पोखरामा बालन नाच

समाधान संवाददाता २०८० भदौ २४ गते १५:३२

पोखरा ।

पोखरामा श्रीकृष्ण लीला (बालन नाच) प्रदर्शन गरिएको छ । हराउँदै गएको नाच संरक्षण गर्ने उद्देश्यले पोखरा सभागृहमा नाच प्रदर्शन गरिएको हो । भजन चुड्का संरक्षण प्रतिष्ठानको आयोजनामा भएको यो कार्यक्रममा बालन नाच कला प्रतिष्ठानका ६० कलाकारले प्रस्तुति राखेको आयोजक संस्थाका अध्यक्ष कृष्णप्रसाद गौतमले बताए ।


प्रवेश निःशुल्क रहेको यो कार्यक्रम हेर्न उल्लेख्य संख्यामा दर्शक पुगेका थिए । भगवान् कृष्णको जन्मदेखि राक्षसकंसको अन्त्यसम्मको कथा कार्यक्रममा प्रस्तुत गर्दा दर्शकले श्रीकृष्ण लीलाको बारेमा नजिकबाट बुझ्न पाएको आयोजकको दाबी छ । यसले नयाँ पुस्तामा संस्कृति हस्तान्तरण सहयोग मिल्ने बताइन्छ ।


लगातार ४ घण्टासम्म सञ्चालन भएको कार्यक्रम हेर्न पुगेकी गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडा, प्रदेश सभा सदस्य प्रकाश बराल, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ, पोखरा प्रज्ञा प्रतिष्ठानका कार्यवहाक कुलपति जीवन दाहाल, विश्व हिन्दू परिषद केन्द्रीय महासचिव जीतेन्द्र सिंह लगायतले कार्यक्रममा प्रशंसा गरे ।


कार्यक्रममा अग्रज गायिका सत्यदेवी बराललाई सम्मान गरियो । कार्यक्रम संयोजक किरण दाहालको अध्यक्षतामा भएको कार्यक्रममा कृष्णप्रसाद गौतमले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया