सीता, द्रोपदी र तीज

सीता र द्रौपदी हिन्दु धर्मशास्त्रका दुई महत्वपूर्ण नारी पात्र हुन् । हिन्दु धर्मका अनुयायी वा पूर्वीय साहित्य दर्शनका अध्येता जो कोही पनि यी दुई चरित्रको बारेमा जानकारी राख्छन् । आजको यस स्तम्भमा यिनै दुई पात्रको सामान्य चारीत्रिक अनुमान गरी हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजसँगको अनुभवलाई समायोजन गर्ने प्रयास गरेको छु ।
सीता र द्रौपदी दुवै वर्तमान सामाजिक परिप्रेक्ष्यबाट हुर्केका नारी पात्र न भएता पनि यिनी दुईको चारित्रिक छविबाट भने कुनै पनि नारीहरु अलग वा भिन्न छन् जस्तो लाग्दैन । सीता र द्रौपदी दुवै छुट्टा छुट्टै ऐतिहासिक कालखण्डका नारी हुन् । सीता त्रेतायुगको रामायणकी प्रमुख नारी पात्र हुन् भने द्रौपदी द्वापरयुगको महाभारतकी प्रमुख नारी पात्र हुन् । यी दुवैको जन्म भने जीव विज्ञानसँग आधिरित तथ्यसँग भने मेल खादैन । सीता पृथ्वीको गर्भबाट उत्पन्न भएकी हुन् भने द्रौपदी यज्ञको अग्निबाट ।
मिथिला नरेश जनकको राज्यकालमा देशमा पानी नपरी खडेरी पर्न गई प्रजाहरु भोकमरीले छटपटिँदा राजा स्वयं आफैले पृथ्वीमा हल चलाए यो समस्या तर्छ भनी प्रजा कल्याण हेतु ऋषिमुनिको सल्लाह बमोजिम उनले हल चलाउँदा हलो जमिनभित्र अड्किन गयो र के रैछ भनी हेर्दा एउटा बाकासभित्र जीवित कन्या देखे र उनैलाई पुत्री बनाइ हुर्काए । यसर्थ उनलाई राजा जनककी पुत्री मानी जानकी पनि भनिन्छ । महाभारतका अनुसार द्रोपदीको जन्म भने यसको विपरीत छ । पाञ्चाल देशका राजा द्रुपदले हस्तिनापुर राज्यका कौरव एवं पाण्डवका गुरु द्रोणाचार्यसँगको हारको बदला लिन सक्ने र द्रोणाचार्यलाई युद्धमा परास्त गर्न सक्ने सन्तान प्राप्ति हेतु गरेको यज्ञ अग्निमा द्रोपदीको उत्पन्न भएको थियो । यिनै कन्यालाई द्रुपदकी पुत्री राजकुमारी द्रोपदी भनियो ।
जनकल्याणको उद्देश्यले भोकमरी हटाउनका लागि धार्मिक अनुष्ठान अनुरुप राजा जनकले हल चलाउदा भूमिबाट उत्पन्न भएकी हुनाले सीतासँग धर्ती माताका शान्त, शीतल, सहनशील, क्षमाशील, करुणामयी आदि विशेषता थिए । उनमा यति श्रद्धाभाव र करुणामयी विशेषता थियो कि मानौं सारा धर्तीको दुखलाई आफ्नो दुख ठानी आफ्नो गोदमा लिन सक्छिन् जस्तो थियो । बदला लिने अभिप्रायले गरेको यज्ञको अग्निबाट उत्पन्न द्रोपदीसँग रिस, उष्णता, उत्तेजना, प्रतिशोध आदि जस्ता आगोसरी विशेषता थिए । उनको क्रोध यतिसम्म थियो कि मानौं उनले आफ्नो क्रोधले समस्त शत्रु नै भष्म पार्छिन् कि जस्तो थियो ।
द्रोपदी र सीताको समावेशी स्वरुप नारीहरूले मनाउने हरितालिका तीजमा उनीहरुले गरेको व्रत उपासना गायन एवं नाच तथा गीतका शब्दहरूमा महसुस गर्न सकिन्छ
सीता आफ्नो पतिप्रति यति श्रद्धाभाव र समर्पण राख्थिन् कि रामले दिएको अग्नि परीक्षामा आफूप्रति भएको अन्यायको ख्याल नगरी सतित्व प्रमाणित गर्न अग्निमा समेत होमिएकी थिइन् । द्रोपदीले भने कौरवहरुको राज्य सभामा दुशासनले आफ्नो बस्त्रहरण गरेको बदलामा आफ्नो चुल्ठो फिजाई युद्धमा पाण्डवहरुले कौरवहरुलाई परास्त गरेपछि मात्र तिनीहरुको रगतले कपाल भिजाएपछि मात्र चुल्ठो मिलाउँछु भनी आफूप्रति भएको अन्यायको बदला लिन प्रतिशोधको अग्निमा जली महान् प्रतिज्ञा गरेकी थिइन् ।
यस्ता फरकफरक धारका विशेषता दुवै नारीमा रामायण र महाभारतमा मिश्रित रुपमा प्रकट भएको पाइन्छ । उदाहरणका लागि यद्यपि अर्जुनले आफूलाई स्वयंवरमा जिते पनि द्रोपदीले पाँचै पाण्डवकी पत्नी हुनका लागि स्वीकार गरेकी थिइन् । सीताले पनि हनुमानले सहजरुपमा लंकाबाट राम समक्ष पु¥याउँछु भनी बिन्ती गर्दा पनि रामले नै रावणलाई युद्धमा परास्त गरी आफूलाई लैजानुपर्छ अनिमात्र सत्य र धर्मको विजय हुन्छ भनी अडान लिएकी थिइन् ।
