अन्नपूर्ण सर्किट मुर्झायो

समाधान संवाददाता २०८० असोज ३ गते १०:४३

पोखरा ।
कुनै बेला पदयात्राका लागि नेपाल आउने पर्यटकमध्ये ६५ प्रतिशत अन्नपूर्ण सर्किट जान्थे । अन्नपूर्णमा पर्यटकको आगमनले स्थानीय यो पेशामा आकर्षित बने, धेरैले पर्यटन सम्बद्ध क्षेत्रमा लगानी गरे । तर अहिले अन्नपूर्ण सर्किन पुग्ने पर्यटनकको संख्या करिब २५ प्रतिशतमात्र छ ।


अवस्थामा ठूलो बदलाव आएपछि सरोकारवाला चिन्तित छन् । जथाभावी सडक बनाउँदा पदमार्गहरु मासिएका छन् भने नीतिगत र ब्रन्डिङ जस्ता समस्या पनि छँदै छन् । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले मंगलबार पर्यटन सम्बद्ध व्यवसायीसँग आयोजना गरेको छलफलमा यी र यस्तै विषयमा छलफ भयो । सरोकारवालाले सो क्षेत्रमा वन फडानी गरी बनेका होटल, रेस्टुराँमाथि कारवाहीदेखि अचाक्ली भएको मूल्यवृद्धिसम्मका एजेन्डा छलफलमा उठे ।


धेरैजसो पर्यटन व्यवसायीले आफूहरु पलायन हुने अवस्थामा पुगेको सुनाए । ‘गण्डकीका ३० प्रतिशतभन्दा बढी साना र मध्यम लगानी गर्ने पर्यटन व्यवसायी पलायन भइसकेका छन् । अवस्था नसुध्रिने र सरकारले संरक्षणनको नीति ल्याउने हो भने हामी पनि विस्थापित हुँदै छौँ,’ नेपाल पर्यटन बोर्डका पूर्वसदस्य टीकाराम सापकोटाले मङ्गलबार प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख छ ।

Advertisement


सापकोटाले उल्लेख गरेको यो तथ्यमा अरु सरोकारवाला पनि सहमत छन् । पर्यटन व्यवसायी बच्चुराम तिवारी बैंकको ब्याज र किस्ताको दबाब, सरकारले कर थप्दै जाँदा ठूला व्यवसायीसमेत अब धान्न सक्ने अवस्थामा नरहेको बताउँछन् । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बने पनि यो आन्तरिक उडानमै सीमित छ भने पृथ्वी राजमार्ग स्तरोन्नतिले गर्दा सडक यातायात पनि सकसपूर्ण छ ।


पर्यटन बोर्डका सदस्य सापकोटा दीर्घकालीन योजनाबिना काम हुँदा अन्नपूर्ण सर्किटमा पदयात्रामा आउने पर्यटकको संख्या उल्लेख्य घटेकोमा चिन्ता व्यक्त गर्छन् । ‘जथाभावी सडक निर्माण हुँदा यहाँका पदमार्ग मासिएका छन् । अद्वितीय सुन्दर प्रकृति, विविधतापूर्ण संस्कृति, मौसमी अनुकूलताले गण्डकीमा आउने पर्यटक घट्न थालेका छन्,’ उनी भन्छन्, ‘अहिले नेपालप्रति विश्व समुदायको धारणा पनि राम्रो छ । यी अनुकूलतालाई अवसरमा बदलौँ ।’

Advertisement


दक्ष जनशक्ति पलायन हुँदा समस्या आउन थालेको पर्यटन व्यवसायीहरु बताउँछन् । सरकारी जग्गा प्रयोग गर्न धेरै कठिन व्यवस्था हुँदा पनि अवसरलाई उपयोग गर्न नसकिएको व्यवसायीको भनाइ छ । व्यवसायी अशोक पालिखे फेवाताल नरहे पोखराको अस्तित्वमै सङ्कट आइपर्ने जनाउँदै त्यसलाई जोगाउन उचित कदम चाल्न सुझाउँछन् । उनले फेवा किनारमा नहर बनाएर बर्सेनी पुर्ने खोलाको पानी कटाउन सकिने जनाए ।


पर्यटनको राजधानी घोषणा गर्ने तयारी भए पनि त्यसका लागि आवश्यक संरचना र नीति निर्माणमा ध्यान नगएको केहीले गुनासो गरे । पर्यटन बोर्डका अर्का पूर्वसदस्य बासु त्रिपाठीले आवश्यक पूर्वाधार र नीति निर्माणमा ध्यान दिन प्रदेश सरकारलाई आग्रह गरे । पर्यटन व्यवसायी भरतराज पराजुलीले पोखराको पर्यटन व्यवसायमा छ खर्बभन्दा बढी लगानी भएको औंल्याउँदै थोरै लगानीले पनि ताल जोगाउन सकिने उपायहरु रहेको सुनाए ।


पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले निजी क्षेत्रलाई किनाराको साक्षी बनाइएको भन्दै नीति निर्माण र योजना तर्जुमामा सार्थक सहभागिता गराउन आग्रह गर्नुभयो । पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले कोरला नाका खुला र अन्तर्राष्ट्रिय उडान भए यो क्षेत्रको पर्यटनमा उछाल आउने दाबी गरे ।


सरोकारवालाका सुझाव र गुनासा सुनेपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटन गण्डकीको विकासको मूल आधार बन्न सक्ने बताउँदै केही कानुनी जटिलता भए फुकाउन तयार रहेको घोषणा गरे । उनले समृद्धिको यात्रामा पिपिपी मोडलमा काम गर्न पनि गण्डकी सरकार तयार रहेको जनाए । ‘हामी सरकारले नै उद्योग चलाउनुपर्छ भन्ने पक्षमा छैनौँ तर सरकार पनि हामीसँग छ, व्यवसायमा स्थायित्व छ भन्ने विश्वास दिलाउन सरकारको थोरै लगानीका लागि बजेट छुट्याएका छौँ । मुख्य लगानी निजी क्षेत्रले नै गर्नुपर्छ ।’

तपाईको प्रतिक्रिया