जिल्ला समन्वय समितिमा गुनासो सुन्न डेस्क स्थापना

समाधान संवाददाता २०८० भदौ २६ गते ११:०६

पोखरा ।
जिल्ला समन्वय समिति कास्कीले गुनासो तथा उजुरी सुन्न डेस्क स्थापना गर्न लागेको छ । कास्कीका स्थानीय तहमा सञ्चलन भएका विकास निर्माणका आयोजनालाई प्रभावकारी बनाउन तथा जनताका गुनासोलाई सम्बोधन गर्न डेस्क स्थापना गर्न लागेको समन्वय समितिका प्रमुख लिलाधर बरालले जानकारी दिए । पछिल्लो समयमा कार्यकारी अधिकार नपाएको समन्वय समितिले जिल्लाका विषयगत कार्यालय तथा स्थानीय तहको कामलाई प्रभावकारी बनाउन अनुगमन, सहकार्य र समन्वयको काम गर्दै आएको छ ।

Advertisement


जिल्ला समन्वय समिति कास्कीले सोमबार आयोजनामा आर्थिक वर्ष २०७९–८०को वार्षिक कार्यक्रमको समिक्षा तथा आर्थिक वर्ष २०८०–८१को वार्षिक कार्यक्रम तथा बजेट कार्यान्वयन तालिका सम्बन्धी ३ दिने समिक्षात्मक कार्यक्रममा उनले गुनासो तथा उजुरी सुन्ने डेस्कबाट जनताको गुनासो सम्बोधन हुनुका साथै विकास निर्माणको कामलाई प्रभावकारी बनाउन सहयोग पुग्ने दाबी गरे ।


‘कास्कीको विकास निर्माणको काममा हुने ढिलाई तथा कमी कमजोरी हटाएर गुणस्तर कायम गराउन डेस्कले सहयोग पुग्ने छ,’उनले भने, ‘सो डेस्कमा कास्कीका सेवाग्राहीहरूले सेवा प्राप्त गर्दा भोग्नु परेका कठिनाई र विकास आयोजनाका राम्रा नराम्रा सबैखाले प्रतिक्रिया र सुझाव खुलस्त रुपमा राख्न सक्ने छन् ।’ उनले डेस्कमा आफै उपस्थित भएर या लिखित, मौखिक र विद्युतीय माध्यमबाट गुनासो राख्ने व्यवस्था मिलाउने जानकारी दिए ।


कार्यक्रममा समन्वय प्रमुख पौडेलले सुसासन विना विकास सम्भव नहुने बताए । सन्तुलित विकास विना समृद्धि सम्भव नभएको चर्चा गर्दै उनले गुनासो सुन्ने डेस्कले सुशासन प्रवद्र्धन गर्न सहयोग पुग्ने दाबी गरे । उनले आर्थिक समृद्धि र दिगो विकासको लागि सबै पक्ष एक जुट भएर लाग्नु पर्ने खाँचो औल्याए ।


विकास निर्माणको लागि छुट्टाएको बजेट पूर्ण रुपमा उपयोग हुनु पर्ने अडान राख्दै उनले कहि कतै ढिला सुस्ती र अनियमितता नहुने गरी काम गर्न कास्कीका कार्यालय प्रमुख, जनप्रनिधि र कर्मचारीले समन्वयात्मक ढंगले काम गर्नु पर्ने बताए । उनले चालु आर्थिक वर्षको कार्यसम्पादन योजना सहित अगाडी बढ्न क्यालेण्डर नै निर्माण गरी चरणबद्ध ढंगले काम गर्न सबैमा आग्रह गरे ।

Advertisement


समिक्षाको पहिलो दिन सोमबार रुपाताल संरक्षण एकिकृत विकास परियोजना, खानेपानी तथा ढल निकास आयोजना पोखरा, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय स्याङ्जा संघीय आयोजना कार्यान्वयन इकाई, स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय, सडक डिभिजन पोखरा, पुष्पलाल मध्य पहाडी सडक आयोजना, मुग्लिङ पोखरा सडक योजना पश्चिम खण्ड, पुल सेक्टर पोखरा र संघीय पूर्वाधार विकास कार्यालय लगायतले वार्षिक समिक्षा सहित बजेट कार्यान्वयन तालिका प्रस्तुत गरेको जिल्ला समन्वय अधिकारी नवराज बरालले जानकारी दिए ।

समिक्षाको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख सरिता माल, सूचना अधिकारी झविश्वर रेग्मीले गुनासो तथा उजुरी सुन्ने डेस्कको बारेमा बोलेका थिए । जिल्ला समन्वय समिति कास्कीको वार्षिक समिक्षा कार्यक्रम तीन दिनसम्म चल्ने छ ।

तपाईको प्रतिक्रिया