सम्पादकीय: सहकारी कि सकसकारी

समाधान संवाददाता २०८० भदौ २४ गते १२:०३

ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली अध्यक्ष रहेको सहकारी इमेलमा बचत गरेकाहरुको अहिले कन्तबिजोग भएको छ । नेपाली भने फरार छन् । २ अर्ब रुपैयाँ जति अपचलनको प्रारम्भिक अनुमान गरिएकोमा साढे ५ सय जनाले कास्कीबाटै उजुरी दिएका छन् । त्योभन्दा बढी संख्या बागलुङको छ । यसै पनि उक्त सहकारीको आधार ठाउँ भनेकै बागलुङ हो । जति पनि सर्वसाधारणको पैसा त्यो सहकारीमा थियो, अधिकांश दुखजिलो गरी पैसा बचत गरेकाहरुको थियो । अस्पतालमा सरसफाइको काम गरेर, सडक बढार्ने काम गरेर एकएक पैसा जम्मा गरेकाहरुको बचतको हिनाहिना भएकै कारण फिर्ता गर्न सहकारी असमर्थ भयो । प्रारम्भिक अनुमान के हो भने अध्यक्ष मेयर नेपालीले सर्वसाधारणको बचतको पैसा जति जग्गामा लगानी गरे, जो डुब्यो ।


सहकारीको कुनै अनुगमन र निरीक्षण नहुने हुँदा बचतको सुरक्षा हुन सकेन । यसको पहिलो दोषी राज्य हो अनि अध्यक्ष नेपाली । त्यसो त इमान्दारीपूर्व अर्काको पैसा सुरक्षित गरिदिने कर्तव्य नेपालीले निर्वाह गर्नैपथ्यो । तर कुन सहकारीमा कसको कति बचत छ, त्यो सहकारीले कहाँ ऋण लगानी गरेको छ भनेर नियमन गर्ने सरकारी निकाय नै भएन । केवल सर्वसाधारणले विश्वासका भरमा मात्रै सहकारीमा पैसा बचत गरे । सरकारले बचत तथा ऋण सहकारीहरुलाई छाडा छाडेकै हो । यस्तो हिनामिना र अपचलनको दृष्टान्त इमेलमात्रै होइन । देशभरका ३० हजार सहकारीमध्ये ७५ प्रतिशतभन्दा बढीमा अहिले बचत फिर्ता गर्नै नसक्ने समस्या निम्तनु भनेको राज्यले गरेको हेलचक्र्याइँको प्रतिफल हो ।


बचत तथा कर्जा सुरक्षा कोषको व्यवस्था गरिनुपर्छ, तब सरकारसँग एकीकृत सूचना रहन्छ । अर्काेतिर लगानी कहाँ किन भइरहेको छ भन्ने अनुगमन पनि हुनुपर्छ । फाइनान्स र विकास बैंकभन्दा पनि बढी निक्षेप संकलन र ऋण लगानी सहकारीलाई दिन पनि हुँदैनथ्यो । त्यति क्षमता भएकालाई त फाइनान्सकै अनुमति दिए भयो, विकास बैंक बन्न दिए भयो । सहकारीको अवधारणा भनेको पैसाले पैसा कमाउने पनि होइन । उत्पादनसँग पो सहकारीलाई जोड्नुपर्ने हो । तर पैसाले पैसा कमाउने खेलाको रुपमा सहकारीहरु फस्टाए । सञ्चालकहरुका हालिमुहाली भयो ।

केही गतिला सहकारीहरुलाई पनि अहिले हेर्ने नजर बिग्रियो । इमान्दारी र नैतिकता भएकाहरुले त आज पनि राम्रै गरेका छन् । तर, त्यस्ता अति कम छन् । अब सरकारले सहकारी सम्बन्धी ऐनमै परिमार्जन गरी कडा नियमनको व्यवस्था गर्नुपर्छ । सहकारी सर्वसाधारणका लागि सकसकारी बन्न दिनु हुँदैन । सहकारीमा लगाम जरुरी छ । भागेका इमेजका अध्यक्ष र अरु पनि त्यस्तै सबैलाई प्रहरीमार्फत पक्राउ गरी कानुनी कारबाहीमा ल्याउनुपर्छ । सबैभन्दा पनि निरीह सोझासादा सर्वसाधारणको बचत फिर्ता गराउनुपर्छ ।

Advertisement

तपाईको प्रतिक्रिया