सक्नेरीको तीज गीत प्रतियोगितामा नमुना प्रथम

लेखनाथ ।
तीजको अवसरमा पोखरा महानगरपालिका वडा नम्बर २६ को सक्नेरीमा राखिएको २२ औं खुला तीज गीत प्रतियोगितामा नमुना आमा समूहले प्रथम स्थान हासिल गरेको छ ।
जनचेतनामूलक गीतका माध्यबाट सकारात्मक सन्देश दिने उद्देश्यका साथ लोक सांस्कृतिक संरक्षण समिति र उज्ज्वल आमा समूहको संयुक्त आयोजनामा भएको प्रतियोगितामा सहभागी १० टिममध्येबाट मट्टिखान चेलीबहिनी समूह द्वितीय, सासुबुहारी आमा समूह पोखरा २७ तृतीय भयो । दिदीबहिनी समूह पोखरा २६ ले सान्त्वना पायो ।
प्रतियोगिताको उद्घाटन गर्दै दिग्दर्शक वाचक शिरोमणि पण्डित दीपक सापकोटाले आफ्नो मौलिक संस्कृति र धर्म रक्षाका लागि यस प्रकारका कार्यक्रमले सहयोगी भूमिका निभाउने भएकाले यसलाई निरन्तरता दिँदा लुकेका प्रतिभालाई प्रस्फुटन गराउन समेत सहजता हुनेमा जोड दिएका थिए ।
संस्थाका अध्यक्ष जगन्नाथ तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष खेमप्रसाद भण्डारी, जागरुक नागरिक समाजका अध्यक्ष रामहरि ढुंगाना, रिलायबल बोर्डिङ स्कुलका सञ्चालक कमल रानाभाट लगायतले तीजलाई आफनो मौलिक चाडका रुपमा लिँदै पारस्परिक सद्भाव साटासाट र दिदी बिहिनीहरु भेटघाटको अवसरका रुपमा पनि लिनुपर्नेमा जोड दिएका थिए ।
संस्थाका सचिव भीमनाथ अधिकारीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उज्ज्वल आमा समूहकी अध्यक्ष सरस्वती गौतमले राखेका थिइन् ।
तपाईको प्रतिक्रिया