भदौ २९ देखि लामाचौरमा राष्ट्रिय भलिबल

पोखरा ।
हरितालिका तीजको अवसरमा पोखरा लामाचौरमा राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा भदौ २९ देखि असोज १ गतेसम्म १० औं संस्करणको लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो ।
आयोजक नवआदर्शले आइतबार पत्रकार सम्मेलन गर्दै संस्थाको २७ औं वार्षिकोत्सव एवं २५ औं संस्करणको लामाचौर तीज महोत्सवमा लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुन लागेको जनाएको हो । लामाचौर तीज महोत्सवमा भलिबल प्रतियोगितासँगै अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, अन्तर महिला समूहगत खुला तीज गीत प्रतियोगितासमेत आयोजना गरिएको संस्थाका उपाध्यक्ष दिनेश भण्डारीले जानकारी दिए ।
पुरुष भलिबलतर्फ सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश, गल्कोट स्पोर्टस क्लब बागलुङ र बुटवलको मणिमुकुन्द भलिबल क्लब र महिलातर्फ सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाल पुलिस क्लब, न्यु डायमन्ड स्पोर्टस क्लब र न्यु एभरेस्ट भलिबल क्बल बुटवलले सहभागिता जनाउने छन् । एसियन च्याम्पिनसिपको बन्द प्रशिक्षणमा रहेका राष्ट्रिय खेलाडीले प्रतियोगितामा सहभागिता जनाउने छैनन् ।
भलिबलको दुवै विधाका प्रथम हुने टिमले नगद १ लाख ५० हजार १ सय ११, दोस्रो हुने टिमले १ लाख १ सय ११ र तेस्रो हुने टिमले ५० हजार १ सय ११ रुपैयाँसहित ट्रफी पाउनेछन् । तीज गीत प्रतियोगिताको प्रथम हुने टिमले ५० हजार १ सय ११, दोस्रो हुने टिमले ३० हजार १ सय ११ र तेस्रो हुने टिमले २० हजार १ सय ११ र सान्त्वना हुने टिमले १० हजार १ सय ११ पुरस्कार प्राप्त गर्ने छन् । सहभागी टिमलाई प्रोत्साहन स्वरुप २ हजार भत्ता उपलब्ध गराउने आयोजकले जनाएको छ ।
तीज महोत्सवमा आयोजित अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिताको प्रथम हुने टिमले ४० हजार १ सय ११, दोस्रो हुने टिमले २५ हजार १ सय ११, तेस्रो हुने टिमले १५ हजार १ सय ११ र सान्त्वना हुने ३ टिमले ५ हजार १ सय ११ र उत्कृष्ट भेषभुषालाई ५ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।
भदौं २९ गतेदेखि असोज १ गतेसम्म सञ्चालन हुने तीज महोत्सवमा २९ गतेदेखि पुरुष भलिबल प्रतियोगिता सुरु हुने उपाध्यक्ष भण्डारीले बताए । भलिबलमा दर्शकलाई पहिलो दिन १ सय, दोस्रो र तेस्रो दिन २ सय र फाइनल खेलको दिन ३ सय रुपैयाँ टिकट शुल्क कायम गरिएको उनले सुनाए । ४ हजार दर्शक क्षमताको अस्थायी प्यारापिटसमेत निर्माण गरिएको छ ।
तपाईको प्रतिक्रिया