक छन् । भुटानबाट पोखरा आएका पर्यटक र भुटान जाने पर्यटकलाई पोखरा पर्यटन परिषदले एयरपोर्टमा स्वागत र विदाइ गरेको थियो ।


परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानको सुरूआत नेपाल एयरलायन्सले गर्नुपर्ने बताए । उनले भने, ‘पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट चल्छ भनेर हामीले धेरै लगानी गरेका छौं, यसलाई चलाउनुपर्छ । नेपाल एयरलायन्सले नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरोस् ।’

Advertisement


पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न विभिन्न देशसँग कूटनीतिक पहल भइरहेको पोखरा महानगरका मेयर धनराज आचार्यले बताए । नेपाल सरकारले भारत र चीनसँग कूटनीतिक पहल गरिरहेको उनले सुनाए । पोखरामा पर्यटकीय गतिविधि बढाउन आपूmहरु गम्भीर रहेको उनको दाबी थियो ।


यसअघि असार ६ गते सिचुआन एयरलाइन्सको एयरबस ए ३१९ जहाजले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टडर उडान गरेको थियो । असार ८ र ९ गते पोखरामा दक्षिण एसियामै पहिलोपटक आयोजना गरिएको ‘नेपाल–चीन ड्रागन बोटरेस फेस्टिबल’मा सहभागी हुन आएका खेलाडी र चिनियाँ पाहुना लिएर आएको जहाज फर्कंदा खाली फर्किएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत पुस १७ गते उदघाटन गरेको उक्त विमानस्थलबाट हालसम्म यी २ चार्टड उडानमा सीमित छ । हालसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।


पोखरा महानगरपालिका वडा नम्बर १४ मा चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईले ०७३ साउन १८ गतेदेखि विमानस्थल निर्माणको काम सुरु गरेको थियो । विमानस्थल निर्माण गर्न सरकारले सन् २०१४ मे १२ मा सीएएमसीईलाई ठेक्का दिएको थियो। सन् २०२१ को जुलाई १० मा सक्नुपर्ने सम्झौता भए पनि तोकिएको समय सीमाभन्दा ६ महिनाअघि नै सक्ने लक्ष्यका साथ योजनाको काम भइरहेको थियो । कोभिडका कारण विमानस्थल निर्माण ढिला पूरा भएको हो ।


अन्तर्राष्ट्रिय उड्डयन संस्था (आइकाओ)को मादण्डअनुसार फोरडी मोडलमा बनेको पोखरा विमानस्थलमा बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आउजाउ गर्न सक्नेछन् । करिब ३ हजार ९०० रोपनी क्षेत्रफलमा फैलिएको यो विमानस्थलमा २ हजार ५ सय मिटरको धावनमार्ग र ४५ मिटर चौडाइ तथा धावनमार्गको मोटाइ ३४ सेन्टी मिटर छ । एटीसी टावर, सातवटा भवन, एउटा ह्यांगर पनि निर्माण गरिएको छ । चिनियाँ ऋण सहयोगको २२ अर्ब रुपैयाँमा पोखरा विमानस्थल निर्माण भएको हो ।

तपाईको प्रतिक्रिया