नाटक महोत्सवमा १५ नाटक
पोखरा ।
पोखरा थिएटरको आयोजनामा हुने विद्यालय नाटक महोत्सवको तयारी तीव्र पारिएको छ । महोत्सवमा मञ्चन हुने नाटकलाई प्रभावकारी बनाउन रिहर्सल जारी छ भने स्टेज र सेट डिजाइनसमेत हुँदै छ । भदौ २७ गतेदेखि सुरु हुने नाटक महोत्सवमा १५ नाटक मञ्चन हुने छन् ।
महोत्सवमा पोखरा महानगरपालिका भित्रका विद्यालयका १४ नाटक तथा अतिथि नाटकको रुपमा काठमाडौंबाट थप एक नाटक हेर्न पाइने पोखरा थिएटरका अध्यक्ष एवं महोत्सव संयोजक परिवर्तनले जनाए । पहिलो दिन २७ गते हिल पोइन्ट मावि पोखराको नाटक ‘शिलान्यास’ मञ्चन हुनेछ । रमेश तिमल्सिनाले निर्देशन गर्ने यो नाटकका लेखक भीमनिधि तिवारी हुन् ।
२८ गते नवदीप बोर्डिङ स्कुलको ‘म..म..म..म..भुत’ नाटक हेर्न पाइनेछ । सरुभक्तले लेखेको नाटक दिप्सना विश्वकर्माको निर्देशनमा तयार हुँदै छ । त्यसको भोलिपल्ट प्रगति मावि बाटुलेचौरको ‘भोला’ नाटकको पालो छ । टंक चौालगाईले लेखेको नाटक मीना भण्डारीको निर्देशनमा तयार हुँदै छ ।
३० गते ‘कोही किन बर्बाद होस्’ नाटक सोसल पब्लिक स्कुल बुद्धचोकले मञ्चन गर्नेछ । विजय मल्लको यो पुरानो नाटक धनकाजी श्रेष्ठको निर्देशनमा तयार हुनेछ । भदौ ३१ गते भानुभक्त आवासीय मावि सिम्पानीको ‘अँध्यारामा बाँच्नेहरु’ नाटकको पालो परेको छ । मानबहादुर मुखियाको नाटक मनोज अधिकारीले निर्देशन गर्ने छन् ।
असोज ३ गते अतिथि नाटक देखाइनेछ । काठमाडौं प्रज्ञा कुञ्ज स्कुलको नाटक ‘खेल्ने बेला खेल्छौं, पढ्ने बेला पढ्छौ’ टंक चौलागाईको लेखन निर्देशनमा हेर्न पाइनेछ । असोज ४ गते गुरुकुल विद्यासदन नयाँबजारको कीर्तिपुरको ‘युद्धमा’ नाटक मञ्चन हुनेछ । हृदयचन्द्र सिंह प्रधानले लेखेको नाटक मिलन श्रेष्ठले निर्देशन गर्दै छन् ।
असोज ५ गते ‘मुना मदन’ नाटक माउ्न्ट अन्नपूर्ण मावि नदिपुरले मञ्चन गर्नेछ । लक्ष्मीप्रसाद देवकोटाले लेखेको खण्डकाव्य सोनिका कार्की खत्रीको नाट्य रुपमान्तरण र निर्देशनमा हेर्न पाइनेछ ।
असोज ६ गते बाल मन्दिर मावि नदिपुरको ‘पाठशाला’को पालो छ । टंक चौलागाई लेखक रहेको नाटक सुसन पौडेलले निर्देशन गर्दै छन् । ७ गते ‘आँधीको मनोरम नृत्य’ नाटक भाष्कर मेमोरियल स्कुल फूलबारीले देखाउनेछ । घिमिरे युवराजले लेखेको नाटक रोशनी रामदामले निर्देशन गर्ने छिन् ।
असोज ८ गते ‘हिउँजस्तो गोरी’ नाटक सनफ्लावर बोर्डिङ स्कुल अर्चलबोटले मञ्चन गर्नेछ । यो नाटक नाट्य रुपान्तरण दिप्सना विश्वकर्माले गरेकी छन् भने निर्देशन दिलीप देवकोटाले गर्दै छन् । असोज ९ गते केफ मावि सिम्पानीको ‘कर्मको फल’ नाटकको पालो परेको छ । भानुभक्त अविरलले लेखेको नाटक रोहित पौडेलले निर्देशन गर्दै छन् ।
असोज १० गते ‘यति’ नाटक हेर्न पाइनेछ । छोरेपाटन मावि छोरेपाटनले सरुभक्तले लेखेको नाटक अनुषा परियारको निर्देशनमा मञ्चन गर्नेछ । ११ गते एसओएस हर्मन माइनर स्कुल पोखराको ‘बिर्सन नसकिने मान्छे’ नाटक हेर्न पाइन्छ । अमृत परियारले निर्देशन गर्ने यो नाटकको लेखक वासुशशि हुन् ।
महोत्सवको अन्तिम दिन असोज १२ गते कास्की मोडनाइज्ड एकेडेमीको नाटक ‘मसान’ हेर्न पाइनेछ । अञ्जु दाहालको निर्देशनमा तयार हुने नाटकका लेखक गोपालप्रसाद रिमाल हुन् । सबै नाटक दिउँसो साढे १ बजे गन्धर्व नाटकघर ग्रैहापाटन मञ्चन हुने छन् । पाँचौं संस्करणको विद्यालय नाटक महोत्सव नारा ‘शिक्षण विधिको रुपमा विद्यालयमा नाटक’ तय गरिएको छ ।
तपाईको प्रतिक्रिया