आपत्तिजनक नहोस् तीजको संगीत

नवराज बराल ‘निशान्त’ २०८० भदौ २७ गते १२:१८

ऋतु परिवर्तन सँगे वर्षा ऋतु पश्चात शरद ऋतुको आवागमन सुरु सँगै चारैतिर पर्वले छाइसकेको छ । यस वर्षको तीज अर्थात हरितालिका नजिकै आइरहेको छ । तीज पर्वलाई सौभाग्य र समृद्धिको पर्व मानिन्छ । सौभाग्य र समृद्धिको निमित्त धार्मिक परम्परा अनुसार नारीहरुले शिव पार्वतीको पूजाआजा गर्ने भाद्र शुक्ल तृतीयाको दिन जसमा हरितालिका पूजा गरिन्छ । हरितालिकालाई सौभाग्यको स्थिरताका लागि भाद्र शुक्ल तृतीयाका दिन नेपाली नारीहरुले निराहार बसेर गरिने शिवपूजा, तिजको व्रतलाई मानिन्छ ।

Advertisement


अन्य पुराण तथा श्री स्वथानी व्रतकथा समेतलाई हेर्ने हो भने हरितालिकालाई अर्को अर्थमा भन्दा सैंगिनीद्धारा हरेर जंगलमा पु¥याइएको पार्वतीले ‘विष्णुसँग विवाह नहोस्, महादेव नै पति बनुन् भनी गरिएको निराहार व्रतलाई मानिन्छ ।
हरितालिकामा दुई वैदिक मन्त्र अगाडि आउँछन् । पञ्चमीमा दतिवन ग्रहण मन्त्र र दाँत माझ्ने मन्त्र जसलाई ऋषिपञ्चमी व्रत भनिन्छ ।


अर्को तीजसँग जोडिएको दिन हो दर खाने । नेपाल पञ्चांग निर्णायक विकास समितिको निर्णय बमोजिम यस वर्षको २०८० सालको दर खाने भाद्र ३१ गते आइतबार मात्रै परेको छ । तर पञ्चांग निर्णायक विकास समितिको निर्णयलाई लत्याउँदै नाग पञ्चमीको भोलिपल्टै देखि पार्टी प्यालेसहरुमा भड्किलो पाराले दरखाने कार्यक्रहरु विभिन्न समूहको नाउँमा (तर व्यक्ति एउटै) दरखाने कार्यक्रम राखेकोले सर्त सहित स्थानीय प्रशासनले सार्वजनिक सूचना जारी गरेको छ ।

‘रातो सारी’ लगाएर नाच्दैमा र तीजको बेलामा गाउँदैमा सबै तीजका गीतहरु हुँदैनन् ।


खास दर लाई यस प्रसंगमा तीजको अघिल्लो साँझ स्त्रीहरुले खाइने पोसिलो खाना वा भोजलाई बुझिन्छ । विहे गरेर घर गएका छोरी चेलीले तीज पर्वमा माइत पुगी आफ्ना सखीसाथीहरुलाई भेटघाट गरी सुखःदुख र अनुभव साटासाट गर्ने हो । तर तीजलाई आधुनिकताले मौलीकतालाई हटाउँदै लगेका छन् । दरखाने दिन र तिज पर्व अगाडी नै आफ्नो इच्छाअनुसार भेटघाट गर्ने र पर्व भन्दा बाहिरका गीति लयमा नाच्ने गरेका छन् ।

Advertisement


यस प्रसंगमा लोकगायिका हरिदेवी कोइराला भन्नुहुन्छ, ‘तीज पर्व माइती र चेलीबि प्रेम तथा मातृत्व बढाउने ममताको पर्व हो ।’ महिलाहरुले स्वतन्त्र रुपमा आफ्नो पीडा पोख्ने र उत्साहका साथ तीज पर्व मनाउँछन् । लोक गायक राजु परियार एक प्रसंगमा भन्नुहुन्छ, ‘तीजका भाकाहरुतीज र पञ्चमीका लागी नै तयार गरिएका हुन्थ्ये ।’


आमाले कोदो राख्ने बेलामा सिर्जना गरेका भाकाहरु तीजमा गाउँनुहुन्थ्यो । अहिलेका सिर्जनामा मेलोडी नै फरक छ । गीतहरुलाई तीजको गीत भन्ने कि नभन्ने त्यही नै अलमल छ । अझ हरिदेवी कोइराला अगाडि भन्नुहुन्छ—तीज शब्द जोड्ने बित्तिकै त्यसमा पर्वको सुगन्ध आउनुपर्छ ‘रातो सारी लगाएर नाच्दैमा र तीजको बेलामा गाउँदैमा सबै तीजका गीतहरु हुँदैनन् । निधारमा टीका त अन्य बेला पनि लगाइन्छ तर दसैंको टीका र अरु बेला लगाउने टीकामा धेरै फरक छन् । तीजमा गीतहरु पनि तीज जस्तै हुनुपर्छ’ समय अनुसार परिमार्जन गर्ने र समाजमा सुहाउँदो बनाउने हेक्का सर्जकहरुमा हुनुपर्ने कोइराला भन्नुहुन्छ । लोक गायक रेशम सापकोटाको शब्द सापट लिई भन्ने हो भने तीजका भाकामा शब्द मात्रै नभएर भाव नै परिवर्तन हुँदै आएका छन् ।