यसरी यी दुवै पात्र अन्तर्गतका विशेषताहरु नारीमा विद्यमान हुन्छन् मानौं यिनीहरु एकै सिक्काका दुई पाटा पाटा हुन् । चेतनशील नारीमा यी दुबै विशेषताहरूको प्रकट भएको पाइन्छ । यी दुवै चरित्र द्रोपदी र सीताको समावेशी स्वरुप नारीहरूले मनाउने हरितालिका तीजमा उनीहरुले गरेको व्रत उपासना गायन एवं नाच तथा गीतका शब्दहरूमा महसुस गर्न सकिन्छ ।
परम्परागत रूपमा नारीहरूले सामाजिक स्थानहरुमा खुला रुपमा आफ्ना मनका भावना, वेदना, रहर आदिको प्रस्तुतीकरणमा अवसरहरूको अभाव हुँदा तिजका दिनमा मात्र गीतका शब्दहरुमार्फत गाउने र सामाजिक थिचोमिचो, पक्षपात, अन्धविश्वास, कुरीति एवं विसंगति लगायत पुरुषमैत्री कथनको विरुद्धमा आवाज निकाल्थे ।
आपूmलाई जन्माएर छोरासरह अधिकार नदिएकामा, विद्यालय शिक्षाबाट वञ्चित हुँदा, घाँस दाउरा, मेलापात अनि भान्छा कोठामा आफ्ना रहर सीमित हुँदा, पछि विवाह पश्चात लोग्ने लगायत उसको घरको अन्याय र उत्पीडनमा उकुसमुकुस हुँदा पनि उही परिवारको लोग्नेको दीर्घायु, स्वास्थ्य र आफ्नो सौभाग्यको प्रतीक सिन्दुरको रक्षा गर्न धार्मिक रीतिरिवाजलाई अनुसरण गरी भगवान शिवजीको पूजाआराधना गरी दिनभरि निराहार व्रत बसी भोकले बनाएको कमजोरीको ख्याल नगरी यस्ता सामाजिक विसंगतिको विरुद्ध गीतमा आवाज उठाइ कम्मर मर्काइ उफ्री नाच्थे ।
वर्तमान परिप्रेक्ष्यमा भने सामाजिक, धार्मिक एवं राजनीतिक सुधारहरुले गर्दा यस्ता अवसरहरु सहज बनेका छन्, जसले गर्दा आफ्ना आवाज बुलन्द गर्न तीजमात्रै पर्खनुपर्ने अवस्था भने छैन । तीजका दिन नारीहरूले दर खाने, आफ्नो धर्म पालना गर्ने, मनमा भएका रहर अनि कुण्ठा हरु गीतमार्फत गाउने, दिदीबैनी साथीसंगी सबैसँग हास्ने, रुने, नाच्ने, घर व्यवहार र भान्छाकोठा चटक्क बिर्सिएर मनलाई हलुंगो बनाई रमाउने दिनहरु हुन र सामाजिक, राजनीतिक, अराजकता र अन्धविश्वासका विरुद्ध जनचेतना फैलाउने दिन पनि हुन् ।
तर अहिले समाजमा तिजको यस पवित्र संस्कृतिमा विकृतिहरु देखिन थालेका छन् । दर खाने एकदिनको परम्परा महिनौं लामो हुने गरेको छ । हुन त समाजमा बसेपछिसँगै मिली खाने र रमाउने स्वाभाविक प्रक्रिया हुन् । तर पनि तीजको नाममा विदेशी संस्कृतिलाई अनुसरण गरी त्यहीअनुसारको भोजन, वेशभूषा प्रदर्शन गर्नुले आर्थिक मात्र हैन ठूलो सामाजिक विसंगति ननिम्त्याउला भन्न सकिँदैन । हामी सबैले अवलम्बन गरेको धार्मिक परम्परागत संस्कृतिको क्रमिकतामा कतै क्रमभंगता त हुने हैन, तीजको जुन धार्मिक, सामाजिक र सांस्कृतिक महानता छ कतै हाम्रा भावी सन्ततीले यसलाई अनुसरण गर्न नपाई यो पवित्र संस्कृति लोप हुने त होइन, कतै त्यस्तो प्रदर्शनी प्रभावले हामी सबैलाई मोहित पारी आफ्नो धर्म, देश, परिवेश, मौलिक र माटो सुहाउँदो परम्पराबाट अलग पारी दिग्भ्रमित त गर्ने होइन ? आदिजस्ता धेरै ठूला प्रश्न चिन्नहरु अगाडि तेर्सिएका छन् ।
पृथ्वीजस्तै शीतल, क्षमाशील र करुणामयी तथा अग्नि जस्तै ऊर्जाशील शक्तिशाली र प्रतिशोधात्मक छवि जुन सीता र द्रोपदीका चारित्रिक विशेषता थिए यिनलाई संयुक्तरुपमा प्रकट गर्ने नारी नै पूर्ण, सफल एवं सम्मानयोग्य नारी हुन्। यसर्थ यिनै विशेषताहरूको अवलम्बन गरी धार्मिक एवं सांस्कृतिक परम्पराको अनुशीलन गरी तीजको मौलिकतालाई कायम गरी यसको गरिमालाई सम्मान गरी हामी सबैले तीज मनाएमा वास्तविक तिजको उत्सव हुन्थ्यो कि ! अन्त्यमा सम्पूर्णमा हरितालिका तीज– २०८० को उपलक्ष्यमा हार्दिक शुभकामना ।
पौडेल पोखरा पुब्लिक स्कुल पोखरा १४ चाउथेका सहप्राचार्य हुन् ।
तपाईको प्रतिक्रिया