पोखरामा बस्ती विस्तार गर्ने राजा

कुलमण्डल शाहले पोखरामा बस्ती विस्तारका लागि आफैले बाटुलेचौरमा शीतकालीन दरबार बनाए

ठाकुरप्रसाद त्रिपाठी २०८० असोज २ गते १२:१५

पश्चिमका आठ ठकुराई राज्यमा भूपाल राणजी राव खाचा मिचा खानदेखि जगती खान, विचित्र खान, जगदेव खान आदि राजा हुँदै कास्की राज्यमा विक्रम संवत १५२४ मा कुलमण्डल खानले राज्य सञ्चालन गर्न राजा बन्न पुग्छन् । इतिहासलाई नियाल्दा खान राज्यमा सबल राम्रो नेतृत्वमात्र नभएर राज्यका हिसाबले पनि आठ हजार कास्की भनी चिनाउन सफल भएका छन् कुलमण्डल खान (खाँण) । उनले पूर्वमा मादी, दक्षिणमा स्याङ्जा, पश्चिममा मोदी र उत्तरमा हिमालसम्म राज्य विस्तार गरेका थिए । उनले बहुल जाति जनजाति भएको ठाउँमा सबैलाई एकै सूत्रमा डोर्‍याउने कामको सुरुआत गरेको पाइन्छ ।

Advertisement


मगर गुरुङको बाहुल्य रहेको ठाउँमा एकै सूत्रमा बाँधी राज्यको उमरावमा नियुक्त गरी समान व्यवहार गरेका कारणले लोकप्रिय भएका कारणले नै होला लमजुङलाई राजा पठाइदिने कास्की भएको । लमजुङेहरु राजा थाप्न आउँदा आफ्ना माइला छोरा दिएर मृत्यु भइसकेपछि पनि अर्का कान्छा छोरा यशोब्रम्ह शाहलाई पुनः लमजुङलाई राजा दिएर लमजुङ गोर्खासम्म राज्यमा आफ्नो वंशविस्तार कुलमन्डल शाह सफल भएका थिए ।


कास्की राज्यमा २४ कोटको अवधारणा
यस आलेखमा कुलमण्डल खानले गरेका कास्की राज्यका केही कार्यलाई समेटन खोजिएको छ । यिनले राज्यको सुरक्षा खातिर कास्की राज्यमा २४ कोटको अवधारणा राखी चौबिस कोट किल्लागढी निर्माण गरेका थिए । पूर्वमा पर्ने खड्गकोट, थुम्सीकोट, रुपाकोट, फल्याङकोट, बेगनासकोट, अर्घाैं बडाकोट, काहँुकोट, अर्मलाकोट, झोप्राङकोट, याङ्जाकोट, सराङकोट, पुम्दीकोट, हर्पनकोट, चापाकोट, पाउँदुरकोट, चन्द्रकोट आदि ठाउँमा आडप्याड किल्ला बंकर तयार गरी ती ठाउँमा देवी देवता स्थापना गरी शिखर सैन्य कलाको उत्कृष्ट संरचना तयार गरेका थिए ।

Advertisement

जुनजुन कोट किल्लामा जसको बाहुल्य थियो उनीहरुलाई नै मुख्तियारी दिएर राज्यको उमरावमा नियुक्त गरेका थिए । त्यसैले त गुरुङ बस्ती भएको याङ्जाकोट, अर्मलाकोट, रुपाकोट र खड्गकोटको गुरुङलाई नै मुख्तियारी दिई त्यसकोटको देवी देवताको कर्ता र राज्यको मुख्तियारी दिई उनीहरुलाई बिर्ता गुठी दिएर खान्की चलाएका थिए । मगरको बाहुल्य रहेको ठाउँमा मगरलाई नै कोतवाले तथा कर्तामा नियुक्त गरेका थिए । त्यस समयमा एक घर एक सिपाहीको अवधारणा ल्याएर तिनै सिपाहीलाई पाटी, पौवा, बाटाघाटा, साँघु, चौतारा, पोखरी निर्माण गर्न लगाउँथे । देशको रक्षाको समयमा युद्धमा सामेल हुनुपर्ने, अन्य समयमा बाटाघाटा, सिँढी, कोट, किल्ला र पोखरी बनाउन लगाउँथे ।

