पोखरा आइपुग्यो ‘यादको कोलाज’

समाधान संवाददाता २०८० भदौ २४ गते १३:३५

पोखरा ।
लेखक अमृत क्षेत्रीको दोस्रो कृति ‘यादको कोलाज’ पोखरामा गृहलोकार्पण भएको छ । संस्मरणात्मक कृति यादको कोलाजमा लेखकले १२ उपशीर्षकमा भारत र नेपालका विभिन्न परिवेश र आफ्नो जीवन समेटेका छन् ।


पर्वतमा जन्मिएका क्षेत्री पृथ्वीनारायण क्याम्पसमा अध्ययन गर्दा गर्दै नेपाली सेनामा भर्ती भएपछि भारत गएका थिए । सेवानिवृत्त भएपछि फर्किएका उनको यसअघि एकान्त भीड नामको कविता संग्रह प्रकाशित छ । समालोचक विष्णुप्रसाद शर्मा ‘यादको कोलाज’मा सैन्य जीवनका अनुभूति, प्रकृतिचित्रण, समाज र जीवनको सम्बन्धन, प्रेम, औपचारिक शिक्षाप्रतिको अनुराग विजिगीषा लगायतका पक्ष रहेको बताउँछन् ।


नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरूभक्तले कृतिको गृहलोकार्पण गरे । सरूभक्तले विभिन्न पेसामा लामो समय बिताएका र जीवनमा फरक अनुभूति बोकेका व्यक्तित्व साहित्य क्षेत्रमा प्रवेश गर्दा साहित्य निकै बलियो हुने जनाए । लाहुरे पेसासँग नेपाली जीवनको नजिकको साइनो रहेको र अमृतको आगमनपछि पोखराबाट नेपाली साहित्यले पनि लाहुरे जीवनलाई प्रवेश गराएको उनले उल्लेख गरे ।


समीक्षक जीवनसागर भण्डारीले कृतिमा लाहुरे जीवनको प्रतिबिम्ब भएको सुनाए । ‘लाहुरे जीवनमा रहेको कडा अनुशासनको कारुणिक वर्णन कृतिमा छ,’ उनले भने, ‘काव्यात्मक भाषाशैलीमा जीवनका भोगाइ र जीवन, जगत्, वस्तु र सत्यलाई फरक तरिकाले व्याख्या गर्ने काम लेखक अमृतले गरेका छन् ।’


लेखक अमृतले आफ्नो साहित्य लेखनमा रुचि सानैदेखि रहेको र विषयहरूले नै लेखाउँदै लगेको विचार उल्लेख गरे । कार्यक्रममा विश्लेषक विश्व सिग्देल, कवि रीता अधिकारी ‘ऋतु’, पुछारसिटे अभियानका सल्लाहकार लक्ष्मण थापा, माया पब्लिकेसनका प्रबन्ध निर्देशक विनय दत्त, अभियन्ता मोहन भण्डारी, अभियानका संयोजक सञ्जीव पौडेल, अभियन्ता श्रीराम अधिकारी ‘गोर्जे’ लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया