श्रमिकका छोराछोरी सम्मानित

समाधान संवाददाता २०८० असोज २ गते १४:५९

पोखरा ।
नेपाल यातायात स्वतन्त्र मजदूर संगठन गण्डकी प्रदेश कमिटीले २०७९ सालको एसइई उत्तीर्ण सदस्य यातायात मजदूरका छोरा छोरीलाई सम्मान गरेको छ । कमिटीले आयोजना गरेको विद्यार्थी सम्मान कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य गणेशमान गुरुङले १० उत्कृष्ट विद्यार्थीलाई सम्मान गरे ।

Advertisement


संगठन गण्डकी प्रदेश कमिटी अध्यक्ष विष्णुबहादुर केसीका अनुसार सम्मानित हुनेमा निजी तथा आवासीय विद्यालयतर्फ गण्डकी एजुकेशन फाउन्डेसनकासाहिल फगामी मगर, सामुदायिक विद्यालयतर्फ जनप्रिय माविका छात्र आर्यान जिसी, अमरसिंह माविका छात्र सुमन वाग्ले छन् । कार्यक्रममा राष्ट्रिय माविका छात्र आजीवन लामिछाने, महेन्द्र मावि पोखरा १९ का छात्र कुशल पौडेल, खैरेनी मावि शुक्लागण्डकीका छात्र दर्पण गुरुङलाई पनि सम्मान गरिएको छ ।


सामुदायिक विद्यालयका छात्रातर्फ जनप्रिय माविकी सदीक्षा अधिकारी, बाल मन्दिर माविकी अरुणिमा तामाङ र अस्मिता श्रेष्ठ, तालबाराही माविकी निर्जना परियारलाई सम्मान गरिएको अध्यक्ष केसीले बताए ।


गण्डकी प्रदेश सभा सदस्य गुरुङले यातायात क्षेत्रका मजदूरका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन हुनुपर्ने बताए । उनले संगठनले सदस्य यातायात मजदूरका छोरा छोरीलाई सम्मान गर्नु आफैंमा राम्रो काम भएको उल्लेख गरे । सामाजिक सुरक्षा कोष सम्पर्क कार्यालय पोखराका प्रमुख रमेश ढुंगेलले औपचारिक क्षेत्र, प्रवासी श्रमिक हुँदै अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा समेटेको जानकारी दिए ।


नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय उपमहासचिव विष्णुबहादुर पराजुलीले संगठनले योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनको सवाललाई प्रमुख एजेन्डाको रुपमा उठाएको बताए । उनले सवारी ऐन २०४९ यातायात मजदूरमैत्री नभएको आरोप लगाए ।

Advertisement


कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश कमिटीमा सचिव राजेन्द्र पौडेल नेपाल यातायात मजदूर संगठन गण्डकी सचिव बेनीराज थिङ लगायतले यातायात मजदूरका समस्या बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया