बाटुलेचौर तीज मेला सकियो

समाधान संवाददाता २०८० असोज २ गते ११:३७

पोखरा ।
परापूर्व कालदेखि नै पोखराको बाटुलेचौरमा सञ्चालन हुँदै आएको ऐतिहासिक तीज मेला सकिएको छ । नेपाली महिलाको महान पर्व हरितालिका तीजको अवसरमा हिमालय क्लबले आयोजनामा गरेको मेलामा तीज गीत र नृत्य प्रतियोगिता भएका थिउ ।

Advertisement


मेलामा १६ आमन्त्रित समूहले तीजगीत तथा नृत्य प्रस्तुत गरेका थिए भने तीजको परम्परागत भाका हम्काइलोको समेत मेलामा समावेश थियो । मेलामा पोखरा १६ र १९ वडाका १६ आमा समूहले सहभागिता जनाएका थिए ।


सहभागी टिमलाई प्रोत्साहन स्वरुप नगद १० हजार र प्रमाणपत्र वितरण गरिएको छ । समूहहरुलाई क्लब अध्यक्ष सुशील बस्नेत, वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, निवर्तमान अध्यक्ष मोहन थापा, संयोजक ताराप्रसाद तिमिल्सिना, मानार्थ सदस्य वेनीबहादुर बस्नेत लगायतले पुरस्कार तथा प्रमाण पत्र वितरण गरे ।

Advertisement


साँझसम्म चलेको मेला हेर्न पोखरासहित त्यस आसपासका क्षेत्रबाट मानिसको उपस्थिति थियो । महेन्द्र गुफा तथा चमेरे गुफा पुगेका स्वदेशी तथा विदेशी पर्यटक समेत मेलामा झुम्मिएका थिए । मेलामा चर्चित लोक दोहोरी गायक राजन कार्की र ज्योति लोहनीले दर्शकलाई तीजेगीत सुनाएका थिए ।


१६ वटा आमा समूहका अध्यक्षसहित वडा सदस्य राजकुमारी बानिया र मञ्जु बस्यालले मेला सुरुआत गरेका थिए । समारोहमा विन्ध्यवासिनी माध्यमिक विद्यालय सम्मानित भएको छ । ऐतिहासिक वाटुलेचौर तीज मेलाको अवसरमा हिमालय क्लबले विद्यालयलाई सम्मान गरेको हो ।

Advertisement


शिक्षा मन्त्रालयले गरेको शैक्षिक तथा भौतिक तर्फको मूल्यांकनमा सामुदायिक विद्यालयतर्फ देशभरमै पहिलो बन्न सफल स्कुललाई क्लबले सम्मान गरेको हो ।

तपाईको प्रतिक्रिया