प्रदीप गिरी गृहस्थ सन्यासीः सिग्देल

समाधान संवाददाता २०८० भदौ २५ गते १२:१६

पोखरा ।
विपी जयन्तीको अवसरमा नेपाली लेखक संघ, कास्कीले कांग्रेस नेता प्रदीप गिरीको योगदानबारे बिमर्श गरेको छ । १ सय १० औं बिपी जयन्तीको अवसरमा संघ कास्कीले ‘प्रदीप गिरीः अध्यात्मदेखि माक्र्सवादसम्म’ कार्यक्रम आयोजना गरेको हो ।


कार्यक्रममा विश्लेषक विश्व सिग्देलले विपी र प्रदीप गिरीलाई सँगसँगै सम्झिए । सिग्देलले प्रदीप गिरीको व्यक्तित्व, अध्ययन र त्यसको गहनताबारे उल्लेख गर्दै गए । गिरी सन्यासी परम्पराका व्यक्तित्व भएको उल्लेख गर्दै सिग्देलले त्यसमाथि पनि गृहस्थ सन्यासीका रूपमा उनलाई बुझ्नुपर्ने सुनाए ।


‘व्यक्तित्व, चरित्र, विचार र आचरणले पनि गिरी एक फकिर हुन्,’ उनले भने । फकिर चरित्रको अराजक व्यक्ति हुँदाहुँदै पनि उनको असाधारण बौद्धिकता कांग्रेसलाई आवश्यक भएकाले मात्रै उनी कांग्रेसमा अटाइरहन सम्भव भएको सिग्देलको दाबी छ । विचारमा र कार्यशैलीमा पार्टीभित्र बेला बेला टकराव भइरहने गिरीले पार्टीको ह्विपसमेत नमान्ने गरेको सुनाए ।


अहिलेको संविधानलाई प्रजातान्त्रिक संविधान नभएको भन्दै पार्टीको बेवास्ता गर्दै गिरीले त्यसमा हस्ताक्षर गरेका थिएनन् । गिरी अराजक प्रवृत्तिको हुन सक्नुका पछाडि उनको अध्यात्मको गहन बुझाइ नै प्रमुख कारक रहेको सिग्देलले औँल्याए ।


अध्यात्म धर्मभन्दा निकै माथि रहेको र अध्यात्मवादी चिन्तन भएको मानिसले ससानो सम्प्रदायभन्दा पनि सिंगो विश्व मानव समुदायलाई आफ्नो जीवनसापेक्ष मान्ने उनको ठम्याइ छ । नेपाली माक्र्सवादी भनिनेहरूमा माक्र्सवादको बुझाइ नै निकै कमजोर रहेकोतर्फ संकेत गर्दै सिग्देलले भने, ‘अध्ययनमा निकै गहिराइसम्म पुग्ने कुरामा गिरीलाई नेपालको अर्को दोस्रो व्यक्तिले आजसम्म भेट्न सकेको छैन ।’

Advertisement


माक्र्सवादको असली अर्थ बुझ्नका लागि विश्वासिलो स्रोत व्यक्तिका रूपमा गिरी स्थापित थिए । राम्रो प्रजातन्त्रवादी बन्नका लागि पनि माक्र्सवाद एवं अन्य कम्युनिस्ट विचारधाराको राम्रो ज्ञान हुनु जरुरी भएको मान्यता राख्ने गिरीले माक्र्सवादमात्रै होइन, लेनिन, स्टालिनदेखि लिएर कम्युनिजमका केस्रा केलाएर अध्ययन गरेका थिए ।


माक्र्सवाद दर्शन भएको तर राजनीतिक चिन्तन नभएको ठहर छ सिग्देलको । रोजा लक्जेम्बर्गले सर्वहाराको पूर्ण अधिकार माग्दा लेनिनले उनलाई गद्दार घोषणा गरेको सन्दर्भ कोट्याउँदै माक्र्सवादका अनुयायीले माक्र्सको चिन्तनको अवमूल्यन गरेको बारेमा गिरीले प्रष्ट धारणा राख्ने गरेको सुनाए । हालको माक्र्सवादी समाजवाद युरो कम्युनिजमको निरन्तर रूपमात्रै भएको सिग्देलको तर्क छ ।


गिरीको बहुआयामिक व्यक्तित्वका अनेक पाटा र उनको गम्भीर चिन्तन क्षमतालाई वर्णन गर्न साधारण अध्ययन र सीमित समयमा असम्भव रहेको स्वीकार गर्दै सिग्दलले प्रदीप गिरी र उनको क्षमता एवं जीवनदर्शनबारेको दृष्टिकोण प्रष्ट पार्न लामो अनुसन्धान आवश्यक रहेको जनाए ।


कार्यक्रममा स्याङ्जाबाट पोखरा आइपुगेका साहित्यकार विश्वप्रेम अधिकारीले प्रदीप गिरी, आफूलगायत वनारसमा रहँदाका रोचक एवं गहन प्रसंगहरु प्रस्तुत गरे । गिरीलाई सुन्न वनारसका गल्लीमा उनी आउँदा गल्लीमा बस्ने प्रायः विद्यार्थी एकजुट हुने गरेको प्रसंग पनि उनले कोट्याए । तत्कालीन टिवाइसिएल गठन हुँदाको समय र त्यसपछि एक पत्रिकामा सम्पादकका रूपमा सँगै काम गरेको प्रसंग खोतल्दै अधिकारीले गिरीभित्र रहेको स्वच्छन्दताप्रेमी जीवनको आयामबारे प्रष्ट पारे ।


केही वर्षसँगै सक्रिय हुँदाका याद सम्झिँदै अधिकारीले गिरीको वैचारिक निष्ठा निकै महत्त्वपूर्ण र अचल रहेको उल्लेख गरे । कार्यक्रममा डा. भूमिराज बस्ताकोटी, शिव केसी, दीपेन्द्र श्रेष्ठ, चिरञ्जीवी शर्मा पौडेल, गीता लामिछाने, डा लक्ष्मीशरण अधिकारी लगायतले सहभागिता जनाएका थिए ।


चिन्तक प्रदीप गिरीको पहिलो स्मृति दिवस पनि भदौ महिना नै रहेकाले बिपी जयन्तीका अवसरमा गिरीको गहन चिन्तनमाथि केन्द्रित कार्यक्रम आयोजना गरिएको संस्थाकी अध्यक्ष रीता अधिकारी ‘ऋतु’ले बताइन् । संघले विगतदेखि नै विपी जयन्तीको अवसरमा बहसमूलक कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा संघ सचिव प्राञ्जल र उपाध्यक्ष कमल पौडेल ‘अथक’ले पनि बोलेका थिए ।

तपाईको प्रतिक्रिया