डिजेल अपचलन आरोपित जमरकट्टेलसहित ३ जना धरौटीमा रिहा

समाधान संवाददाता २०८० भदौ २६ गते १०:२८

पोखरा ।

नेपाल आयल निगम लिमिटेडको गण्डकी प्रादेशिक कार्यालय, कास्की (गगनगौंडा)मा भएको डिजेल अपचलन घटनामा पक्राउ परेका पेट्रोल पम्प व्यवसायी बाबुराम जमरकट्टेलसहित ३ जनालाई धरौटीमा छोड्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ ।


न्यायाधीश केशवप्रसाद बाँस्तोलाको इजलासले व्यवसायी जमरकट्टेलसहित गण्डकी–धौलागिरि पेट्रोलियम डिलर्स एसोसिएसनका कार्यालय सचिव जगन्नाथ ढुंगाना र ट्यांकर चालक निर्मल थापालाई धरौटीमा छोड्न आदेश दिएको हो ।

Advertisement


ट्यांकरधनीसमेत रहेका जमरकट्टेललाई १ लाख ५० हजार, ढुंगानालाई १ लाख र चालक थापालाई ७५ हजार धरौटीमा छाड्न आदेश दिएको अदालतका शाखा अधिकृत दुर्गाप्रसाद रिजालले जानकारी दिए । सबै ३ जना धरौटी रकम बुझाएर थुनामुक्त भएका छन् । उनीहरु कैद नबसी नै मुद्दा लड्नेछन् ।

३२ सय लिटर डिजेल अपचलन गरेको घटनाका मुख्य याेजनाकार आयल निगमका डिपो प्रमुख चित्तरञ्जन दास अझै फरार

Advertisement


२५ साउनमा पोखरा डिपोबाट १२ हजार लिटर डिजेलको पैसा तिरेर निस्केको ट्यांकरलाई जिल्ला प्रशासन कार्यालय, कास्कीको अनुगमन टोलीले नियन्त्रणमा लिई जाँच गर्दा १५ हजार २ सय लिटर डिजेल फेला परेको थियो । तोकिएभन्दा ३ हजार २ सय लिटर बढी डिजेल अपचलन गरेको घटनामा प्रहरीले विस्तृत अध्ययन गरी आयल निगमको तत्कालीन डिपो प्रमुख चित्तरञ्जन दाससहित तिनैजनालाई कारबाहीका लागि मुद्दा चलाउन जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन दिएको थियो ।


डिपो प्रमुख चित्तरञ्जन दास भने अझै फरार छन् । उनलाई नेपाल आयल निगम लिमिटेडले निलम्बनसमेत गरेको छ । उनीविरुद्ध गत साउन ३० गते पक्राउ पुर्जी जारी भएको थियो ।


सरकारी वकिलको कार्यालयले अदालतमा डिपो प्रमुख दासलाई कम्तीमा ५ वर्ष जेल सजाय र ५० हजार रुपैयाँ जरिवाना माग दाबी गरी मुद्दा दायर गरेको थियो । अन्य ३ जना व्यवसायीलाई जनही ३ वर्ष जेल सजाय वा ३० हजार जरिवाना वा दुवै सयाजको माग दाबी गरी मुद्दा दायर गरिएको थियो ।


जिल्ला प्रशासन कार्यालय कास्कीले नेपाल आयल निगम गण्डकी प्रदेश कार्यालयबाट डिजेल चोरी गरी बिक्रीका लागि लैजाँदै गरेको ट्यांकर गत साउन २५ गते नियन्त्रणमा लिएको थियो । निगमको डिपोबाट डिजेल लोड गरी पश्चिमाञ्चल पेट्रोल पम्पमा लैजाँदै गरेको ग२ख ८३६ नम्बरको ट्यांकर कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बासुदेव घिमिरेको आदेशमा नियन्त्रणमा लिएको थियो ।


१२ हजार लिटर क्षमताको उक्त ट्यांकरमा ३ हजार लिटर इन्धन चोरी गरी बिक्री गर्न पठाइएको थियो । जिल्ला प्रशासन, नापतौल कार्यालय र आयल निगमले संयुक्त रुपमा नापजाँच गर्दा ३ हजार लिटर बढी इन्धन भेटिएको थियो ।


निगम गण्डकी प्रदेशका कार्यालय प्रमुख चितरञ्जन दासमाथि डिपोका लागि तोकिएको नोक्सानी लक्ष्यको दुरुपयोग गरी इन्धन चोरी गर्ने गरेको आरोप लाग्दै आए पनि यसअघि प्रमाण भेटिएको थिएन । दास प्रदेश प्रमुख बनेपछि गण्डकीमा निगमले अघिल्लो २ आर्थिक वर्षभन्दा दोब्बर नोक्सानी गराइएको निगम केन्द्रीय कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।


डिपोबाट बिक्री हुने इन्धनको नापजाँच गर्न (डिप लिने) कार्यालयका अपरेसन इन्चार्ज परशुराम अधिकारीलाई नदिई दासले आफै गर्ने गरेका थिए । साउन २५ गते नियन्त्रण गरिएको ट्यांकरको चलान, बिल र गेटपास समेत दासले आफै सही गरेर पठाएका थिए । बरामद गरिएको ३ हजार लिटर डिजलको मूल्य करिब ४ लाख ५९ हजार रुपैयाँ छ । १२ हजार लिटरको बिल काटेर दासले १५ हजार लिटर डिजल उपलब्ध गराइदिएका थिए । बिक्री भएभन्दा बढी डिजल ओसारपसार गर्ने ट्यांकर जमरकट्टेलको हो ।

तपाईको प्रतिक्रिया