पृथ्वीनारायण क्याम्पसमा हाजिरीजवाफ प्रतियोगिता

समाधान संवाददाता २०८० भदौ २६ गते १३:१७

पोखरा, २५ भदौ
शिक्षाशास्त्र संकाय पृथ्वीनारायण क्याम्पस, पोखराले शिक्षा महाविद्यालय (कलेज अफ एजुकेसन ) को स्थापना दिवसको अवसर पारेर आइतबार क्याम्पस परिसर वरपर सरसफाइ तथा हाजिरीजवाफ प्रतियोगिताको कार्यक्रम गरेको छ ।

Advertisement


विसं २०१३ भदौ २४ मा खुलेको कलेज अफ एजुकेसनअन्तर्गत २०२३ सालमा पोखराको पृथ्वीनारायण क्याम्पसमा नेपाल र संयुक्त राज्य अमेरिकाको सहकार्यमा शिक्षा महाविद्यालय, शिक्षक शिक्षण केन्द्रको स्थापना भएको हो । पछि २०२९ सालमा यसलाई शिक्षाशास्त्र अध्ययन संस्थान र २०३८ मा शिक्षाशास्त्र संकायको नाम दिइएको थियो। अहिले नेपालमा यसै नामबाट स्नातकदेखि विद्यावारिधिसम्मको पढाइ हुने गरेको छ ।


स्थापना दिवसमा शिक्षाशास्त्र संकायका प्राध्यापक र विद्यार्थी मिलेर शिक्षाशास्त्र संकाय परिसर, प्रशासन भवन वरपर तथा क्याम्पस बाहिर क्याम्पसको तल्लो गेटदेखि माथिल्लो गेटसम्मको सडक वरपर सरसफाइ गरिएको थियो । सरसफाइपछि शिक्षाशास्त्रमा स्नातक र स्नातकोत्तर तहमा पढ्ने ११ वटा समूहबिच गराइएको हाजिरीजवाफ प्रतियोगितामा ललित पौडेल, निराजन थापा र सुस्मिता पौडेलको समूह प्रथम भएको थियो ।


प्रतियोगितामा ओसन पौडेल, श्रवण सुवेदी र कमलमणि अर्यालको समूह द्वितीय तथा कौशिला पुन मगर, सुनिता सापकोटा र तुलसी घर्तीको समूह तृतीय हुन सफल भएका थिए । प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने समूहलाई क्रमशः ८, ६ र ४ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।


हाजिरीजवाफ कार्यक्रममा स्वागत मन्तव्य राख्दै शिक्षाशास्त्र संकायका सहायक क्याम्पस प्रमुख यादवराज अधिकारीले राष्ट्रका लागि सबल र योग्य विद्यार्थी उत्पादन गर्न शिक्षाशास्त्र संकायले पठनपाठनका अतिरिक्त सहकार्यकलापमा जोड दिएको सुनाए ।

Advertisement


यसैगरी क्याम्पस प्रमुख प्राडा सरोज कोइरालाले क्याम्पसले विद्यार्थीको सर्वाङ्गीण हित र प्राज्ञिक उन्नयनका लागि अध्ययन अनुसन्धानलाई महत्व दिएको स्पष्ट पारे । कार्यक्रममा सहायक क्याम्पस प्रमुखहरु प्रा. लालबहादुर कुँवर, मिनराज लम्साल तथा बोधराज ढकालले पनि आआफ्नो धारणा राखे ।


उपप्राध्यापकहरु कृष्णप्रसाद त्रिपाठी, डा. पीताम्बर पौडेल, सकुन्तला पंगेनी, गोविन्दप्रसाद गैरे, सञ्जीवराज खनालद्वारा सहजीकरण गरिएको कार्यक्रमको सञ्चालन डा. पितृराज बास्तोलाले गरेको उप्रप्राध्यापक विष्णुप्रसाद शर्माले जानकारी दिए ।

तपाईको प्रतिक्रिया