निजी गाडी लिएर घुम्न पोखरा आइपुगे चिनिया

समाधान संवाददाता
पोखरा, १ असोज
चिनियाँ पर्यटकको एउटा समूह निजी सवारी साधन लिएर पोखरा भ्रमण आएको छ । यसअघि भारतीय पर्यटक निजी गाडी लिएर पोखरा घुम्न आइरहन्थे । आकलझुकल युरोपेली फिरन्तेहरु पनि त्यसरी आउँथे । तर पहिलोपटक चिनियाहरु निजी गाडीमा पोखरा आएका हुन् ।
युआन प्रान्तका चिनियाँ केरुङ नाकाबाट प्रवेश गरेर काठमाडौंै—चितवन हुँदै आइतबार पोखरा आएका हुन् । चिनिया पर्यटकका नेपाली सहयोगी भिनु धामीले ८ वटा चिनिया गाडीमा २३ जनाको टोली आइतबार बेलुका पोखरा आइपुगेको बताए । उनका अनुसार चिनिया पर्यटक लेकसाइडको बाराही होटलमा बास बसेका हुन् ।
‘आइतबार बेलुका पोखरा आएर बाराही होटलमा बस्नुभयो । सोमबार फेवातालदेखि सराङकोटसम्म घुम्नुभयो,’ धामीले भने, ‘सोमबार दिउँसो उहाँहरुले मान्द्रे ढुंगाबाट प्याराग्लाइडिङ गर्नुभएको छ ।’
पोखराको भ्रमण गरेर उनीहरु काठमाडौं जाने र पुन पोखरा आएर तातोपानी खासा नाका हुँदै चीन फर्कने योजना रहेको धामीले सुनाए । सन् २०२३ को सुरुआतदेखि नै विदेशी पर्यटक आगमन बढ्दो छ । सन् २०२२ को तुलनामा पर्यटक आगमन ह्वात्तै बढेको पर्यटन व्यवसायी बताउँछन् ।
कोरोना महामारीपूर्व नेपालमा पर्यटक उल्लेख्य आए पनि त्यसपछि आगमन सुनसानजस्तै भएको थियो । खासगरी चिनिया पर्यटकको आगमन निकै कमजोर थियो । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार पछिल्लो समय चिनिया पर्यटक बढेका छन् । पोखरामा चिनिया पर्यटक गाडी लिएर आउने कुरा सकारात्मक भएको उनले बताए ।
‘चालु आर्थिक वर्षको सुरुआतसँगै पर्यटक आगमन राम्रो देखिन्छ । कोरोना महामारीपछि पर्यटन क्षेत्रमा देखिएको निराशा चिर्ने गरी पर्यटक आगमनको प्रवृत्ति राम्रो हुनुले पर्यटन क्षेत्रमा आशा जगाएको छ । चिनिया पर्यटक उत्साहबद्र्धकरूपमा बढेका छन्,’ उनले भने । अझ पोखरा पृथ्वी राजमार्ग स्तरोन्नतिको काम भइरहेको हुँदा पनि केही पर्यटक पोखरा नआई फर्कने गरेको उनले सुनाए ।
कोरोना महामारीपछि पर्यटन पुनरुत्थान भएको मान्न सकिने पर्यटन व्यवसायीहरु बताउँछन् । अहिले पर्यटनको आगमन भए चालु आर्थिक वर्षमा पर्यटकको संख्या उल्लेखनीय वृद्धि हुने पर्यटन व्यवसायीहरु बताउँछन् । ‘अझ नेपालमा सरकार सडक पूर्वाधारलाई जोड दिएर सडक क्षेत्र विस्तार गरे नेपालमा पर्यटक क्षेत्र ह्वात्तै वृद्धि हुन्छ,’ परिषद्का अध्यक्ष श्रेष्ठले भने ।
सन् २०२२ को सुरुआती चरणदेखि विदेशी पर्यटक आगमनदर निरन्तर उकालो लागिरहेको विभिन्न तथ्यांकहरुमा देखिएको छ । अहिले पर्यटकीय सिजन पनि सुरु भएकाले भारत, चीन लगायत मुलुकबाट पर्यटक आउने क्रम बढ्दो रहको परिषद्का अध्यक्ष श्रेष्ठले बताए ।
तपाईको प्रतिक्रिया