‘स्थानीयको सहकार्यमा शान्ति, सुरक्षा’
पोखरा ।
सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीले परिचयात्मक तथा छलफल कार्यक्रम गरेको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले नेपाल प्रहरीको एकल प्रयासभन्दा पनि स्थानीय समुदायको समन्वय र सहकार्यमा शान्ति सुरक्षा कायम गर्न सकिने बताए ।
‘कास्की जिल्लामा विकृति, विसंगति न्यूनीकरण गर्नेदेखि शान्ति, सुरक्षा कायम गर्न सामुदायिक सेवा केन्द्रहरुको महत्वपूर्ण भूमिका छ,’ उनले भने, ‘अपराध अनुसन्धान, रोकथाम नियन्त्रणका लागि स्थानीय समुदायसँग सहकार्य गरेर अगाडि बढ्ने नेपाल प्रहरीको योजना छ ।’
उनले विकृति, विसंगति न्यूनीकरणको लागि सक्रिय संघ संस्थासँग समन्वय र सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे । प्रहरी उपरीक्षक थापाले ध्वनी प्रदूषण गर्ने मोटर साइकल र कालो सिसा प्रयोग गरेर तीव्र गतिमा चलाउने सवारी साधनलाई तत्काल कारवाही गर्ने बताए ।
सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भीम पराजुलीले विकृति, विसंगतिरहित समन्नुत समाज निर्माणका लागि अभियान चलाएको जानकारी दिए । उनले शान्ति, सुरक्षा कायम गरी कास्कीलाई नमुना बनाउने नेपाल प्रहरीको अभियानमा साथ सहयोग गर्ने बताए ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका संस्थापक अध्यक्ष मंगलबहादुर नेपाली, संस्थाका पूर्व अध्यक्ष तथा पोखरा महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष विष्णुबहादुर भट्टराई, संस्थाका प्रथम उपाध्यक्ष मनपति भण्डारी, महासचिव घनश्याम तिम्सिना, सामुदायिक सेवा केन्द्र हेमजाका अध्यक्ष दानबहादुर भुजेल लगायतले सामुदायिक सेवा केन्द्रका गतिविधिका बारेमा बोलेका थिए ।
तपाईको प्रतिक्रिया