कुलमण्डल शाह विदेश यात्रामा जाँदा उनको टोली समावेशी थियो—यात्रा समूहमा गुरुङ, मगर, ‘दमैकामी’, पण्डित, ज्योतिषी, सेना, वैद्य, कविराजहरु थिए ।


पाँच प्रकारका सैन्यगण
आफ्नो पालामा यिनले कास्की राज्यमा पाँच प्रकारका सैन्यगण तयार गरेका थिए । उनको पालमा सरून सैन्य, खुँडा कटारी सैन्य, बाघ गर्जन सैन्य, बर्छन हान्ने सैन्य, घुँयत्रो हान्ने सैन्य जस्ता प्रकारका सैन्य गठ्ठा तयार गरी तिखारी राखेका थिए । त्यसैले त्यो समयका गण्डकी प्रषवण क्षेत्रका २४ से राज्यमा मजबुत राज्य मानिन्थ्यो कास्की राज्य । यहाँको सैन्यदेखि अरु भुरेटाकुरे राज्यहरु डराउँथे । गणको जिम्मा त्यहींका स्थानीयलाई दिइन्थो । ढाल, तरबार, भालासहितका सैन्य दस्ताको मुख्तियारी कुँवरहरुले पाउँथे ।


गुरुकुल शिक्षालाई प्रथामिकता दिँदै बिर्ता
कुलमण्डल शाहले आफ्नो समयमा गुरुकुल शिक्षामार्फत ज्योतिष विज्ञानका ज्ञाताहरुको उत्पादन गरेका थिए । शिक्षा गुठी बिर्ता दिई लामा, धामी, झाँक्री, बिजुवा सबैलाई यथोचित कदर गरी ससम्मान राखेका थिए । पूर्वमा याङजाकोटदेखि गुरुङलाई पोखरा डडुवाखर्कसम्म बिर्ता दिएका थिए । पाखुरेको लेक कुँवरलाई, र मगर तथा भण्डारी लगायत धेरैथरीलाई बिर्ता दिएका थिए । त्यसैले आजसम्म पनि तिवारीको खरी देवकोटाको घरी, चुवाइँको जेठो थरी भन्ने चलनले ठाउँ पाएको छ ।


साँघुको पुलदेखि बाबियाको पुलको सुरुवात
उनको समयमा मादीदेखि मोदी वीरेठाँटीसम्म गोरेटो, घोटेटो, सिँढी निर्माण गरी थाक, भोट मुस्ताङ, सम्मको व्यापार र मुक्तिनाथ तीर्थ आवतजावत गर्न सजिलो बनाएका थिए । लमजुङ सिसाघाटदेखि खड्गकोट, देउराली, सातमुहाने, राजाको चौतारा, अर्घाैं हुँदै पोखरामा कोठेसाँघु (महेन्द्रपुल) मा काठको साँघु राखेर प्रजाहरुलाई सहजता दिलाएका थिए । हेमजाबाट लामाचौर जान बाबियाको डोरीको लठ्ठाद्वारा आवतजावत गर्न सक्ने बनाएका थिए । हालको पोखरादेखि वीरेठाँटीसम्म घोडेटो, गोरेटो निर्माण गरी यातायातलाई सुगम बनाएका थिए । पहाडी उच्च भेगमा पानीको अभाव भएका ठाउँठाउँमा पोखरी निर्माण गरी पानीको गर्जो टार्ने व्यवस्था मिलाएका थिए ।


बस्ती विस्तार
कुलमण्डल शाहले जमिनको वितरण गर्ने तरिका राम्रैसँग अवलम्बन गरेको पाइन्छ । जमिनलाई हले, पाटे, कोदाले, बाउसे, खोरिया, खत्तरी लेकमा विभाजन गरेका थिए । पाखो र खेत फरकफरक ठाउँमा हुन्थ्यो । पहाडी बस्ती भएका कारण तिन तहको खेती प्रणाली बसाएका थिए । पोखरा उपत्यकामा गर्मी कारणले खास बाली विकास भएको थिएन । सुरुमा आफैले बाटुलेचौरमा शीतकालीन दरबार बनाई उपत्यकामा बस्न प्रेरणा जगाएका थिए । खेतीपाती गर्ने नियम बसाई पहाडको उच्च भागमा पारवा खेती, बिच भागमा धान खेत, फाँटमा धान खेत गर्ने चलनको नियम राखेका थिए । पाखो जमिनमा कसैले खेत रोपेमा त्यो जग्गा मोहीलाई हुँदैन्थ्यो, राज्यले अरुलाई नै दिने प्रचलन थियो । खेतीपातीको यो प्रणालीका कारण अनिकाल पर्दैनथ्यो । उच्च भागमा असिना परे फाँट र मध्य भाग बाँच्थ्यो । फाँटमा खेती बिग्रँदा पाखाले धान्थ्यो ।


