तीजगीतमा समृद्धिलाई दोहोरो सफलता
पोखरा ।
समृद्धि महिला समूह पोखरा १७ ले सोमबार आयोजित दुई स्थानका तीजगीत प्रतियोगितामा प्रथम स्थान हाँसिल गरेको छ । राम मन्दिर सञ्चालक समितिले गरेको खुला तीज प्रतियोगितामा समृद्धि प्रथम हुँदै १० हजार र प्रमाणपत्र पाएको छ ।
९ टिम सहभागी प्रतियोगितामा दोस्रो श्रीराम जानकी आमा समूह, तेस्रो सुशान्त आमा समूह र चौथो नमुनाशील मार्ग आमा समूह बनेका थिए । सन्ध्या पौडेलले उत्कृष्ट नृत्यको पुरस्कार पाइन् भने उत्कृष्ट भेषभूषामा श्री रामजानकी सन्तोषपथ आमा समूहले पुरस्कार पायो ।
निर्णायक संयोजकमा लोकगायिका लक्ष्मी बराल र सदस्यद्वयमा रामप्रसाद सुवेदी र दुर्गाबहादुर बराल थिए । समिति अध्यक्ष लीलाभक्त आचार्यले विगतमा जस्तै यसपालि पनि कला, संस्कृति सम्बद्र्धनका लागि प्रतियोगिता गरिएको बताए ।
पोखरा १७ की वडाध्यक्ष राधिका कुमारी शाही योगीले यस्ता कार्यक्रमले मनोरञ्जन साथै कला, संस्कृति जगेर्ना गर्नसमेत सहयोग पुग्ने जनाइन् । कार्यक्रममा समितिका सचिव पुण्डरीप्रसाद बरालले पनि बोलेका थिए ।
यसैगरी, समृद्धि महिला समूह ढुंगेसाँघु सीतापाइला आमा समूहले आयोजना गरेको खुला तीजगीत प्रतियोगितामा पनि सर्वाेत्कृष्ट भएको छ । समृद्धिले नगद ८ हजार र प्रमाणपत्र पाएको छ ।
दोस्रो सक्षम अभियान नेपाल, तेस्रो ढुंगेसाँघु बोर्डिङ स्कुल र सान्त्वना जागृति आमा समूह बनेका छन् । उत्कृष्ट नृत्यमा प्रकृति आमा समूह र उत्कृष्ट भेषभूषामा शुभकामना आमा समूहले पुरस्कार पाएका छन् । प्रतियोगितामा ११ टिम सहभागी थिए । निर्णायक संयोजकमा ध्रुव रिजाल र सदस्यद्वयमा तसमबहादुर गुरुङ र वत्तीकुमारी थापा छन् ।
कार्यक्रममा वडाध्यक्ष शाहीले व्यवस्था फेरिए पनि अवस्था विस्तारै फेरिने बताइन् । उनले तीजलाई हुने खानेको मात्रै होइन, हुँदा खानेको पनि पर्व बनाउनुपर्नेमा जोड दिइन् । तीजको महिमा र परम्परालाई बचाउन आग्रह गर्दै उनले बाल्यावस्थबाटै छोराछोरी बराबर हुन् भन्ने कुरा व्यवहारमा देखिने गरी काम गर्न आग्रह गरिन् ।
समूहकी अध्यक्ष सीता काफ्ले भण्डारीले कला संस्कृतिको जगेर्ना गर्न र संस्कृति संरक्षणका लागि यस खालका कार्यक्रमलाई निरन्तरता दिइने जनाइन् । कार्यक्रममा समूहकी पूर्वअध्यक्ष गौमाया थापामगर, उपाध्यक्ष जूना मल्ल, सहसचिव ईन्द्रमाया राना, पतञ्जली साधना योग केन्द्रकी उपाध्यक्ष कमला गुरुङ, समूहका सल्लाहकार नगेन्द्र भण्डारी लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया