हेभी इक्युपमेन्टलाई न काम, न भुक्तानी

समाधान संवाददाता २०८० भदौ २७ गते १०:४६

पोखरा ।
निर्माण क्षेत्रमा प्रयोग हुने ठूला उपकरणहरु आकारमा मात्रै ठूला होइनन्, मूल्यका हिसाबले पनि ठूलै हुन्छन् । १ करोड रुपैयाँभन्दा बढी मूल्यका ती मेसिन किनेर व्यवसाय गर्न जो–कोहीले सक्दैन । ठूलाठूला पूर्वाधार निर्माण भइरहने हो भने ती उपकरणधनीले काम पनि राम्रै पाउँछन् ।


महँगा मेसिन किनेर व्यवसाय गर्न भने सजिलो नभएको व्यवसायीहरु बताउँछन् । उनीहरुले समयमा भुक्तानी नपाउने र ठेकेदारले आफ्नै मेसिनबाट काम गर्ने प्रवृत्तिका कारण यो व्यवसाय चौपट भएको सुनाएका छन् ।


कास्की हेभी इक्युपमेन्ट व्यवसायी संघ, पोखराले आयोजना गरेको प्रशिक्षण एवं अन्तक्र्रियामा बोल्दै नेपाल हेभी इक्युपमेन्ट व्यवसायी महासंघका अध्यक्ष प्रेमलाल श्रेष्ठले ठूलो लगानीमा सञ्चालित व्यवसायीहरुलाई राज्यले संरक्षण नगरेको बताए । राष्ट्रको भौतिक निर्माणमा योगदान पुर्‍याउने व्यवसायीहरुले वर्षभर काम नपाउने र पाए पनि भुक्तानीमा समस्या आइरहेको उनको भनाइ थियो ।

Advertisement


कार्यक्रम तथा कास्की हेभी इक्युपमेन्ट व्यवसायी संघका अध्यक्ष बालकृष्ण कोइरालाले काम गर्ने तर भुक्तानी नपाउने समस्याका कारण व्यवसायीहरु पलायनको अवस्थामा पुगेको बताए । उनले सरकारले पुँजीगत खर्च गर्न नसक्दा व्यवसायमा मन्दी छाएको धारणा पनि राखे । ठूलो लगानीको व्यवसाय भएकाले उपकरणको बिमा गर्न उनले सुझाए ।


संघका सचिव भीम केसीका अनुसार सो अवसरमा एचपी खनाल एन्ड एसोसियटस्का सञ्चालक ऋषिबहादुर खनालले लेखापढीसम्बन्धी, सगरमाथा इन्स्योरेन्सका सहायक महाप्रबन्धक कविराज पौडेलले बिमासम्बन्धी व्यवस्थाबारे प्रशिक्षण दिएका थिए ।

Advertisement


कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, हेभी इक्यूमेन्ट ब्यवसायी संघ पोखरा कास्कीको संस्थापक अध्यक्ष लीलामोहन कुइँकेल, नेपाल हेभी इक्युपमेन्ट व्यवसायी महासंघका केन्द्रीय सदस्य एव तनहुँ हेभी इक्युपमेन्ट व्यवसायी संघका अध्यक्ष खिन्तबहादुर भण्डारी (भरत), कास्की हेभी इक्युपमेन्ट व्यवसायी संघ पोखरा कास्कीको निवर्तमान अध्यक्ष नेपाल हेभी इक्युपमेन्ट व्यवसायी महासघ गण्डकी प्रदेस अध्यक्ष नीलकण्ठ (निश्चल ) पोखरेल, नेपाल हेभी इक्युपमेन्ट व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष उमाकान्त शर्मालगायतले मन्तव्य राखेका थिए । कार्यक्रमकै दौरानमा देहान कन्स्ट्रक्सनका सञ्चालिका सावित्री गुरुङ पुनले आफ्नो मेसिनको बिमासमेत गराएकी थिइन् ।

तपाईको प्रतिक्रिया