विश्व प्राथमिक उपचार दिवस २०२३
प्रविधि र प्राथमिक उपचार
२१ औं शताब्दी विज्ञान र प्रविधिको समय हो । हरेक क्षेत्रमा प्रविधिको प्रयोग बढेको छ । यसको प्रयोग स्वास्थ्य क्षेत्रमा अरु व्यापक बनेको छ । अहिलेको समय डिजिटलको समय हो । प्रविधिलाई अंगीकार गर्नु अहिलेका मानिसको बाध्यता हो । हरेक काममा प्रविधिको प्रयोग बढ्दो छ । रेडक्रसले स्थापना कालदेखि नै प्राथमिक उपचार सेवालाई आफ्नो महत्वपूर्ण कामको रूपमा स्वीकार्दै र सेवा प्रदान गर्दै आएको छ । रेडक्रसका प्राथमिक उपचार स्वयंसेवकहरूले कुनै पनि दुर्घटना वा रोगजन्य अवस्थामा घाइते वा बिरामीका लागि तत्काल उनीहरूको स्वास्थ्य बिग्रन नदिन, स्वास्थ्यमा सुधार ल्याउन प्राथमिक उपचार सेवा दिने गरेका छन् ।
बिरामी वा घाइतेलाई सेवा प्रदान गरेका छन्, स्याहार सुसार पु¥याउने गरेका छन् । कुनै पनि मानिस कुन बेला, कस्तो स्थानमा, कुन प्रकारको घाइते वा बिरामी हुन्छ, थाहा हुँदैन । त्यसैले कुनै पनि बेला कुनै पनि व्यक्तिलाई दक्ष चिकित्सा सेवा नपाइञ्जेलसम्म प्राथमिक उपचार सेवा आवश्यक पर्दछ । थाहा छैन, त्यो सेवा तपाईं हामीले नै लिनुपर्ने हो कि ! अनि प्राथमिक उपचार सेवा एउटा स्वयंसेवी कार्य हो । यस्तो सेवावापत प्राथमिक उपचारकले केही लाभको आशा गर्दैन ।
नेपाल रेडक्रसको प्राथमिक उपचार सेवाको कुरा गर्दा नियमित रूपमा सडक दुर्घटना, विभिन्न हुलचाल र दंगाको समयमा, नियमित मेला पर्वमा, जनजीवनका दैनिक घटनामा सेवा कार्य गर्दै आएको छ । २०४५/०४६ को जनआन्दोलन, २०५२ सालदेखिको माओवादीको युद्धका विभिन्न अवस्था र समयमा, त्यस्तै २०६२/२०६३ को जनआन्दोलन, त्यसपछिको मधेस–तराई आन्दोलन लगायतका घटनाहा नियमित रूपमा नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवकहरूले गरेको प्राथमिक उपचार कार्यको सर्वत्र चर्चा भएको थियो ।
रक्तस्राव, श्वासप्रश्वासका समस्या, बेहोसी लगायतमा प्राथमिक उपचारबाट जीवन जोगाउन सकिन्छ
प्राथमिक उपचार सेवा प्रदान गर्न कुनै पनि व्यक्तिलाई प्राथमिक उपचार सेवासम्बन्धी ज्ञान, सीप र अवधारणा आवश्यकता पर्दछ । त्यस्तो ज्ञान, सीप नेपालमा विद्यालयको पाठ्यक्रममा प्रयाप्त छैन, उसलाई थप ज्ञान, सीप प्रदान गरिनुपर्दछ । सके त हरेक व्यक्तिले प्राथमिक उपचार सेवासम्बन्धी आधारभूत ज्ञान, सीप र अवधारणाको न्यूनतम जानकारी हुनु आवश्यकता हुन्छ । त्यस्तो ज्ञान, सीप हरेक घर–घरमा पु¥याउनु आवश्यक छ । हरेक विद्यालयमा, हरेक विद्यार्थी र शिक्षकसम्म पु¥याउनु आवश्यक छ । त्यस्तै खेल मैदानमा हरेक खेलाडी र खेल प्रशिक्षकसम्म पुर्याउनु आवश्यक छ ।
भान्छामा गृहणीदेखि उद्योगधन्दा र कल–कारखानाका हरेक मजदूर कर्मचारीसम्म पुर्याउनु आवश्यक छ । पदयात्रामा हिँड्ने यात्रीदेखि सवारी चालकसम्म पनि पु¥याउनु आवश्यक छ । यसरी हेर्दा ठूला–साना विपद्, विभिन्न खालका दूर्घटनामा मात्र प्राथमिक उपचारको खाँचो नभई सबै क्षेत्र र सबै समयमा आवश्यक हुन सक्छ ।
