म्याराथनका लागि २४ उपसमिति
पोखरा ।
नेपाल भूतपूर्व खेलाडी मञ्चले बर्सेनि आयोजना गर्ने पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी सुरु भएको छ । १८ औं संस्करणको म्याराथनको तयारीका लागि २४ उपसमिति गठन गरिएको हो ।
यसपालिको म्याराथन आगामी फागुन ५ गते शनिबारलाई तय छ । आयोजक मञ्चको कार्यसमितिको बैठकले तयारी थालेको अध्यक्ष हरिप्रसाद पराजुलीले बताए । उनले पोखरा म्याराथनको तयारीसँगै खेलाडी दर्ता प्रक्रियासमेत थालेको जनाए ।
यो संस्करणको मुख्य संयोजकको जिम्मेवारी प्रथम उपाध्यक्ष दिलबहादुर गुरुङले पाएका छन् । सफल दूध मुख्य प्रायोजक रहेको पोखरा म्याराथनलाई गण्डकी प्रदेश सरकार, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, नेपाल ओलम्पिक कमिटी लगायतले साथ दिने भएका छन् ।
यसपालि खुलातर्फको प्रथम पुरस्का नगद ५ लाख पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी तुलसीकुमार गुरुङले प्रदान गर्ने घोषणा गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय म्याराथन म्याराथनहरुको अन्तर्राष्ट्रिय छाता संस्था ‘एम्स’मा दर्ता भएर विश्वको ध्यान खिचेको अध्यक्ष पराजुलीको दाबी छ । उनले पोखरा म्याराथनले खेलकुदमार्फत् पर्यटन प्रवद्र्धननमा समेत योगदान गरेको उल्लेख गरे ।
८ इभेन्टमा प्रतिस्पर्धा हुने म्याराथनमा ५० भन्दा बढी देशका धावक पोखरा आउने आयोजकले जनाएको छ ।
तपाईको प्रतिक्रिया