सम्पादकीय—महिला पर्यटनकर्मी र तीज महोत्सव

पर्यटन विकास महिला संघ (टेवान)ले भदौ २५ गतेदेखि २७सम्म लेकसाइडको कोमागाने पार्कमा तीज महोत्सव ग¥यो । तीजको बेलामा धेरैतिर धेरै खाले महोत्सव हुँदै आएका छन् । टेवानको महोत्सव अरुभन्दा भिन्न हो । अरु महोत्सव र मेला मौलिक संस्कृतिको जगेर्ना र तीजकै रमाइलोको उद्देश्यमा केन्द्रित हुन्छन् । टेवानको मूल लक्ष्य भने पर्यटनसँग तीजलाई जोड्नु थियो, पोखराको पर्यटनमा एउटा अर्काे प्रडक्ट थप्नु थियो, देशीविदेशी पर्यटकलाई नेपाली महिलाको सांस्कृतिक पर्व तीजको मौलिक स्वाद चखाउनु थियो । वास्तवमा पोखरा आउने विदेशी पर्यटकलाई हाम्रा प्रकृतिमात्रै देखाएर पुग्दैन, सफाचट होटलमा सुताएमाात्रै हुँदैन । उनीहरुलाई हाम्रा मौलिक संस्कृतिको स्वाद चखाउन सक्नुपर्छ । हाम्रा मौलिक खानपान र रीतिरिवाजहरुको स्वाद पस्कन सक्नुपर्छ । तबमात्रै हाम्रो पर्यटन मौलिक हुन्छ । रात्रिकालीन व्यवसायलाई जोड दिनेभन्दा यस्ता मौलिक नेपाली चाडपर्वलाई पर्यटनसँग जोड्न सर्वथा उपयुक्त र बुद्धिमानी कदम हो । तसर्थ टेवान साधुवादको पात्र बनेको छ ।
कुनै बेला पोखरामा विदेशी पर्यटन अड्याउने उपाय नहुँदा सडक महोत्सव सुरु भएको थियो । त्यो अंग्रेजी नयाँ वर्षसँग पनि सम्बन्धित छ । अचेल हाम्रै नयाँ वर्षमा पनि गतिविधि हुन थालेका छन् । रोपाइँ महोत्सव चलिरहेको छ । तिहारमा पर्यटकसँग भाइटीका अर्काे मौलिक गतिविधि हो । त्यसमाथि थपिएको तीजको सांस्कृतिक महोत्सव पोखराको अर्काे पर्यटकीय प्रडक्ट हुनसक्छ । कुनै पनि कार्यक्रम सुरुआत गर्नु पनि कठिन काम हो । त्योभन्दा कठिन कामचाहिँ त्यसलाई निरन्तरता दिनु हो । तसर्थ तीज महोत्सवलाई अबका वर्षहरुमा पनि निरन्तरता दिने उपाय खोजिनुपर्छ ।
तीज महोत्सव नै पर्यटनसँग जोडिनुको उपलब्धिको जस पर्यटनकर्मी महिलाहरुलाई दिनुपर्छ । यतिका वर्षसम्म पर्यटनमा महिलाहरु भए पनि नेतृत्वमा पुरुषको बर्चश्व रहँदै आएको छ । तिनले महिलाहरुको चाडपर्वलाई पर्यटकीय प्रडक्ट बनाउने आइडिया क्लिक गर्न सकेनन् । पर्यटन क्षेत्रका महिला संगठित हुनुको उपलब्धि के भने उनीहरुले महिलाका पर्वलाई ध्यान दिए, पर्यटनसँग जोड्ने प्रयत्न गरे । हो, यो भनेको समावेशिताको सिद्धान्त र व्यवहार कति महत्वपूर्ण हुन्छ, प्रतिनिधित्वले कसरी लैंगिक समानताको नतिजा निकाल्छ भन्ने उदाहरण पनि हो । पर्यटनसँग जोडिएका जेजति गतिविधि पोखरामा भइरहेका छन्, तिनका खासखास आयोजक छन् । तर ती सबैमा सबै पर्यटनकर्मीले अपनत्व लिनुपर्छ । अगुवाइ एउटा खास संस्थाले लिए पनि सबै पर्यटनकर्मीले होस्टेमा हैंसे गरे सबै मेला महोत्सव भव्य हुनेछन्, निरन्तर हुनेछन् र पर्यटकका लागि खास हुनेछन् ।
तपाईको प्रतिक्रिया