नेपाल रेडक्रसले न्यूनतम रूपमा प्राथमिक उपचार सेवासम्बन्धी विद्यालयका विद्यार्थीका लागि २ दिनको स्क्ुल प्राथमिक उपचार पाठ्यक्रम तयार गरी तालिम दिँदै आएको छ । समुदायका विभिन्न क्षेत्र र निकायमा आवश्यकता अनुसार ४ दिनको आधारभूत प्राथमिक उपचार पाठ्यक्रम तयार गरी तालिम दिँदै आएको छ । अन्य छोटो र क्षेत्रगत विषयमा चाहिनेका लागि थप टेलर कोर्षका पाठ्यक्रमहरू पनि तयार गरी आधा दिन, एक दिन वा आवश्यकता अनुसार तालिम दिने गरेको छ । अनि सिपिआर तालिम हरेक व्यक्तिको लागि दिनु आवश्यक छ ।
यस्तो तालिम प्रदान गर्न स्रोतको अभावमा समुदायको माग अनुसार पुर्याउन सकिरहेको छैन । नेपाल रेडक्रस र यसका प्रदेश, जिल्ला र उपशाखाहरूले पालिका सरकार, प्रदेश सरकार, संघीय सरकार र अन्य संघ, संस्था, निकाय र व्यक्तिसँग पनि साझेदारीका लागि अनुरोध गर्दै आएका छन् । कम्तीमा, घर घरमा प्राथमिक उपचारको अवधारणा अनुसार जनशक्ति तयार गरी परिचालनको आवश्यकता छ । अर्कोतिर त्यस्तो तालिम, ज्ञान, सीप दिन सक्दो प्रशिक्षक पनि तयार गरी वृद्धि गर्दै लैजानु आवश्यक हुन्छ । तालिम प्राप्त जनशक्तिलाई समय समयमा पुनर्ताजगी तालिम पनि आवश्यक हुन्छ । यी सबै आवश्यकता परिपूर्तिका लागि बढ्दो प्रविधिको प्रयोग गर्नु आवश्यक छ । प्रविधिको प्रयोग गर्दा व्यक्ति व्यक्तिसम्म आवश्यक परेको समयमा सहजता साथ पु¥याउन सहयोग पुग्दछ ।
पछिल्लो समयमा हरेक व्यक्तिका हातमा एन्ड्रोइड फोन छन्, घर घरमा ल्याप्टपको व्यवस्था र प्रयोग बढ्दै छ । अब विभिन्न मोबाइल एपमार्फत प्राथमिक उपचार सम्बन्धी ज्ञान, सीप र अवधारणा दिनु आवश्यकता छ । बढ्दो प्रविधिको प्रयोगलाई पनि प्राथमिक उपचारको ज्ञान, सीप दिने अनि प्राथमिक उपचार सेवा प्रदान गर्ने कार्यमा जोड्नु आवश्यकता छ । त्यसैले यस वर्षको विश्व प्राथमिक उपचार दिवसको नारा पनि ‘प्रविधिको युगमा प्राथमिक उपचार भन्ने तय गरिएको छ । प्राथमिक उपचारका गतिविधि र सेवाकार्यलाई व्यापक बनाउन हरेक वर्ष समसामयिक विषयवस्तुको नारा तय गर्ने गरिएको छ । जति अस्पताल बढ्दै जान्छन्, एम्बुलेन्स सेवा विस्तार हुन्छ, त्यति नै प्राथमिक उपचार सेवाको महत्व हुन्छ । अस्पतालको गेटमा पनि प्राथमिक उपचार सेवाको आवश्यकता र महत्व हुन्छ ।
नेपाल सरकारले पनि पछिल्लो समय प्राथमिक उपचारको महत्वलाई बुझी प्राथमिक उपचार तालिम पाठ्यक्रम तयार गर्दै छ । अझै यस क्षेत्रमा राज्यको ध्यान अरु जानु पर्दछ । सबै तहबाट प्राथमिक उपचार तालिमको लागि बर्सेनि व्यवस्था गर्नु आवश्यक छ, बजेट छुट्याउनुपर्ने हुन्छ । पहिला तालिम लिएका व्यक्तिलाई पुनर्ताजगी तालिमको आवश्यकता हुन्छ ।
