बागलुङ समाजले मनायो तीज

समाधान संवाददाता २०८० भदौ २७ गते १५:३५

पोखरा ।
गण्डकी प्रदेशसभाकी उपसभामुख विनाकुमारी थापाले तीज संस्कृति महिला सशक्तीकरणसँग जोडिएको बताएकी छन् । बागलुङ समाज पोखराले तीजको अवसरमा शनिबार पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उपसभामुख थापाले उक्त कुरा बताएकी हुन् ।


थापाले महिला दिदीबहिनीले तीजका अवसरमा गीत संगीतका माध्यमबाट आफ्ना पीर व्यथा पोख्ने भएकोले सांगीतिक पर्व भएको पनि बताइन् । नेपाल धार्मिक, सांस्कृतिक विविधता भएको देश भएको जनाउँदै उनले सबै धर्मावलम्बी र जातजातिका बीचमा आपसी सद्भाव कायम गर्ने अवसर भएको उल्लेख गरिन् ।


एक अर्काको चाडपर्वमा सबैको समान सहभागिता रहने गरेको भन्दै उपसभामुख थापाले आपसी सद्भाव र सहिष्णुता नै नेपालीको पहिचान भएको बताइन् । तीज पर्व महिलाहरू घरबाट बाहिर निस्कने एउटा अवसर भएको उल्लेख गर्दै उनले समयक्रमसँगै सचेतना फैलाउने र सशक्तीकरण अभियानको पर्व भएको धारणा व्यक्त गरिन् ।

Advertisement


बागलुङ समाज पोखराका पूर्व अध्यक्ष एवं सल्लाहकार कुलचन्द्र शर्माले समाजले विगतदेखि नै आफ्ना मौलिक चाडपर्व र संस्कृति सामूहिक रुपमा मनाउँदै आएको बताए । बागलुङ समाज लेखनाथका अध्यक्ष हरकुमार रानाले पोखरामा बसोबास गर्ने सबै बागलुङेहरू एकजुट भएर आपसमा दुःखसुख साटासाट गर्ने महत्वपूर्ण थलो समाज नै भएको बताए ।


बागलुङ समाज पोखराका अध्यक्ष डिल्लीप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष ठाकुरप्रसाद सापकोटा र सचिव नरेश सुवेदीले पनि बोलेका थिए । सो अवसरमा कार्यक्रम संयोजक कोपिला श्रीसले समाजले आयोजना गरेको कार्यक्रम बागलुङे दिदीबहिनीहरूका लागि भेटघाटको अवसर बनेको बताइन् ।

Advertisement


कार्यक्रममा प्रेमप्रसाद सापकोटा स्मृति पुरस्कार–२०८० बाट २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट अंक ल्याउने २ जना छात्र र छात्रालाई पुरस्कृत समेत गरिएको थियो । लोक तथा दोहोरी गायिका सीता परियारले आफ्नो सांगीतिक प्रस्तुति राखेकी थिइन् ।

तपाईको प्रतिक्रिया