गुरु दक्षिणाबाट ८ लाखको अक्षयकोष
पोखरा ।
नेपाल रेडक्रस सोसाइटी कास्की शाखा अध्यक्ष दण्डराज शर्माले पर्वतको मोदी गाउँपालिका राम्जाठाँटीस्थित पशुपति माध्यमिक विद्यालयका लागि ८ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका छन् ।
उक्त विद्यालयमा झण्डै २ दशक प्रधानाध्यापक रहेका शर्माले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिन शर्माले अक्षय कोष स्थापना गरेका हुन् । ‘भूतपूर्व प्राधानाध्यापक दण्डराज शर्मा गरिब तथा जेहेन्दार छात्रवृत्ति’ नामक अक्षय कोषबाट प्राप्त ब्याजबाट सोही विद्यालयमा पढ्ने गरिब र जेहेन्दार विद्यार्थीलाई सहयोग गरिनेछ ।
गत शुक्रबार विद्यालयकै प्रांगणमा आयोजित समारोहमा शर्माले उक्त रकम विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्षलाई हस्तान्तरण गरे । कार्यक्रममा गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडा उपस्थित थिइन् ।
२०३० देखि ०४८ सम्म उक्त विद्यालयका प्रधानाध्यापक रहेका शर्मालाई राम्जाबासी अझै हेडसर भनेरै सम्मान गर्छन् । पढाउन छाडेको ३२ वर्षपछि शुक्रबार परिसरमा पुग्दा अघिकांश अभिभावक र विद्यालयमा अध्यापनरत शिक्षकले उनलाई ‘हेडसर’ नै सम्बोधन गरे ।
अक्षय कोष स्थापना गर्न पनि आफैंले पढाएका विद्यार्थीले सहयोग गरेको शर्माले सुनाए । अघिल्लो वर्ष बेलायत घुम्न गएका शर्मालाई हाल बेलायतमै बसोबास गर्ने उनका विद्यार्थीले सम्मान गर्न कार्यक्रम आयोजना गरेका थिए । सोही कार्यक्रममा आफ्ना गुरुलाई जीवनपर्यन्त स्मरणीय बनाउने उद्देश्यसहित विद्यार्थीले रकम संकलन गरेका थिए । बेलायतमा आफ्ना विद्यार्थीले जुटाएको राशिमा परिवारका सदस्यबाट पनि केही रकम थपेर ८ लाखको अक्षय कोष स्थापना गरेको शर्माले उल्लेख गरे ।
‘मेरा विद्यार्थीले यो रकमको सदुपयोग कसरी गर्ने आफैं निर्णय गर्नुस् भनेर रकम हस्तान्तरण गरेका थिए,’ शर्माले भने, ‘मैले यही विद्यालयलाई सहयोग गर्ने निर्णय लिएँ ।’ कास्कीको सल्यानमा जन्मिएका शर्मा हाल पोखरामा बस्छन् ।
अक्षय कोष स्थापना गरिदिने शर्मालाई गण्डकी प्रदेशकी मन्त्री सिम्खडाले दोसल्ला ओढाएर अभिनन्दन गरिन् । उनले नेपाली समाजको विकासमा शिक्षकहरुको ठूलो भुमिका रहेको जनाइन् । शिक्षकको सहयोगबिना परिवर्तनका लागि भएका आन्दोलन सफल नहुने चर्चा गर्दै मन्त्री सिम्खडाले पर्वतको शैक्षिक विकासमा शर्माको ठूलो योगदान रहेको उल्लेख गरिन् ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य धुव्रबहादुर कुँवर, मोदी गाउँपालिका अध्यक्ष हिरादेवी शर्मा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष गुप्तबहादुर हमाल लगायतले पूर्व प्रधानाध्यापक शर्माको योगदानबारे चर्चा गरेका थिए ।
तपाईको प्रतिक्रिया