तिनीहरूलाई समय समयमा सिमुलेसन अभ्यास गराई अभ्यासलाई निरन्तरता दिनुपर्दछ । त्यसका लागि पनि प्रविधिको प्रयोग गर्न सकिन्छ । घाइते वा बिरामीलाई उपलब्ध गराइने प्राथमिक उपचार सेवाले घाइते वा बिरामी चाँडो सन्चो हुने, उपचारको समय र खर्च कम लाग्ने हुन्छ । त्यस्तै, घाइते वा बिरामीले अस्पताल सेवा लिनुपूर्व नै हेरचाह र सहयोग पाउने हुँदा उसलाई सहज हुन्छ । प्राथमिक उपचार सेवा पाउनु घाइतेको अधिकार हो भने सेवा प्रदान गर्नु प्राथमिक उपचार स्वयंसेवकको कर्तव्य हो ।
प्राथमिक उपचार सेवालाई व्यापक बनाउन प्रविधि मैत्री प्राथमिक उपचार सेवालाई व्यापक बनाउनु पर्दछ । विश्व समुदायको कुनाकाप्चासम्म सहज सेवा पु¥याउने कार्यमा लागौँ अनि विश्वका कुनै पनि क्षेत्रमा रहेका प्राथमिक उपचार सेवाका आधारभूत ज्ञान, सीप र अवधारणामा आएका परिमार्जनलाई पनि डिजिटल माध्यमबाटै विश्वभरी छिटोभन्दा छिटो प्रयोगमा ल्याउन सहज हुनेछ । त्यसैले आजको विश्व जसरी प्रविधिको व्यापकता बढ्दै गएको छ, त्यसरी नै प्रथमिक उपचार ज्ञान, सीप प्रदान गर्न र प्राथमिक उपचार सेवालाई व्यापक बनाउन प्रविधिको प्रयोग अहिलेको समयमा अति महत्वपूर्ण र आवश्यक हुन्छ ।
अर्कोतर्फ सरकारले नीतिगत व्यवस्थामा पनि प्राथमिक उपचार, तालिम र सेवाकार्यलाई जोड्नु आवश्यक छ । प्राथमिक उपचार सेवा एउटा मानवीय सेवा हो, मानिसको जीवनसँग सम्बन्धित पक्ष हो र स्वास्थ्य सेवा हो । समयमै कुनै पनि घाइते वा बिरामीले सानो प्राथमिक उपचार सेवा पाउदा उसको जीवन बच्न सक्छ । रक्तस्रावको अवस्था, श्वासप्रश्वासको समस्या, बेहोसी लगायतमा सामान्य सहयोगबाट हुन सक्ने खतरा टर्न सक्छ । एउटा ठूलो रक्तस्रावको विरामीको रगत रोक्दा जीवन बच्न सक्दछ । त्यस्तै श्वासप्रश्वास रोकिएको, मुटुमा अवरोध आएको व्यक्तिलाई सामान्य सिपिआर प्रदान गर्दा उसको जीवन बाँच्न सक्छ । नाथ्रो फुटेको बेलामा के गर्ने भन्ने थाहा नभएर हामी अल्मलिरहेका हुन्छौं । हामी कुनै पनि स्वास्थ्य समस्या आउँदा सामानय ज्ञान सीपको अभावमा आतिइरहेका हुन्छौं । त्यस्तै मेरुदण्डको चोट लागेको व्यक्तिलाई सुुरक्षित तरिकाले अस्पताल पुर्याउँदा ऊ जीवनभर अपांगता हुनबाट जोगाउन सकिन्छ ।
यस्ता सबै खालका हेरचाह र सेवा गर्ने स्वयंसेवी प्राथमिक उपचार सेवा प्रदान गर्न आजको प्रविधिको प्रयोगलाई जोड गरौँ । समयको माग अनुसार प्राथमिक उपचार सेवालाई पनि जोडौँ, अनि मनैदेखि सेवा प्रदान गरौँ । राज्यका सबै निकाय, सामाजिक संघ, संस्था सबैको सहयोगमा अहिलेको प्रविधिलाई समेत प्रयोग गरी प्राथमिक उपचार गतिविधिलाई व्यापक बनाउन हरेक वर्षको सेप्टेम्बर महिनाको तेस्रो शनिबार विश्वभरि नै मनाउँदै गर्ने गरेको विश्व प्राथमिक उपचार दिवसका गतिविधिलाई व्यापक बनाउन पनि विकसित प्रविधिलाई जोडेर सबै व्यक्तिसम्म पुर्याऔं ।
ढकाल नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश अध्यक्ष हुन् ।
तपाईको प्रतिक्रिया