कतिले राम्रो जमिन कमाएर राज्यलाई शेर्मा बुझाउँथे । शेर्मा भनेको अचेलको भाषाको सेयर अर्थात हिस्सा दिने भनेजस्तो हो । त्यस्ता खेतलाई शेरा भनिन्थो । कतिले राज्यलाई कर बुझाउँथे, त्यस्ता जमिन रैकर भनिन्थे । त्यस्ता शेरा र रैकर जमिन कास्की राज्यमा हालसम्म पनि कायम छन् । मरेघाट, गौचरन, खरतरी लेक चिहान डाँडालाई बस्तीको पायक पर्ने ठाउँमा मिलाइएको थियो । उनको कार्यकालमा कास्कीको बाटुलेचौर निर्माण गरी कालिका मन्दिर स्थापना गरी अधिकारी, पौडेल र तिमिल्सिनाहरुलाई पूजाको जिम्मेवारीसहित गुठीबिर्ता दिएका थिए । काउसे खोलाको पानीको कुलो बनाएर सिँचाइको प्रबन्ध गरेका थिए । गण्डकीका तहराहरुमा गौपालनको व्यवस्था गरेका थिए । थापा, बानिया, गन्धर्वहरु त्यसै समयदेखि आकर्षित भएका थिए ।


काठमाडौं भ्रमणको बेलामा राम्रा अक्षर लेख्ने कायस्थ फौदारहरुलाई कास्की झिकाएका थिए । अन्य नेवार समुदायलाई भने व्यापारिक प्रयोजनका लागि पोखरा ल्याएका थिए । राज्यका लागि आवश्यक पर्ने हातहतियार निर्माण गर्न र शृंगारिक व्यापारिक प्रयोजनका लागि मुस्लिमहरुलाई पोखरामा राखिएको थियो । उनीहरु पोखरा विकासका साक्षी पनि हुन् । चिसाखोला, मियापाटन र रुपागाउँमा उनीहरुको बस्ती विकास गरिएको थियो ।


स्वास्थ्यमा हिमाली जडीबुडीदेखि कविराजहरुको विस्तार
राजा कुलमण्डल शाहले आफ्नो रैतीको स्वास्थलाई ध्यान दिएका थिए । उनले आयुर्वेदको क्षेत्रमा पनि राम्रो अनुसन्धान गराएका थिए । वैद्य, लामा, झाँक्री कविराजको राम्रो व्यवस्था गरेका थिए । हिमाली जडीबुडीका पारखी गुरुङ समुदायबाट झारल, घोरल, कस्तुरी, तितेपाती, पाँचऔंले जटामसी, सर्पगन्धा, यार्सागुम्बा, जिम्बु, सिलाजितबाट औषधी तयार गर्न आत्मनिर्भर गरेका थिए । त्यस्तै मगर, ब्राहमण समुदायका औषधी हर्राेबर्राे, पाती, पाँचऔंले, पाषणबेत, रिठो, असुरो, काउनु, दारुहल्दी (चुत्रो), गाईखुर, सालधुप, वंशलोचन, अल्लो, सिस्नो, काफल लगायत थुप्रै जडीबुडीबाट उपचारमा सघाउ पु¥याउँथे । गुरुङ लामा, कविराज, बिजुवा झिकाई सोधन गरी औषधी तयार गराउँथे । १५ औं शताब्दीमा यहाँ स्वर्णभष्म, शंखभष्म, मुगाभष्म, जस्ता उत्कृष्ट औषधी निर्माण गर्थे । साथै अन्य रजौटालाई पनि दिने व्यवस्थाको थिति बसालेका थिए । यही कारणले अन्य रजौटा कास्की राज्यमा औषधी गर्न आउँथे । यो राज्यप्रति उनीहरुको मोह जागेको हुनुपर्छ ।

