कार्यस्थलमा हुने हिंसा रोक्न माग

समाधान संवाददाता २०८० भदौ २६ गते १५:२८

पोखरा ।
कार्यस्थलमा हुने हिंसा र दुव्र्यवहारको अन्त्य गर्नको लागि श्रमिकहरुले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) महासंन्धी नम्बर १९० अनुमोदन गर्न नेपाल सरकारसँग माग गरेका छन् । उनीहरुले श्रमको संसारमा हिंसा र उत्पीडनको अन्त्यको लागि महासंन्धी अनुमोदनको लागि माग गरेका हुन ।


सयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) गण्डकी प्रदेश समन्वय समितिका संयोजक रुद्रबहादुर खत्रीले कामको संसारमा हुने हिंसा र दुव्र्यवहार रोक्नको लागि नेपालले महासन्धी अनुमोदन गर्नु पर्ने बताए । जेटियुसीसी गण्डकीले सोमबार आयोजना गरेको गण्डकी प्रदेश स्तरीय महिला सचेतना कार्यक्रममा संयोजक खत्रीले आम श्रमिकको लागि कार्यस्थलमा हुने हिंसा प्रमुख सवालको रुपमा आएको जानकारी दिए ।

‘आईएलओ महासंन्धी नम्बर १९० श्रमको संसारमा विभेद र असमानता बिरुद्ध लड्ने महत्वपूर्ण साधन हो,’उनले भने, ‘नेपालले अहिलेसम्म महासंन्धी अनुमोदन गरेको छैन । ट्रेड युनियन खोल्न जस्तै श्रमको संसारमा हिंसा र हतोत्साहनका लागि प्रतिरोध र निर्मुलका लागि महासंन्धी १९० अनुमोदन गर्न आवश्यक छ ।’ उनले महासंन्धी अनुमोदन नहुँदा संविधानले दिएको समानताको हक, भेदभाव बिरुद्धको हक र शोषण बिरुद्धको हक सुनिश्चित हुन नसकेको बताए ।

Advertisement


नेपाल ट्रेड युनियन कांग्रेस गण्डकीका सभापति मुरारी शर्माले सबै काम, श्रम र सीपलाई मर्यादित बनाउन महासन्धी नम्बर १९०लाई नेपालले अनुमोदन गर्न पर्ने बताए । उनले श्रम ऐनको प्रभावकारी कार्यान्वयन गर्दै कार्यस्थलमा हुने हिंसालाई रोक्दै लैंगिक समानता, व्यवसाय जन्य स्वास्थ्य सुरक्षा समिति गठन गर्ने देखि श्रम अडिट, निरिक्षण लगायतका प्रावधान लागु गर्न माग राख्दै आएको जानकारी दिए ।


उनले श्रम बजारमा देखिएको समस्या समाधानका लागि द्विपक्षीय, त्रिपक्षीय सयन्त्र निर्माण गर्नु पर्ने बताए । अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकीका अध्यक्ष रुद्र गौतमले सुरक्षित र मर्यादित वातावरणमा काम गर्न पाउने श्रमिकको अधिकार सुनिश्चित गर्न श्रमिकको गण्डकी प्रदेश स्तरको मञ्च जेटियुसीसी मार्फत काम गरेको जानकारी दिए । अहिलेको आरक्षणको आधारमा प्रतिनिधित्व सुनिश्चित गरेतापनि जनसंख्याको आधारमा महिलाको समानुपातिक, समावेशी सहभागिता हुन नसकेको उनले उल्लेख गरे ।

Advertisement

जेटियुसीसी महिला समितिका संयोजक प्रमिला ढुंगानाले पितृसत्तात्म सोंचका कारण राज्यका निकायमा महिलाको समान सहभागिता हुन नसकेको दाबी गरिन् । लैगिंक सन्तुलन तथा महिलाको समान सहभागिताको लागि आवाज उठाउँदै आएको उल्लेख गर्दै उनले अग्रसर भएर व्यक्तित्व र नेतृत्व विकासमा लाग्न आग्रह गरिन् । उनले साेंच र व्यवहारलाई परिवर्तन गर्दै महिलाहरु सक्षम भएर नेतृत्वमा पुग्न पर्ने बताइन् ।


जेटियुसीसी महिला समितिका सदस्य सरिता पाण्डेले लैंगिक हिंसाको कारण सबै क्षेत्रमा असर परेको दाबी गरिन् । सार्वजनिक सवारी साधनमा महिला माथि गरिने हिंसा बढी भएको उल्लेख गर्दै उनले कार्यथलोमा हुने हिंसालाई रोक्न ट्रेड युनियनहरुले रणनीत बनाएपनि सफल रुपमा कार्यान्वयन हुन नसकेको बताइन् । उनले श्रम क्षेत्रमा समान कालको समान ज्याला नहुनु समेत एक प्रकारको हिंसा भएको उल्लेख गरिन् ।


कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस गण्डकीका सचिव रुद्र तिमिल्सिना, अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकीका सचिव गुणराज बास्तोला, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियनका प्रतिनिधि मोहनबहादुर केसीले कार्यक्षेत्रमा हुने हिंसाको बारेमा बोलेका थिए । ‘विविधतामा एकता’ भन्ने नाराका साथ २०६४ सालमा स्थापना भएको संयुक्त ट्रेड युनियन समन्वय केन्द्रमा १० महासंघ आवद्ध छन् । केन्द्रले सात वटै प्रदेशमा समन्वय समिति गठन गरेर काम गरेको छ । गण्डकी प्रदेश समन्वय समितिमा ५ वटा ट्रेड युनियन आवद्ध छन् ।

तपाईको प्रतिक्रिया