अहिले गीत, संगीत र शब्दमा मेलोडी, रिमिक्स छन् । भाव नभएका छन् । गीत, संगीत भनेको सुन्ने जिनिस हो । गीत संगीत कर्णप्रिय हुनुपर्दछ । गीत, संगीत जस्तो होस् म्युजिक भिडियो शानदार भए हुन्छ । गीत संगीत हेर्ने जिनिस भएका छन् ।
सुरुवातका दिनहरुमा आमा, भाउजुहरुले घरका दुखसुख, सासु–बुहारीको बेमेल आधा पेट खाएका कहानीहरुलाई भदौरे कोदो गोड्दै टिपीएका भाकाहरु तिजका गीतका छेको भन्थे जस्तोः


‘यो घरको सम्पत्ती, नखाई नलगाई सिद्धियो, बाटुलपाते लहराले कम्मर कसियो, पछिको समयमा बुहारीहरुले पनि पढ्नुपर्छ भन्ने मान्यता विकसित भयो । अहिले पनि गाउँघरका कलेजहरुलाई बुहारी क्याम्पस भनेर भन्ने गरिन्छ । यसै लाई आधार मानी उल्लेखित गीतको शब्दमा यसरी भन्ने गरियो ।
यो घरको सम्पत्ति नखाई नलगाई सिद्धियो ।
उठ बज्यै दैलो पोत स्कुल हिँडियो
आमाले गाएको गीत सम्झँदा
आफ्ना बाबालाई रुँदै रुँदै छोडियो,
अर्काका बाबाको आशा बरिलै
भरेली चरीको बास बरिलै

अहिले तीज केन्द्रित सिर्जनाले सामाजिक तथा सांस्कृतिक पक्षमा खलल पु¥याइरहेको छ । गत वर्ष बजारमा आएको बिच्चबिच्चमा–४ मा समावेश गरिएको ‘… पुतली’ शब्द प्रति धेरैले आपत्ति जनाएका थिए ।


यस वर्ष लोकप्रियता र क्षणिक मनोरञ्जनका लागि सर्जक बजार ट्रेन्डिङ धारको गतिमा दौडिरहेका गीतहरुले मौलिक संस्कृति माथि आक्रमण गरिहेका छन् । तीज गीतको नाउँमा व्यावसायिकताको नै हालीमुहाली चलीरहेको छ । धेरै जसो गीतहरुमा शालीनता हराइरहेको छ । महिला पीडा भन्दा पनि होच्याउने र गाली गलौज गर्ने प्रवृत्ति बढेको छ ।


जस्तो अहिले बजारमा आएको यो गीतको लय, शब्द, अभिनय र म्यूजिक भिडियो ले तीजको मर्म माथि सांघातिक आक्रमण गरेको छ । जस्तो बेप्रसंगको शब्द, रक्सी पिएमात्रै तीज मानेको हुने र जड्याहाको बोली र अभिनय ।
घुम्ती घुम्ती रोड पनि भै सकेछ पिच,
लोग्ने घर बस्नी, स्वास्नी माइत बस्नी
यस्तै रहेछ तीज, यस्तै रहेछ तीज

स्वर सम्राट नारायण गोपालले एक प्रसंगमा भन्नुहुन्थ्यो ‘गीत गाउनलाई गाउनै पर्दछ, साधना गर्ने पर्दछ । नत्र गीत गाउने कसरी भन्ने कविता पढ्दैमा, निबन्ध लेख्दैमा, सो निबन्ध पढ्दैमा गीत गाउन सकिँदैन ।’ खहरेको भेलमा आएका संगीत कालजयी हुन सक्दैनन् ।


अन्त्यमा गजलकार निशान्त बरालको यो गजल प्रस्तुति गर्दै तीज पर्वको सबैमा शुभकामना दिन चाहन्छु ।
माइती र चेली बिचको प्रेमको पर्व हो तीज
सुखःदुखका भलकुसारी कहानीको गर्भ हो तीज
स्वतन्त्र रुपमा पीडा पोखी उत्साह मनाउने
मातृत्व र भातृत्वको ममताको गर्व हो तीज
भदोरे कोदो गोड्दा निकालिएका छेकोहरु
हिजो आज गुन्जिने गीत सुन्दा शर्म हो तीज
आधुनिकताका नाउँमा शालिनता हराउँदा
भाषा, भेष, भूषा र शब्द बचाउने मर्म हो तीज
भड्किलो पहरिन होइन सादा जीवन जिऊँ
सभ्यता र संस्कृति बचाउने कर्म हो तीज

तपाईको प्रतिक्रिया