जग्गा वर्गीकरण, खेती प्रणाली, बाँध, पुलपुलेसा, कुलो, चौतारो, ठाँटी, कर प्रणाली, श्रम विभाजन, आडप्याड, कोट, बंकर, न्याय, शिक्षा, औषधी, अन्य राज्यसँग भाइचारा नीति, समावेशी उमराव नीति, रणकौशल जस्ता कुलमण्डल शाहका उत्कृष्ट नीतिले तत्कालीन २४ से राज्यमा कास्कीलाई अग्रणी बनाएको हो ।


तीर्थ यात्रा र पहिलो शाह उपाधि
प्रसंग कुलमण्डल खानको तीर्थ यात्राको हो । उनले तीर्थ जाने तय गरेछन् । तीर्थाटनमा जाँदा उनले आफ्ना छोराहरुलाई राज्य हेर्ने जिम्मा दिएका थिए । उनको यात्रा समूहमा राज्यका गुरुङ, मगर, दमैकामी गरी सबै जातिको प्रतिनिधित्व थियो । कुशल सैनिक यात्रामा छुट्ने कुरै भएन । साथमा पण्डित र जोतिषीहरु थिए । वैद्यहरुमा पनि साथमै लगेका थिए । कुनै न कुनै कामको ज्ञाता तथा विज्ञलाई पनि समावेश गरी चारधाम तीर्थयात्रामा निस्केका रहेछन् । देश, देशान्तरको खबर र नयाँ कुरा बुझ्ने उनको भ्रमणको उद्देश्यसमेत थियो । ठूलो डफ्फा लिएर औषधीमूलो खानपान, सातुसामल बोकी उनी तीर्थाटनमा गएका रहेछन् ।


कुलमण्डल शाह गया, काशी, वनारस, अयोध्या हुँदै यमुना दिल्लीसम्म पुगे । दिल्लीका बादशाह नादिर खानसँग उनको दरबारमा शिष्टाचार भेट पनि गरे । स्वागतसाथ तीर्थालु कस्केलीलाई त्यहाँका राजाले राखेछन् । बातचितको क्रममा त्यहाँका राजाले आफ्नी श्रीमती वर्षाैं बिरामी परी थलापरेको सुनाएछन् । केही उपचार नभएको भनी पीरव्यथा कहेछन् । कुलमण्डलले आफ्नो यात्रा टोलीमा वैद्य, बिजुवा, ज्योतिषी, लामा, विज्ञ रहेको सुनाएछन् । रानीलाई एकपटक आफ्ना विज्ञहरुसँग देखाउन पाए केही उपाय हुन सक्छ भनी राजालाई प्रस्ताव राखेछन् । दिल्ली राजा खुसी हुँदै कस्केली विज्ञ समूहलाई रानीको ब्यथा जाँच्न लगाएछन् । चारै विज्ञले आपूmहरुसँग भएको औषधी रानीले सेवन गरे आराम मिल्ने कुरा राखेछन् ।

हुन पनि कस्केली विज्ञले दिएको औषधी सेवन गरेपछि रानीलाई ठिक हुँदै गएछ । कुलमण्डलको टोलीले केही समय अरु यात्रा अगाडि बढाए छ । दिल्लीका राजाले फर्कने समयमा पुन भेट हुने सर्तमा बिदाई गरेछन् । केही समयपछि फर्केर आउँदा दिल्लीमा रानीले स्वास्थलाभ गरिछन् । मुगल राजा ज्यादै खुसी भएछन् । उनले कस्केली राजा कुलमण्डल खानलाई शाह पदवी दिएछन् । हो, यसरी कुलमण्डल खाँण पहिलो शाह उपाधि पाउने नेपालका राजा भएका हुन् । दिल्लीका राजाले शाह उपाधिसँगै धेरै धनदौलत र रासन दिएर हर्षाेल्लासपूर्वक कुलमण्डललाई विदाइ गरेछन् । त्यही समयदेखि कुलमण्डल शाहकै नामले उनी परिचित हुँदै गए । कुलमण्डल खाँणको पहिचान रहेन शाहमा बदलियो ।


