अधिकारीकाे ‘जीवनको रेल’ सार्वजनिक

पोखरा ।
बालबालिका कतै शोषणमा परे भने न्याय दिलाउनु पर्छ र गल्ती गरेको भए पनि सुध्रिने मौका दिनुपर्छ भन्ने मान्यताका साथ दीपेन्द्र अधिकारीको सिर्जनामा ‘जीवनको रेल’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
अधिकारीको ‘मनमोहक पोखरा’, ‘नेपालकी छोरी’ र ‘चुलबुल भान्जी’ पछि चौथो गीत ‘जीवनको रेल’ सार्वजनिक भएको हो । बाल अवस्थादेखि नै गीत संगीतमा चासो राख्ने समीक्षा अधिकारीको स्वरमा रहेको उक्त गीत डिए क्रियसनको युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।
गीतमा गायिका समिक्षालाई गायक तथा संगीतकार सीडी विजय अधिकारीले साथ दिएका छन् । गीतमा संगीत संयोजन राजु कार्की गरेका छन् भने सम्पादन र निर्देशनमा वीरेन्द्र भाट ‘विपिन’ छन् । गीतकार राजकुमार बगरले गीतमा रेकर्डिङ, मिक्सिङ र मास्टरिङको भूमिका निर्वाह गरेका छन् ।
जीवनको रेल गीतका प्रस्तुतकर्ता अधिकारीले गला, कला र सुन्दरताकी धनी समीक्षा अधिकारी नेपाली संगीत बजारकी अमूल्य निधि भएको बताए । एक नाबालिकाले जीवनमा भोग्नु परेका केही घटनाक्रमलाई लिएर विभिन्न मिडियादेखि सामाजिक सञ्जालमार्फत उपाहास गरेको देखिरहँदा आफ्नो मन शान्त नभएको उनले उल्लेख गरे ।
‘एक त छोरी शब्द नै प्यारो, त्यहीँ माथि मेरै आफ्नो छोरीको उमेरकी र आफ्नै ठाउँ पोखराकी चेली जसलाई झण्डै झण्डै आत्महत्या गर्ने अवस्थासम्म पु¥याइएको थियो,’ उनले भने, ‘केही समय अगाडि देखि नै मैले समीक्षालाई एउटा गीत त गाउन लगाउँछु लगाउँछु भन्ने अठोट गरेको थिएँ । अहिले त्यो पूरा भएको छ ।’ उनले भिडियो छायाङकन तथा सम्पादन, वाद्यवादन, श्रृगार तथा केश सज्जा, प्राविधिक तथा छायांकन स्थल उपलब्ध गराउने सिलौटो कटेजप्रति आभार प्रकट गरेका छन् ।
तपाईको प्रतिक्रिया