आपूmले शाह पदवी पाएसँगै आफ्नै राज्यमा फर्केपछि आठ टिका राज्यका सतहुँका सिरम्बु (शिरवम) खान, अर्घाका शिवराम खान, ढोरबराका दशरथ खान, नुवाकोटका भक्ति खान, गुल्मीका किम खान, खाँचीका जयन्त खान, लमजुङका यशोव्रहम लगायतका राजालाई कास्की राज्यको मालमूल फाँटमा भेला गरेका थिए । त्यही भेला भएको ठाउँलाई राजाको चौतारा भनियो । यसबाट एउटै वंशका हामीले शाह पदवी राखांै भन्ने प्रस्तावसहित अन्य ‘घा’ (सन्धि) गरे । त्यस समयदेखि आठ टिका राज्यमा एउटा पक्षले शाह लेख्न सुरु गरेका थिए । यसरी कुलमण्डल खान नेपालको पहिलो शाह राजा बन्न पुगेका थिए ।

तर कतिपय इतिहासका लेखकहरुले कुलमण्डल खान भन्दाअघि राज्य सञ्चालन गरेका उनका वंशजको नाम जोडेर अपव्याखा गरेको पाइन्छ । खाँचा खान (नुवाकोट राजा) मिचा खान –कास्की राज्यका जगती खान, विचित्र खान, जगदेव खानलाई नै कुलमण्डल खान भन्ने गरेको पाइन्छ । तर उनीहरुको राज्य नेतृत्व विसं १५२४ भन्दा अगाडिको हो । खान र खाँण पनि पनि अन्योल छ । खासमा उनीहरु खाँण थिए, मगरहरुको बसोबास रहेको कास्कीकोटका स्थानीयले उच्चारण गर्दा खाँण नभनी खान भनेको हुँदा खान प्रचलित हुन गएको हो ।


लमजुङलाई राजा पठाइदिने कास्की
स्थिरता राखी, सुशासन र विकास दिएर सम्पूर्ण जातजातिलाई समभाव राखेर कुलमण्डल शाह लोकप्रिय त बने नै । ओरपरका रजौटासमेत आकर्षित भए लमजुङबाट खजे दुरा, सुकराम दुरा, माझे दुरा, कुसमाकर घिमिरे कुलमण्डलसँग रौतेला (राजकुमार) युवराज थाप्न आउँछन् । कुलमण्डलले आफ्ना माइला छोरा कालु शाह (दीपक शाह) लाई राजा मान भनी लमजुङ दिएर पठाउँछन् । छोटै समयमा उनको षडयन्त्रपूर्वक हत्या गरिन्छ । पुन लमजुङे टोली राजा माग्न आउँछ । एउटा छोराको देहवसान भएपछि पुन कान्छा छोरा यशोव्रहम शाहलाई दिएर लमजुङलाई कुलमण्डल शाहले गुन लगाए ।


पन्ध्रौं शताब्दीको कठोर जनजीवनमा पनि जग्गा वर्गीकरण, बाँध, पुलपुलेसा, कुलो, चौतारो, ठाँटी, सदावर्त (तीर्थयात्रीका लागि आश्रम), तिलुङ्गाघर (त्यो बेलाको हुलाकीघर, सैनिक बस्ने घर), साँघु, खेती प्रणाली, कर प्रणाली, श्रम विभाजन, आडप्याड, कोट, बंकर, न्याय, शिक्षा, औषधी, अन्य राज्यसँग भाइचारा, नीति, समावेशी उमराव नीति, रणकौशल जस्ता कुलमण्डल शाहको उत्कृष्ट नीतिले तत्कालीन २४ से राज्यमा कास्कीलाई अग्रणी बनाएको हो । उनको मृत्युमा उनैले बताए बमोजिम विसं १५७५ मा रामघाट शुक्ला गण्डकीको तटमा जलसमाधि भएको थियो । उनी आफैले रामघाटमा जलग्राही गरी राख्नु र प्राण त्याग भएपछि सदगत गर्नु भनेको हुँदा सोही अनुसार गरिएको थियो ।

तपाईको प्रतिक्रिया